
मित्र भण्डारी
कसरा (चितवन), वैशाख १९ गते । घना जङ्गल, हरियाली घाँसे मैदान तथा सिमसार क्षेत्रसहित भौगोलिक विविधतायुक्त चितवन राष्ट्रिय निकुञ्ज स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्रका रूपमा स्थापित छ । जङ्गल सफारीसँगै दुर्लभ वन्यजन्तुको अवलोकनका लागि कसरा–देवीघाट–सौराहा रुटको दायाँ बायाँ आजभोलि एकसिङ्गे गैँडा, पाटेबाघ, जङ्गली हात्ती, भालुलगायत जङ्गली जनावरको निर्बाध परेड देख्न सकिन्छ ।

लामा क्यामरा, बाइनाकुलर भिरेका पर्यटक तथा गोलीगट्ठासहित हतियारधारी सैनिक ओहोरदोहोर (निकुञ्ज सुरक्षार्थ गस्ती) को नजिकै देखिने यी जनावर भाग्ने तर्सिने गर्दैनन् बरु मानिस देख्नेबित्तिकै ठिङ्ग उभिएर उल्टै मानिसकै अवलोकन गर्छन् । क्यामरा र बाइनाकुलर सोझ्याएपछि भिन्न ‘पोज’ मा प्रस्तुत हुने ती गैँडालगायतका जनावर पाहुनालाई निराश बनाउने मुडमा देखिँदैनन् ।
दृश्य नियाल्दा लाग्छ, पर्यटक तथा गोलीगट्ठा बोकेका सैनिक देखेर यी जनावर तर्सिंदैनन् बरु आफ्नो जमात हेर्न र आफ्नै सुरक्षाका निम्ति यी मानिस आएका हुन् भन्ने बुझाइ राखे झैँ गर्छन् ।
राष्ट्रिय निकुञ्जका दुर्लभ वन्यजन्तु तथा वनपैदावरको संरक्षण गर्न नेपाली सेनाको विशेष ‘अपरेसन संरक्षण’ पछि लाग्छ वन्य जन्तुले आफूलाई सुरक्षित महसुस गर्न थालेका छन् तर सिकारी तथा तस्करले भने आफूलाई खतरा महसुस गरेका छन् ।
२०६७ सालदेखि नेपाली सेनाले सञ्चालन गरेको ‘अपरेसन संरक्षण–१० औँसम्म आइपुग्दा पछिल्लो डेढ वर्ष अर्थात् (५३१ दिन) मा निकुञ्ज चोरीसिकारी पूर्ण नियन्त्रण अर्थात् ‘जिरो पोचिङ’ को अवस्थामा आइपुगेको छ । चितवन राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा. गणेश पन्त चोरी तस्करी पूर्ण नियन्त्रणमा आउनुमा नेपाली सेनाको चुस्त सुरक्षा व्यवस्थापन, समस्याको पहिचान तथा प्रभावकारी समन्वय रहेको बताउनुहुन्छ । २०३० सालमा स्थापना भई ९५२.६३ वर्ग किमीमा फैलिएको चितवन राष्ट्रिय निकुञ्ज २०५३ सालमा मध्यवर्ती क्षेत्र घोषणापछि थप ७२९ वर्ग किमीमा फैलिएको छ ।
चितवन, पर्सा, मकवानपुर र नवलपुरसम्म फैलिएको सो निकुञ्ज विशेष पर्यावरणीय विविधताका कारण एकसिङ्गे गैँडा र पाटेबाघ जस्ता दुर्लभ वन्यजन्तुको सुरक्षित बासस्थानसमेत मानिन्छ ।
सशस्त्र द्वन्द्व, कोरोना महामारी तथा मध्यवर्ती क्षेत्रको अतिक्रमणसँगै बढ्दो चोरीसिकारीका कारण झन्डै लोपोन्मुख अवस्थामा पुगेका जनावर संरक्षणका लागि सरकारको नीतिबमोजिम नेपाली सेना तैनाथ गरिएको छ । तैनाथ सेनाले चोरी तस्करमा संलग्नको पहिचान, सूचना प्रणालीको व्यवस्थापन तथा नियमित गस्ती तथा निगरानी बढाउँदै लगेका कारण पछिल्लो समय चोरीसिकारी कम हुँदै गइरहेको संरक्षणकर्मीको भनाइ छ । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुङ्गानाले मध्यवर्ती क्षेत्रका बसोबास गर्नेको जीवनस्तर उकास्ने गरी भएका विभिन्न प्रयास, प्रभावकारी जनचेतनासँगै नेपाली सेनाको कुशल सुरक्षा व्यवस्थापनका कारण चोरीसिकारी नियन्त्रण सम्भव भएको बताउनुभयो ।
‘अपरेसन संरक्षण’ बढ्यो, बढे वन्यजन्तु
