२०८१ बैशाख २३ आईतवार

किन चीन धाइरहन्छन् नेपालका कम्युनिस्ट नेताहरु ?

झापा । एमसीसीको कट्टर विरोधी मानिने माओवादी नेताहरु यतिबेला चीन भ्रमणमा रहेका छन् । नेपालका कम्युनिस्ट नेताहरु एकपछि अर्को गर्दै चीन भ्रमणमा पुगेका बेला उनीहरू पनि थपिएका हुन् । सत्तामा कम्युनिस्ट पार्टीहरूको वर्चश्व रहकै बेला माओवादीका महासचिव देव गुरुङको नेतृत्वमा एउटा टोली चीन पुगेको छ । उनी १० दिने भ्रमणमा त्यता गएका हुन् ।

चीन भ्रमणमा रहेको नेकपा माओवादी केन्द्रका महासचिव गुरुङ नेतृत्वको टोलीसँग चीनको इन्टरनेशनल डिपार्टमेन्ट सेन्ट्रल कमिटी अफ सीपीसी (आइडीसीपीसी) का प्रमुख लिउ चियान चाओले नेपालमा वामपन्थी एकीकरणमा गर्न जोड दिएका थिए । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले नेपाली नेताहरूलाई पालैपालो जनवादी गणतन्त्र चीन भ्रमणको निम्तो दिइरहेको छ । सेप्टेम्बर महिनाको अन्तिम साता एसियाली खेलकुद प्रतियोगिता उद्घाटन समारोहमा सहभागी हुन गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको साताव्यापी चीन भ्रमणपछि चीनले पालैपालो दुई पूर्वप्रधानमन्त्रीको चीनमा स्वागत गरेको थियो । त्यसपछि लगातार रुपमै नेपाल कम्युनिस्ट नेताहरूको भ्रमण हुन थालेको छ ।

गत अक्टोबर १८ मा राजधानी बेइजिङमा भएको तेस्रो बेल्ट एन्ड रोड इनीसीएटीभमा (बीआरआई) फोरममा सहभागी हुन पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल चीन पुगेका थिए । सोही पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल त्यतिबेला चीन पुगेका थिए । चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा साता व्यापी चीन यात्रामा नेपालसँग १४ जनाको टोली रहेको थियो ।

त्यतिबेला पनि चीनले नेपालमा वामपन्थीहरूबीचको एकतामा जोड दिएको थियो । अहिले पनि माओवादी महासचिव गुरुङसँगको भेटमा चियान चाओले नेपालमा एमाले र माओवादी केन्द्रसहितको वामपन्थी पार्टीहरूको सरकार बन्दा चीन खुसी भएको धारणा राखेका छन् ।

केही समय अघि माओवादीकै दोस्रो वरियताका नेता नारायणकाजी श्रेष्ठले चीन भ्रमण गरेर फर्किसकेका छन् । उनले पनि त्यहाँ कम्युनिस्ट पार्टीका नेताहरु भेटघाट गर्ने बाहेक कुनै काम गरेका थिएनन् । चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरो सदस्य तथा जनवादी गणतन्त्र चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा उनी चीन भ्रमण गएका थिए ।

उनले बेइजिङ र अन्य प्रान्तहरूमा जनवादी गणतन्त्र चीनका उच्च स्तरका कम्युनिस्ट नेताहरूसँग भेटघाट गरेर फर्केका थिए । भेटमा सीपीसी विदेश विभाग प्रमुख लिउले नेपालमा वामपन्थीबीच सहकार्य हुनु राम्रो भएको उल्लेख गर्दै सीपीसी माओवादीसँग सम्बन्ध विस्तार गरी काम गर्न इच्छुक भएको धारणा राखेका थिए ।
एमाले माओवादीसहितको नयाँ सत्ता समीकरण बनेपछि चीनले सन्तुष्टि व्यक्त गर्दै नेपालमा वामपन्थी मिल्नु उचित हुने सुझाव दिँदै आएको छ । महासचिव गुरुङ चीनले लिएको नीतिप्रति नजिक देखिन्छन् । उनले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको विरोध गर्दै यसको नेपालमा कार्यान्वयन गर्न नहुने धारणा राखेका थिए ।

