२०८१ मंसिर २५ मंगलवार

कोरोना फेरि आउन लाग्यो, होल्डिङ सेन्टर सञ्चालनमा आएन

झापा । पूर्वी सिमा नाकासँग जोडिएको भारतमा फेरि कोरोनाको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिरहेको छ । खुला सीमा नाकासँग जोडिएको भारत र छिमेकी चीनमा कोरोना देखा परेसँगै सो जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य प्रोटोकल पालना गर्ने व्यवस्था मिलाउन गृह मन्त्रालयले देशभरका निकायहरूलाई निर्देशन दिइसकेको छ । कोरोना संक्रमणको त्रास बढे पनि निर्माण सम्पन्न भएको महिनौं बितिसक्दा समेत झापामा निर्माण गरिएको होल्डिङ सेन्टर सञ्चालनमा आउन सकिरहेका छैनन् ।

सरकारले करोडौं लगानी गरेर निर्माण गरेको होल्डिङ सेन्टर अहिले प्रयोगविहीन अवस्थामा छन् । सेन्टरको रेखदेख नेपाली सेनाले गर्दै आएको छ । देशभर कोरोना कहर देखिएका बेला पूर्वी नाकाबाट नेपाल प्रवेश गर्ने नागरिकलाई लक्षित गरी सरकारले झापाको मेचीनगर नगरपालिका-१४ दुवागढीस्थित हडिया खोला किनारमा २८ करोडको लागतमा एक हजार क्षमताको होल्डिङ सेन्टरको निर्माण कार्य अगाडि बढाएको थियो। तर, उक्त होल्डिङ सेन्टर निर्माण सम्पन्न भएको करिब ८ महिना बितिसक्दासमेत अझै सञ्चालनमा आउन सकेको छैन ।

नेपाली सेनाको संरक्षणमा चार विगाहा क्षेत्रफलमा एक हजारजना अट्ने क्षमताको होल्डिङ सेन्टरमा २२ वटा पक्की भवन बनाइएको छ ।
१४ वटा क्वारेन्टीन, दुई वटा डाक्टर र स्वस्थ्यकर्मी बस्ने भवन, १२ वटा डाइनिङ हल, दुई वटा एडमिन किचन, एउटा सेन्ट्रल किचन र १६ वटा शौचालयलगायतका संरचनाहरू निर्माण भइसकेको छ । कोरोना त्रास फेरि बढेको छ । तत्काल होल्डिङ सेन्टर प्रयोगमा ल्याउनु पर्र्ने स्थानीयको भनाइ छ । निर्माण गरेर छाडेको भवन प्रयोगमा ल्याइएन भने त्यो झन् जीणर् बन्दै जाने उनीहरूको तर्क छ ।

कोरोनाको दोस्रो लहरको समयमा भारतबाट आउने नागरिकलाई राख्न स्थानीय प्रशासनलाई ठूलै समस्या भएको थियो । त्यसलाई मध्यनजर गर्दै सरकारले गत पुस मसान्तभित्रमा निर्माण कार्य सक्ने गरी होल्डिङ सेन्टरको निर्माण सम्पन्न गर्न नेपाली सेनालाई जिम्मा लगाएको थियो । राज्यको करोडौं रकम खर्चेर बनाइएको होल्डिङ सेन्टर मेचीनगरको सम्पत्ति भएको मेचीनगर १४ का वडाध्यक्ष बाबुलाल सुब्बाले बताए । यसलाई सही तरिकाले समयमा नै प्रयोगमा ल्याउनु राज्यको दायित्व भएको उनको भनाइ छ ।

पहिलो लहरमा नेपाली सेनाले आफैं होल्डिङ सेन्टर निर्माण गरे पनि दोस्रो र तेस्रो लहरमा समस्या नहोस् भनेर सरकारले झापासहित तराइका आठ जिल्लामा सुविधायुक्त होल्डिङ सेन्टर निर्माण कार्य अगाडि बढाइएको थियो । कोरोनाको त्रास बढेकाले यस होल्डिङ सेन्टरलाई कसरी प्रयोग गर्ने विषयमा गृहकार्य भइरहेको झापाका सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए ।

कोरोना संक्रमण ह्वातै बढ्ने र फेरि घटेर जाने हुँदा यसलाई प्रयोगमा ल्याउन केही समस्या भएको हो । पूर्वाधारका सबै काम पूरा भइ हाल नेपाली सेनाले संरक्षण गरिरहेको बताउँदै न्यौपानेले भने, ‘होल्डिङ सेन्टरलाई प्रयोगमा ल्याउन आन्तरिक छलफलसँगै माथिल्लो निकायको परामर्शका लागि लिखित रुपमा पत्राचार गरिसकेको अवस्था छ ।’ होल्डिङ सेन्टर प्रयोगमा ल्याउन चिकित्सकसहितको आवश्यक जनशक्ति नै ठूलो चुनौती रहेको उनको भनाइ छ ।

२०७९ पुष २०, बुधबार प्रकाशित 1 Minute 1250 Views

ताजा समाचार