२०८२ बैशाख २५ बिहीबार

भारत—पाकिस्तानबीच बढ्दो तनावःनेपालमा सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाइयो

मेचीनगर। भारत—पाकिस्तानबीच बढ्दो तनावलाई मध्यनजर गर्दै गृह मन्त्रालयले विकसित क्षेत्रीय सुरक्षा परिस्थितिलाई गंभीरताका साथ लिएर सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ ।

सीमा क्षेत्रको सुरक्षा मजबुत बनाउन सरकारले दिएको निर्देशनपछि सुरक्षा निकायले सुरक्षा निगरानी र चेक जाँचलाई थप बढाएको हो ।  सीमा सुरक्षामा तैनाथ सशस्त्र प्रहरी बल नेपालले ४८ घण्टामा सीमा इलाकामा ३१२ वटा पट्रोलिङ र एक हजार ८४४ स्थानमा चेक प्वाइन्ट राखेको छ ।

वैशाख २३ गते मङ्गलबार बिहानदेखि बिहीबारसम्म ४८ घण्टामा भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी) सँगको सहकार्यमा सीमा इलाकामा ८४ वटा संयुक्त र २२८ वटा एकल पट्रोलिङ गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शेलेन्द्र थापाले जानकारी दिएकाछन् ।

भारतीय समकक्षी सशस्त्र सीमा बल (एसएसबी)सँग संयुक्त पट्रोलिङ वैशाख २३ गते २० वटा, २४ गते १६ वटा र २५ गते ४८ वटा गरिएको छ । त्यस्तै एकल पट्रोल वैशाख २३ गते ८९ वटा, २४ गते ६४ वटा र २५ गते ७५ वटा गरिएको जनाइएको छ ।

सोही अवधिमा सीमा इलाकाका एक हजार ८४४ ठाउँमा चेक प्वाइन्ट राखिएको छ । वैशाख २३ गते ५६४, वैैशाख २४ गते ६४० र वैैशाख २५ गते ६४० ठाउँमा गरी एक हजार ८४४ ठाउँमा चेक प्वाइन्ट राखिएको हो । सीमामा गस्ती पट्रोल तथा सुरक्षा जाँचलाई निरन्तरता दिइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

उक्त क्षेत्रहरुमा सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरी, नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुुर, नं ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही र नं ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली मातहत कार्यालयबाट १० हजारभन्दा बढी सशस्त्र प्रहरी बल नेपालको जनशक्ति परिचालन गरिएको छ ।

सीमा क्षेत्रलाई व्यवस्थित गर्न र हुनसक्ने अवैध गतिविधिलाई रोक्न नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणहरुसँग समन्वय गरी सूचना आदानप्रदान गरी सीमामा आवतजावत गर्नेहरुलाई निगरानी गर्ने कार्यसमेत कडाइका साथ गरिएको छ ।

नेपाल–भारत सिमानामा चलिआएको आवतजावतलाई असहज तथा हैरानी नहोस् भन्नेतर्फ पनि सचेत हुँदै त्यसप्रकारको आवतजावतलाई सहजीकरण गर्ने कार्यसमेत गरिएको छ ।

यसैगरी सहरी क्षेत्रका सम्भावित सुरक्षा दिनुपर्ने महत्वपूर्ण ठाउँहरुमा निगरानी बढाइएको सशस्त्र प्रहरीबल नेपालले जानकारी गराएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा विद्यमान अन्तरराष्ट्रिय परिस्थिति तथा हालै विकसित भारत–पाकिस्तानबीच भएको घटनाक्रमबाट नेपालमा पर्नसक्ने सुरक्षा चुनौती तथा असरहरुको सम्बन्धमा समीक्षा समेत गरिएको छ ।

राष्ट्रिय सुरक्षा परिषद्को बुधबार बसेको बैठकमा सो घटनाक्रमबाट उत्पन्न हुनसक्ने परिस्थितिको सुक्ष्म विश्लेषण गरी आगामी दिनमा आइपर्ने परिस्थितिको सामना गर्न उपयुक्त रणनीति अपनाउने सम्बन्धमा छलफल भएको रक्षा मन्त्रालयका सचिव एवं परिषद्का सदस्य–सचिव रामेश्वर दङ्गालले जानकारी दिए ।

सिंहदरबारस्थित परिषद्को सचिवालयमा प्रधानमन्त्री एवम् परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको परिषद्को ३८औँ बैठकमा परिषद्का सदस्य उपप्रधानमन्त्री तथा अर्थमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, रक्षामन्त्री, मुख्यसचिव, प्रधान सेनापति र रक्षासचिवको सहभागीता रहेको थियो ।

बुधबार नै गृह मन्त्रालयमा राष्ट्रिय सुरक्षा समितिको बैठक बसेको थियो । सो बैठक भारत—पाकिस्तानबीच बढ्दो तनावका कारण नेपालमा पर्न सक्ने प्रभावबारे छलफल भएको थियो ।

छलफलमा सीमा क्षेत्रमा निगरानी र जाँच कडा पार्ने, अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचलाई थप प्रभावकारी बनाउने र अवैध घुसपैठ रोक्न समन्वयात्मक रणनीति अपनाउने विषयमा निर्णय भएको थियो।

बैठकमा नेपाल प्रहरीका महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा र नेपाली सेनाका बलाधिकृत रथी निर्मलकुमार थापा सहभागी थिए ।यसैबीच नेपालको पूर्वीनाकामा सुरक्षा सतर्कता कडा पारिएको छ ।नेपाल—भारत पूर्वीनाका (मेची पुल)नेपाल प्रवेश गर्ने नाकामा सशस्त्र प्रहरीले चेक जाँचका अलवा निगरानी बढाएको छ ।

२०८२ बैशाख २५, बिहीबार प्रकाशित 0 Minutes 40 Views

ताजा समाचार