२०८२ बैशाख २७ शनिबार

खरबुजा बेच्न चटारो

धनगढी, वैशाख २७ गते । नदीआसपास बसोबास गर्ने कैलालीका किसानलाई खरबुजा बिक्री गर्न भ्याइनभ्याइ भएको छ । उत्पादन राम्रो भएपछि किसानलाई खरबुजा बिक्रीको चटारो भएको हो । धनगढी उपमहानगरपालिकाभित्रका किसानले धनगढी बजारमा पुर्‍याएर आफ्नो उत्पादन बिक्री गरिरहेका छन् । वैशाख दोस्रो साताबाट खरबुजा पाक्न सुरु भएकाले बिक्री गर्न दौडधुप बढेको धनगढी उपमहानगरपालिका–९, बङ्गरा कटानका कृषक सियाराम चौधरीले बताउनुभयो ।

“साँझ बारीबाट टिपेर खरबुजा ल्याउने र भोलिपल्ट बिहानैदेखि बयलगाडामा राखेर बजारमा बिक्री गर्ने गरेको छु,” उहाँले भन्नुभयो, “दैनिक एक बयलगाडा खरबुजा बेच्ने काम भइरहेको छ ।”

कृषक चौधरीले मोहना नदी बगरमा यस वर्ष सात कट्ठा जमिनमा व्यावसायिक खरबुजा खेती गर्नुभएको छ । विगत सात वर्षदेखि खरबुजा खेती गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

किसानले मोहनासहित खुटिया, शिवगङ्गा नदी बगरमा खरबुजा खेती गरेका छन् । यस वर्ष सबैभन्दा बढी धनगढी उपमहानगरपालिका–१७ को पथरी, धुरझन्नास्थित खुटिया नदीमा खरबुजा खेती भएको जनाइएको छ । त्यस्तै मोहना नदी बगरको बङ्गरा कटान, घुइँयाघाट, जुगेडा क्षेत्रमा पनि धेरथोर किसानले व्यावसायिक खरबुजा खेती गरेका छन् ।

सबै क्षेत्रका किसानको खरबुजा बिक्रीको केन्द्र धनगढी बजार बनेको छ । उनीहरू बयलगाडामा राखेर टोल टोल डुल्दै आफ्नो उत्पादन बिक्री गरिरहेका छन् । विगत वर्षदेखि करिब १७ कट्ठा जमिनमा खरबुजा खेती गर्दै आएका पथरीका हरिराम चौधरीले हरेक दिन धनगढी बजार पुगेर खरबुजा बिक्री गर्ने गरेको जानकारी दिनुभयो । गाउँका धेरै किसान आफ्नो उत्पादन बयलगाडामा लिएर बिहानै धनगढी बजार पुग्ने गरेको उहाँको भनाइ छ ।

सुरुमा उत्पादन कम भएको बेला प्रतिकेजी ५० रुपियाँसम्ममा बिक्री भएको खरबुजा धनगढी बजारमा अहिले प्रतिकेजी ३० रुपियाँमा बिक्री भइरहेको छ । किसानको उत्पादन बढेपछि खरबुजाको मूल्य घटेको हो । प्रत्येक दिन एक किसानले तीनदेखि छ हजारसम्मको खरबुजा बिक्री गरिरहेका बताइएको छ । बारीमा पाके अनुसार कुनै दिन एक/दुई क्विन्टलभन्दा बढी कुनै दिन त्योभन्दा कम खरबुजा बिक्रीका लागि ल्याउने गरेको उनीहरूको भनाइ छ ।

खरबुजा बिक्री गरेर धान खेतीका लागि कृषि बिउबिजन जोहो गर्न र परिवारको खर्च धान्न सजिलो हुने गरेको कृषक सियारामले बताउनुभयो । “यो काममा मेहनत पनि बढी छ, फाइदा पनि छ,” उहाँले भन्नुभयो, “घाममा बयलगाडा डुलाउँदै खरबुजा बिक्री गर्नु पर्छ ।”

खरबुजा गर्मीयाममा खानका लागि फलदायी मानिन्छ । यहाँका नदी बगरमा थारू समुदायका व्यक्तिसहित भारतीयले पनि व्यावसायिक खरबुजा खेती गर्दै आएका छन् ।गोरखापत्र अनलाइन

 

२०८२ बैशाख २७, शनिबार प्रकाशित 1 Minute 6 Views

ताजा समाचार