झापा । धन सम्पत्ति र सन्तान प्रशस्त भएर पनि बुढेसकालमा आफ्नै परिवारबाट उचित हेरचाह र सहारा नपाउँदा अभिभावकको जीवन कति पीडादायी बन्न सक्छ भन्ने उदाहरण मेचीनगर नगरपालिका–७ की ७७ वर्षीया पदमकुमारी खड्काको अवस्थाले देखाएको छ ।
श्रीमान्, दुई छोरा, दुई छोरी तथा नातिनातिनासहितको परिवारकी पदमकुमारी अहिले शारीरिक तथा मानसिक रूपमा कमजोर अवस्थामा छिन् । उनको बसोबास र जीवनयापनको अवस्था भने अत्यन्तै दयनीय रहेको छ। उनी बस्ने ठाउँ गाईबस्तुको गोठभन्दा पनि नाजुक रहेको पाइएको छ ।
दिसापिसाब एकै ठाँउमा हुँदा पदमकुमारीलाई आफ्नो दैनिक आवश्यकता पूरा गर्नसमेत अरूको सहयोग आवश्यक पर्ने अवस्था छ । वृद्धावस्थामा पुगेकी उनलाई सफा र सुरक्षित बसोबास, नियमित खाना तथा स्वास्थ्य उपचारको आवश्यकता भए पनि ती आधारभूत सुविधाबाट समेत वञ्चित हुनुपरेको उनको बासस्थान पुग्ने जो कोहीले सजिलै अनुमान गर्ने गर्दैछ ।
परिवारमा दुई छोरा र दुई छोरी तथा नातिनातिना भए पनि आमाको हेरचाह र संरक्षणको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह नभएको देखिन्छ । परिवारमा पर्याप्त आर्थिक स्रोत हुँदाहुँदै पनि वृद्ध आमाको अवस्था यस्तो हुनुले परिवार प्रति प्रश्न खडा भएको छ । साथै उनको माइती परिवार पनि सोही वडामा रहेका छन् । दुई छोरा, छोरी र माइती सबै मेचीनगर-७ एउटै वडामा बसोबास गर्छन् । तर यहाँ आफन्तले बिरामी अवस्थामा रहेकी पदमकुमारीको खासै वास्था नगरेको प्रष्ट देखिन्छ ।
जेठा छोरा अजित खड्काले आमाको अवस्थाबारे आफूहरू जानकार रहेको बताउँदै सकेको औंषधी उपचार गरिरहेकाे बताउँछन् । उनले आमाको यो अवस्था एक सातादेखि मात्रै आएको र अब उपचारका लागि काठमाडौं लैजाने बताउँछन् । सासुसंगै रहेकी जेठी बुहारीले आफुले स्यहारसुसार गरिरहेकाे प्रतिक्रिया दिन्छन् । उनले अरूले एकछिन आएर हेरे र भने जस्तो सधैं बिरामी पाल्नेलाई नहुने उनी बताउँछिन् ।
पदमकुमारीको अवस्थाबारे कान्छा छोराले पनि दाजुभाउजुकै भनाइमा साथ दिदै आफुहरूले आमालाई हेरचाह र स्वास्थ्य उपचार गरिरहेको बताउँछन् । आमालाई निको पार्न धेरै ठाउँ उपचारका लागि लगिएको र अब पनि लाने परिवाबिच सल्लाह भइरहेको बताउँछन् ।
छोराबुहारी तथा अन्य परिवारजनले आमाको हेरचाहमा आफूहरूको भूमिका रहेको दाबी गरे पनि उनको वर्तमान बसोबासको अवस्थाले भने गम्भीर प्रश्न उठाएको छ ।
वृद्धावस्थामा पुगेका अभिभावकलाई सन्तानको आर्थिक सहयोगसँगै सम्मान, माया, सुरक्षित बसोबास र नियमित हेरचाह आवश्यक हुन्छ । पदमकुमारीको अवस्थाले सन्तान र सम्पत्ति धेरै हुँदैमा बुढेसकाल सुरक्षित र सुखद् हुन्छ भन्ने सुनिश्चित नहुने देखाएको छ ।
सम्बन्धित वडा कार्यालय तथा स्थानीय सरोकारवालाले पदमकुमारीको अवस्थाबारे तत्काल चासो दिई उनको सुरक्षित बसोबास, स्वास्थ्य परीक्षण र आवश्यक संरक्षणको व्यवस्था गर्नुपर्ने देखिन्छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


