२०८१ बैशाख १२ बुधबार

मनिषले पेनाल्टी चुकाउँदा संकटा र चर्च ब्वाइज बराबर

काठमाडौं (हाम्रो खेलकुद) – शहिद स्मारक ए डिभिजन लिग अन्तर्गत संकटा क्लब र चर्च ब्वाइज युनाइटेड क्लबले बराबरी खेलेका छन् । एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न खेलमा मनिष डाँगीले इन्ज्युरी समयमा प्रहार गरेको पेनाल्टी गोलरक्षक एभ्स प्रिसोले जोगाउँदा खेल गोलरहित बराबरीमा सकिएको हो ।

१६ औं मिनेटमा चर्च ब्वाइजका प्रशान्त लक्षमले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार पोस्टको भित्रि भागमा लाग्दै फर्कियो । लगत्तै अर्कोतर्फ जुनिअर एन्गुनेको प्रहार क्रसबारमा लागेर बाहिरिंदा संकटा अघि बढ्नबाट बन्चित भयो ।

१८ औं मिनेटमा चर्च ब्वाइजले अग्रता लिने सुवर्ण अवसर गुमायो । अन्जनले पेनाल्टी क्षेत्र भित्रबाट खेलेको पासलाई आशिष चापागाईंले नियन्त्रणमा लिँदै प्रहार गरेका थिए । तर वन भर्सेस वनको स्थितिमा संकटाका लागि डेब्यु गरिरहेका गोलरक्षक विष्णु कुमार केसीले उत्कृष्ट बचाउ गर्दै खेल गोलरहित बराबरीमा राखे ।

४३ औं मिनेटमा कर्नरमा क्लियर हुन नसकेको बलमा बियिक बियिकले गरेको प्रहार एरिक विष्टले गोललाइन अगाडिबाट क्लियर गर्दै संकटालाई अग्रता लिन दिएनन् ।

दोस्रो हाफको मध्यतिर संकटाको अग्रता लिने प्रयासमा मनोज राई बाधक बने । इन्ज्युरी समयमा दुवै टोलीले अग्रता लिने अवसर गुमाए । मिलन राईको क्रसमा अन्जन विष्टको हेडर सिधै गोलरक्षक विष्णुको हातमा पुग्यो । लगत्तै अर्कोतर्फ जुनिअर एन्गुनेले वन भर्सेस वनको अवस्थामा गोलरक्षक एभ्स प्रिसोलाई बिट गर्न सकेनन् ।

इन्ज्युरी समयमा संकटाले पेनाल्टीको अवसर पायो । कमल श्रेष्ठले क्रस रोक्ने क्रममा हात प्रयोग गरेको भन्दै रेफ्री प्रज्वल क्षेत्रीले पेनाल्टीको निर्णय दिए । मनिष डाँगीको पेनाल्टी गोलरक्षक प्रिसोले विफल पारे । लगत्तै रिबाउन्डमा गरेको प्रहार बाहिरिंदा खेल बराबरी भएको हो ।

यस नतिजासँगै चर्च ब्वाइज अपराजित यात्रा कायम राख्दै शीर्षस्थानमा यथावत छ । चर्च ब्वाइजको ४ खेलमा १० अंक छ । संकटा ४ खेलमा ५ अंकका साथ आठौँ स्थानमा छ ।

२०७९ फाल्गुन ३०, मंगलवार प्रकाशित 0 Minutes 271 Views

ताजा समाचार