२०८२ जेष्ठ ६ सोमबार

काँकडभिट्टाबाट ३ करोड ६१ लाखको धान काट्ने मेशिनसहित ३ वटा भारतीय कन्टेनर कसरी भित्रिए ?भन्सार भन्छ– राजश्व तिरेको हो

मेचीनगर । भन्सार नतिरी काँकडभिट्टा नाका हुँदै ३ करोड ६१ लाख बराबरको धान काट्ने मेशिनसहित ३ वटा भारतीय कन्टेनर भित्रिएको आशंकामा प्रहरीले पक्राउ गरेको छ ।

हिजो साँझ ७ बजे बिर्तामोड नगरपालिका वडा न।५ स्थित पूर्वपश्चिम राजमार्गमा भारतबाट काँकरभिट्टा हुँदै नेपालतर्फ भित्रिएका एनएल०१एएच ५६७९, एनएल०१एन ९२२३ र एनएल०२एल ७४८६ नम्बरका तीन वटा भारतीय कन्टेनरहरुलाई प्रहरीले पक्राउ गरेको हो । गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षकसहितको टोलीले पक्राउ गरेको हो । चेकजाँच गर्दा भन्सार छली गरी ल्याउँदै गरेको अबैध सामानहरु कन्टेनरमा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । अन्दाजी ३ करोड ६१ लाख बराबरको सामान कन्टेनरमा फेला परेकोले उक्त सामान तथा कन्टेनरहरुलाई बरामद गरी आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रविण श्रेष्ठले जानकारी दिए ।

तर, मेची भन्सार कार्यालयले ती सामान अवैध नभएको दावी गरेको छ । भन्सार तिरेर नियमसंगत ढंगले ती कन्टेनर भित्रिएको मेची भन्सार कार्यालयका भन्सार अधिकृत रामचन्द्र ढुंगानाले बताए । उनले ती कन्टेनर भारतबाट नभई चीनबाट कृषि औजार लिएर आएको बताए ।

‘राजश्व अनुसन्धान कार्यालयले सत्यतथ्य छानबिन गर्ने नै हो ’ उनले भने ,‘ प्रहरीले दुःख दिने र भन्सारलाई बद्नाम गर्ने काम गरेको छ । ’ यसअघि पनि पटकपटक भन्सारले छोडेको सामान प्रहरीले पक्राउ गरेको थियो ।

२०८२ जेष्ठ ६, सोमबार प्रकाशित 0 Minutes 109 Views

ताजा समाचार