त्यस्तै माओवादी टोलीले हुनान प्रान्तका पार्टी सचिव सेन चाओ मिङसँग पनि भेटवार्ता गरेको छ । त्यसपछि कुइचाउ प्रान्तको भ्रमण गर्ने तालिका रहेको छ । वैशाख ५ मा प्रस्थान गरेको भ्रमण टोलीमा महासचिव गुरुङ, स्थायी कमिटी सदस्य परशुराम तामाङ, कमला रोका, केन्द्रीय सदस्य ओम शर्मालगायत टोली छन् ।

नेपाल र भारत बीचमा आएका उतारचढावले चीन बीचको सम्बन्ध नयाँ उचाइमा लैजानुपर्छ भन्ने विषयमा कम्युनिस्टहरूबीच एक प्रकारको अघोषित सहमति जस्तै छ । आठ वर्ष अघि नेपालमा नाकाबन्दी लागेपछि तत्कालीन एमाले र माओवादीका नेताहरु बीच यो विषयमा गहन कुराकानी भएको बताइन्छ । २०७५ साल जेठ ३ मा दुई पार्टी एकीकरण भएपछि पनि धेरै नेताहरु चीन भ्रमणमा गएका थिए । त्यसपछि पनि नेताहरूको आउजाउ बढेको छ । साथै, बीआरआईमा नेपालले हस्ताक्षर गरिसकेपछि चीनको नेपालसँगको पहिलो प्राथमिकता बीआरआई हो । दुई देशबीच सम्बन्धको मेरुदण्ड बीआरआई हो ।

नेपालले बीआरआईको एउटा पार्ट हौ भने पनि चिनियाँहरुले नेपाली नेताहरूलाई बोलाउने गरेका छन् । त्यसले गर्दा औपचारिक भेटघाट मात्रै होइन कि विभिन्न संघसंस्थाहरूको व्यक्तिहरूसँग चीनको सम्बन्ध निकै बाक्लो भएको छ अहिले । तत्कालीन एमाले र माओवादी हुँदा पनि चिनियाँ कम्युनिस्ट पार्टीको धेरै राम्रो सम्बन्ध थियो । त्यहीबेला पनि दुई पार्टीका छुट्टाछुट्टै औपचारिक अनौपचारिक चीन भ्रमण हुने गरेका थिए । एकतापछि त्यसको ठूलो संख्या नेताहरूको आवतजावत देखिएको थियो । अहिले एमाले र माओवादीबीच सरकार बनेपछि पनि यसको निरन्तरता दिएको देखिन्छ ।

कुनै समय ‘शान्त कूटनीति’को नीति अन्तर्गत अरू देशको आन्तरिक मामिलामा चियो चर्चा नगर्ने चीन पछिल्लो समयमा निक्कै ‘सक्रिय कूटनीति’का साथ विश्वव्यापी रूपमै अघि बढेको र नेपालका पनि त्यसको प्रभाव परेको बताइन्छ । खासगरी, छिमेकी देशहरूको सवालमा विशेष रुचि र चासो चीनले बढाउँदै लगेको सन्दर्भमा स्वाभाविक रूपमा उसको रुचि, चासो र गतिविधिहरू नेपालमा पनि वृद्धि भएको देखिन्छ । चीन विश्वका धेरै देशले अस्वीकार गरेको बीआरआई प्रोजेक्ट लागु गर्न, अमेरिकी एमसीसी असफल गराउन र राजनीतिक रूपमा नेपाललाई आफ्नो प्रभावमा राख्न चाहन्छ । त्यसका लागि कम्युनिस्ट पार्टीभित्र पसेको प्रष्ट हुन्छ ।

२०८१ बैशाख १३, बिहीबार प्रकाशित 0 Minutes 317 Views

ताजा समाचार