२०८१ बैशाख १७ सोमबार

इण्डो-नेपाल भेट्रान फुटबल प्रतियोगिता: दार्जिलिङलाई पराजित गर्दै विराट भेट्रान मोरङ विजयीे

काँकरभिट्टा । पाहुना टोली भारतको दार्जिलिङ भेट्रान फुटबल क्लबलाई पराजित गर्दै विराट भेट्रान फुटबल क्लब मोरङले काँकरभिट्टामा जारी तेस्रो इण्डो-नेपाल भेट्रान फुटबल प्रतियोगितामा शुखद् सुरूवात गरेको छ ।

काँकरभिट्टा भेट्रान फुटबल क्लबको आयोजनामा काँकरभिट्टा माविको खेल मैदानमा सञ्चालित प्रतियोगिताको आज भएको उद्घाटन खेलमा पाहुना टोली दार्जिलिङ टाउनलाई ४-१ गोल अन्तरले पराजित गर्दै मोरङको विराट भेट्रान क्लबले अघिल्लो चरण प्रवेश गरेको हो ।

खेलको १३ मिनेटमा विराट भेट्रानका डेनिम राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको २५ औं मिनेटमा दार्जिलिङका सुदिप राईले गोल गर्दै खेललाई बराबरीमा ल्याए । खेलको पहिलो हाप बराबरी खेलेको दार्जिलिङ दोस्रो हापमा कमजोर देखियो । मोरङसामु फितलो प्रदर्शन गरेको दार्जिलिङलाई फराकिलो गोल अन्तरले पराजित गर्न विराटको तर्फबाट ५२ औं मिनेटमा डेनिम राईले थप एक गोल गर्दा दिपेन राईले ५८ र सुनिल कुमार सुवेदीले ६८ औं मिनेटमा गोल गरे ।

यता खेलमा पाएको थुप्रै अवसरहरू सदुपयोग गर्न नसक्दा दार्जिलिङ प्रतियोगिताबाट बाहिरियो । उद्घाटन खेलको म्यान अफ द म्याच विजेता टिमका सुनिलकुमार सुवेदी घोषित भए । उनले नगदसहित ट्रफि प्राप्त गरे ।

काँकरभिट्टा फुटबल ट्रेनिङ्ग सेन्टरको सह-आयोजना र मेचीनगर नगरपालिका संरक्षक रहेको प्रतियोगितामा नेपालर भारतको १० चर्चित भेट्रान फुटबल क्लब सहभागी रहेका छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ ।

भोलिको खेल आयोजक काँकरभिट्टा भेट्रान फुटबल क्लब र मिलामोड त्रिभेनी साङ्गा दार्जिलिङ बिच हुने क्लबका महासचिव सुन्दर बस्नेतले बताए ।

काँकरभिट्टा भेट्रान फुटबल क्लबका अध्यक्ष गंगालाल गुरुङको सभापतित्वमा आयोजना भएको प्रतियोगिताको औपचारीक उद्घाटन मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकीले गरेका थिए ।

कार्यक्रममा प्रमुख आतिथि नगर प्रमुख बुढाथोकीले खेलकुदको क्षेत्रबाट देश तथा विदेशमा मेचीनगरलाई चिनिने गरेको बताउँदै त्यसलाई प्रोत्साहान र संरक्षकको रुपमा स्थानीय सरकारको तर्फबाट आफुले गर्नसक्ने सहयोग गर्ने बताए । कार्यक्रममा निवर्तमान प्रदेश सांसद श्रीप्रसाद मैनाली, निवर्तमान मेचीनगर प्रमुख विमल आचार्य, खेलकुद विकास समिति झापाका निवर्तमान अध्यक्ष शंकर थापा, डिल्लिराम घिमिरेलगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । आयोजक क्लबका बरिष्ठ उपाध्यक्ष राजु पौडेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव शेरबहादुर बस्नेत(सुन्दर) ले गरेका थिए ।

२०७९ फाल्गुन २७, शनिबार प्रकाशित 1 Minute 323 Views

ताजा समाचार