अपरेसन संरक्षण सुरु हुनुअघि चितवन राष्ट्रिय निकुञ्जमा एकसिङ्गे गैँडाको सङ्ख्या ४६६ रहेकामा पछिल्लो १२ वर्षमा यसको सङ्ख्या वृद्धि भई झन्डै छ सय पुगेको छ । त्यसै गरी सन् २००० मा ६० वटा बाघ रहेकामा यसको सङ्ख्या वृद्धि भई १२८ पुगेको छ । त्यसै गरी जङ्गली हात्तीको सङ्ख्या वृद्धि भई झन्डै ५०, गौरीगाईको सङ्ख्या ३८८ र लोप भएको भनिएको सोंस (डल्फिन) तीन वटा फेला परेका छन् ।
वन्यजन्तुसँगै विभिन्न प्रकारका पन्छीको वृद्धिसँगै निकुञ्ज भ्रमण गर्ने आन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएको छ । निकुञ्जबाट प्राप्त तथ्याङ्क अनुसार आ.व. २०८१/८२ को नौ महिनामा मात्र एक लाख ८२ हजार २२७ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । निकुञ्जको व्यवस्थापन तथा प्रभावकारी सुरक्षाका कारण वन्यजतु तथा पशुपन्छीको सङ्ख्यामा उल्लेख्य वृद्धिसँगै सुरक्षा र व्यवस्थापनको चुनौती बढ्दो छ । बढ्दो बसाइँसराइका कारण तराई क्षेत्रका वनजङ्गलको अतिक्रमण रोकिएको छैन ।
निकुञ्ज सुरक्षार्थ आवश्यक प्रविधिसहितको जनशक्तिको साङ्गठनिक क्षमता अभिवृद्धि, पूर्वाधारको विकास, प्रभावकारी सूचनाको पहुँच विस्तारमा राज्यले समयमै ध्यान दिन नसके संरक्षित चोरी तस्करी फेरि बढ्ने पो हो कि भन्ने चिन्ता आमसरोकारवाला निकायमा छ ।
नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले निकुञ्जको सुरक्षाका लागि जस्तोसुकै कठिन परिस्थितिमा पनि सेना निरन्तर तैनाथ रहने बताउनुभयो । केसीले भन्नुभयो, “देशभरका १२ वटा राष्ट्रिय निकुञ्ज तथा एक संरक्षित क्षेत्र तथा एक सिकार आरक्षणका लागि सरकारले दिएको जिम्मेवारी जस्तोसुकै कठिन परिस्थितिमा पनि पूरा गर्दै छौँ ।” उहाँले स्रोतसाधन कमी निकुञ्ज तथा सैनिक युनिटमा क्रमशः अभिवृद्धि गर्दै लगिने बताउनुभयो ।
चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ हाल नेपाली सेनाको नयाँ गोरख गण तैनाथ गरिएको छ । जसमध्ये अमलटारी, मेघौली, सौराह प्यारीधारलगायतका स्थानमा ६० वटा प्रशासनिक तथा अपरेसन पोस्ट स्थापना गरी दैनिक करिब नौ सय सैनिकलाई गस्तीमा खटाइएको छ । निकुञ्ज प्रशासन र सेनाबिच प्रभावकारी सूचना आदानप्रदानका लागि संयुक्त अपरेसन कक्ष स्थापना गरी सूचना तथा खबरको आदानप्रदान गरिएको छ । निकुञ्जको सुरक्षाका लागि निर्धारित गस्ती, सवारी गस्तीको संयुक्त अनुगमन, सिसी क्यामरा तथा चोरीसिकारीको रेकर्ड राख्ने स्प्रे क्यामराबाट पनि अनुगमन गरिँदै आएको छ ।
यसबाहेक लिङ्क अप पट्रोल, साइकल, मोटरसाइकल तथा सवारी गस्ती त्यसै गरी हात्ती डुङ्गा पट्रोल, स्विप तथा कोभर्ड अपरेसन तथा चेक प्वाइन्टमार्फत कडा निगरानी गरिएको छ । दैनिक अपरेसनल अन्तर्गत पैदल, साइकल, तथा बाइकमार्फत दैनिक पाँच सय किमी गस्ती गरिँदै आएको छ ।
पछिल्लो एक वर्षमा जम्मा ८४ हजार ६०६ पट्रोलमार्फत तीन लाख ५२ हजार ८० जना सैनिकले १० लाख ९६ हजार ९५२ किमी गस्ती गरेका छन् । निकुञ्ज सुरक्षालाई थप प्रभावकारी बनाउन रियल टाइम स्मार्ट फोन, सिसी क्यामरालगायत ड्रोन क्यामरा तथा टावरमा जडित लामो दुरीका क्यामरा जडान गरिएको छ । निकुञ्ज भ्रमण गर्ने पर्यटकका सवारीको निगरानी गर्न भिटिआरएस जडान गरिएको सेनाले जनाएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।