२०८२ जेष्ठ ११ शनिबार

गृहमन्त्रीले छानबिनमा सघाउनुपर्छ : डा. शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला । फाइल तस्बिर

शशिधर पराजुली

विराटनगर, जेठ १० गते। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकले पद छोडेर छानबिनमा सहयोग गर्नु राम्रो हुने बताउनुभएको छ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेता कोइरालाले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालयाबाट अनधिकृत मानव ओसारपसारमा संलग्नताको प्रसंगमा गृहमन्त्रीले पदबाट राजीनामा दिएर नैतिकता देखाउनुपर्ने बताउनुभएको हो। नेता कोइरालाले भन्नुभयो, ‘उहाँ संलग्न नहुनुहोला तर रमेशजीबारे जुन कुरा आएको छ, उहाँले नैतिकताको आधारमा छोड्दा हुन्छ। त्यसले मोरल स्टेटस देखिन्छ, म छोडिदिन्छु छानबिन गर भने हुन्छ।’

विगतमा पनि यस्ता घटना सार्वजनिक हुँदा मन्त्रीले राजीनामा दिएर छानबिन समिति बनाएको बिगत उहाँले स्मरण गर्नुभयो। उहाँले भन्नुभयो, ‘यस्ता घटना आउँदा मन्त्रीले राजीनामा दिएर छानबिन समिति बनाएको सबैलाई थाहा छ, डा. रामशरण महतले डलर केसमा, जनार्दन शर्माले, अरु दुई जना त फेरि फर्कनु पनि भएन। गोकुल बास्कोटा र शेरबहादुर तामाङ। यदि यो हो भने मोरल ग्राउन्डमा उहाँले पनि छोडिदिँदा हुन्छ। इस्यु आइसकेपछि क्लिन छु भन्ने देखाउन छानबिन गर्नुपर्छ।’

अध्यागमन कार्यालयले बिचौलियासँग सेटिङ गरेर भिजिट भिसामा विभिन्न देशमा मानिस पठाउने गरेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेपछि यो विषय सार्वजनिक भएको हो। यस घटनालाई अख्तियारले छानबिन गरिरहेको छ।गोरखापत्र अनलाइन

 

२०८२ जेष्ठ ११, शनिबार प्रकाशित 1 Minute 9 Views

ताजा समाचार