२०८३ श्रावण १ शुक्रबार

किन खेलाइन्छ विश्वकपमा तेस्रो स्थानका लागि खेल ?

काठमाडौं । फिफा विश्वकपको तेस्रो स्थानका लागि हुने भिडन्तलाई नियाल्ने दृष्टिकोण फरक–फरक छन् । कसैले यसलाई खेलाडीको व्यक्तिगत तथ्यांक बलियो बनाउने मौकाका रूपमा लिन्छन् । कसैले यसलाई कुनै पनि टोली सहभागी हुन नचाहने खेल भन्छन् ।

सन् २०२६ को विश्वकपको संस्करणमा युरोपेली दुई टोली तेस्रो स्थानका लागि भिड्दै छन् । फ्रान्स र इंग्ल्यान्डबीच तेस्रो स्थानका लागि खेल खेल्दै छन् । सन् २०२२ को संस्करण मोरक्कोलाई २–१ ले हराउँदै क्रोएसिया तेस्रो बनेको थियो । सन् २०१८ को संस्करणमा उपविजेता बनेको क्रोएसियाले तेस्रो स्थानमा जित निकाल्दा पनि ठूलै उत्सव मनाएको थियो ।  

विश्वकपमा तेस्रो स्थानको खेल किन हुन्छ ? यसले विश्वकपका रेकर्डका लागि कसरी सहयोग पुर्‍याउँछ र टोली व्यवस्थापकहरूको दृष्टिको यसप्रति के छ ?

पहिले तेस्रो स्थानको खेल किन हुन्छ भन्ने जानौँ । विश्वकपका प्रत्येक म्याचबाट फिफाले आम्दानी गर्छ । आयोजक राष्ट्रले पनि त्यहाँबाट आम्दानीको मौका पाउँछन् । तेस्रो स्थानका लागि खेल हुँदा सेमिफाइनल र फाइनलबीचको रिक्त समय पूर्तिका लागि सहयोग पुग्छ । यसले प्रसारकहरूलाई विज्ञापनबाट आम्दानीको अवसर पनि सिर्जना गर्छ ।

यस खेल फिफाको विश्व वरीयताको समीकरणसँग पनि जोडिन्छ । मैत्रीपूर्ण खेलको तुलनामा तेस्रो स्थानको भिडन्तले बढी अंकभार बोक्ने भएकाले यो खेल सेमिफाइनलमा स्तब्ध टोलीका लागि महत्त्वपूर्ण मानिन्छ । तेस्रो स्थानमा जित हात पार्दा देशको वरीयतामा सुधार हुने भएकाले यो खेलको महत्त्व छ ।

यो चरण ओलम्पिकको शैलीसँग मिल्दोजुल्दो छ । यसले सहभागी टोलीमध्ये एकलाई प्रतियोगिताको सुखद अन्त्यको अवसर प्रदान गर्छ । यसले विश्वकपमा रेकर्डका लागि योगदान गर्ने भएकाले तेस्रो चरणको खेल खेलाइन्छ । तेस्रो स्थानको खेलमा बनेका रेकर्डको चर्चाअघि यसको इतिहासतर्फ जाऔँ ।

तेस्रो स्थानको खेलको इतिहास
सन् १९३० मा पहिलो विश्वकप आयोजना भएको थियो । उक्त संस्करणको सेमिफाइलनमा अमेरिका र युगोस्लाभिया पुगेका थिए । उनीहरूबीच तेस्रो स्थानका लागि खेल भएन । 

विश्वकपमा तेस्रो स्थानको खेल सन् १९३४ बाट सुरू भएको हो । यो १९३० पछि आयोजित दोस्रो विश्वकप हो । उक्त संस्करणमा तेस्रो स्थानका लागि जर्मनी र अष्ट्रिया भिडेका थिए । त्यस खेलमा जर्मनीले अष्ट्रियाविरुद्ध ३–२ को जित हात पार्‍यो ।

सन् १९३४ पछि १९३८ को संस्करणमा तेस्रो स्थानका लागि खेल भयो । त्यसपछिका संस्करणमा सन् १९५० मा तेस्रो स्थानका लागि खेल भएन । सन् १९५० मा राउन्ड अफ रोबिन प्रणालीमा खेल खेलाइएकाले तेस्रो स्थानका लागि छुट्टै प्रतियोगिता गर्न नपरेको हो । सन् १९५४ मा भने फेरि प्ले अफलाई ब्युँताइयो । त्यसपछि यताका संस्करणमा तेस्रो स्थानको खेल विश्वकपको चलन नै भइसकेको छ ।

तेस्रो स्थानका खेलमा बनेका रेकर्ड
सन् १९५८ मा तेस्रो स्थानका लागि भएको खेलमा  पश्चिम जर्मनीविरूद्ध फ्रान्सका जस्टले चार गोल गरे । उक्त खेलमा फ्रान्सले ६–३ को जित निकाल्यो । एकै संस्करणमा १३ गोल गरेको उनको रेकर्ड हालसम्म कसैले पनि तोड्न सकेको छैन ।

सन् २००२ मा हकन सुकुरले दक्षिण कोरियाविरूद्धको खेलमा ११ सेकन्डमै टोलीलाई अग्रता दिलाए । उक्त गोल विश्वकप इतिहासमै सबैभन्दा छिटो भएको गोल हो ।

यो खेल जित्नेले के पाउँछन् ?
यो खेलमा जित हात पार्नेले कास्य पदक पाउँछन् । तेस्रो स्थानको खेलमा विजयी हुने टोलीले अतिरिक्त दुई मिलियन डलर पाउँछन् । तेस्रो स्थानमा विजयी हुनेले २९ मिलियन डलर पुरस्कार पाउँछ भने त्यो खेलमा हार्ने टोलीले २७ मिलियन डलर पाउँछ । 

चारपटक विश्वविजेता बनेको जर्मनीले सबैभन्दा धेरै चारपटक कास्यपदक जितेको छ । यस्तै, जर्मनी चारपटक उपविजेता समेत भएको टोली हो ।

यस खेलबारे व्यवस्थापकका दृष्टिकोण के छन् ?
तेस्रो स्थानका लागि हुने खेलप्रति विभिन्न व्यवस्थापकहरूले आलोचना समेत गरेका छन् । सन् २०१४ मा नेदरल्यान्ड्सका व्यवस्थापक रहेका लुइस भान गलले यो चरण खेलाउनै नहुने तर्क गर्छन् । “मैले पटक–पटक यो खेल खेलाउन नहुने मत राख्दै आएको छु । यसमा दुईपटक लगातार हार्ने जोखिम हुन्छ । जित हात नपरेको खण्डमा टोली हारेको कमजोर मनोबलसहित घर फर्किन्छ,” उनको तर्क छ ।

इंग्ल्यान्डका पूर्वकोच ग्यारेथ साउनगेटले पनि यस्तै धारणा व्यक्त गरेका छन् । “यो चरण कुनै पनि टोलीले खेल्न चाहने प्रतियोगिता नै होइन,” उनको धारणा छ । इंग्ल्यान्डका पूर्वस्ट्राइकल अलान सियरले भनेका छन्, “प्ले अफ खेल मूर्खतापूर्ण हो । कोही पनि यसका निम्ति उत्सुक हुँदैन । बाध्य भएर खेल्नैपर्ने हुन्छ ।”

तेस्रो स्थानमा कुन वर्ष को विजयी ?
सन् १९३४ मा अष्ट्रियाविरुद्ध जर्मनी ३–२ ले विजयी भयो । सन् १९३८ मा ब्राजिलले स्वीडेनविरुद्ध ४–२ को जित निकाल्यो । सन् १९५४ मा उरुग्वेलाई अष्ट्रियाले ३–१ ले हरायो । सन् १९५८ मा पश्चिम जर्मनीविरुद्ध फ्रान्स ६–३ ले विजयी भयो । 

सन् १९६२ मा युगोस्लोभिया चिलीसँग १–० ले पराजित भयो । सन् १९६६ मा सोभियत युनियनले पोर्चुगललाई २–१ ले हरायो । सन् १९७० मा पश्चिम जर्मनीले उरूग्वेलाई १–० ले जित्यो । सन् १९७४ मा पोल्यान्डले ब्राजिविरुद्ध १–० को जित निकाल्यो । सन् १९७८ मा ब्राजिलले इटालीलाई २–१ ले हरायो । सन् १९८२ मा फ्रान्स पोल्यान्डसँग ३–२ ले हार्‍यो । सन् १९८६ मा फ्रान्स बेल्जियमविरुद्ध ४–२ ले विजयी भयो ।

सन् १९९० मा इटाली इंगल्यान्डविरुद्ध २–१ ले विजयी भयो । सन् १९९४ मा स्वीडेनले बुल्गेरियालाई ४–० ले हरायो । सन् १९९८ मा क्रोएसियाले नेदरल्यान्ड्सलाई २–१ ले पराजित गर्‍यो । सन् २००२ मा टर्कीले दक्षिण कोरियाविरुद्ध ३–२ को जित हात पार्‍यो । सन् २००६ मा जर्मनीले पोर्चुगललाई ३–१ ले हरायो । सन् २०१० मा जर्मनीले उरुग्वेलाई ३–२ ले पराजित गर्‍यो । सन् २०१४ मा ब्राजिलविरुद्ध नेदरल्यान्ड्स ३–० ले विजयी भयो । सन् २०१८ मा बेल्जियमले इंग्ल्यान्डलाई २–०ले हरायो । सन् २०२२ मा क्रोएसियाले मोरक्कोलाई २–१ ले हरायो । 

२०८३ असार ३२, बिहीबार प्रकाशित 1 Minute 21 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार