२०८३ असार ११ बिहीबार

आफ्नै छोरीमाथि बलात्कार र नवजात शिशुको हत्या आरोपमा पिता पक्राउ

भद्रपुर । झापामा आफ्नै छोरीमाथि जबरजस्ती करणी गरेको तथा जन्मिएको नवजात शिशुको हत्या गरेको आरोपमा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय झापाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार वैशाख २ गते एक खाली जमिनमा नवजात शिशुको शव गाडिएको अवस्थामा फेला परेपछि घटनाबारे अनुसन्धान सुरु गरिएको थियो। इलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा पीडित किशोरी (परिवर्तित नाम K.1) लाई आफ्नै बुबाले जबरजस्ती करणी गरेको र त्यसबाट जन्मिएको शिशुको शव बुबाकै सल्लाहमा गाडिएको प्रारम्भिक बयान दिएको जनाएको छ।

घटनापछि आरोपित व्यक्ति फरार रहेका थिए। प्रहरीले नवजात शिशु कर्तव्य ज्यान तथा हाडनाता करणी सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी अदालतबाट पक्राउ अनुमति लिएको थियो।

प्राविधिक अनुसन्धानका क्रममा आरोपित रोल्पामा लुकीछिपी बसेको खुलेपछि त्यहाँको प्रहरीसँग समन्वय गरी खोजी कार्य अघि बढाइएको थियो। तर उनी विभिन्न स्थानमा भाग्दै लुकिरहेको अवस्थामा विशेष सूचनाका आधारमा असार ३ गते इलामको सूर्योदय नगरपालिका–१० फिक्कल बजारस्थित एक होटलबाट पक्राउ परेका हुन्।

प्रहरीका अनुसार आरोपित आफ्नै छोरी (परिवर्तित नाम K.1) सँग होटलमा बसिरहेको अवस्थामा फेला परेका थिए। उनलाई असार ४ गते झापा ल्याई अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।

पीडित किशोरीलाई हाल काँकरभिट्टास्थित आफन्त नेपालको संरक्षणमा राखिएको प्रहरीले जनाएको छ।

२०८३ असार ११, बिहीबार प्रकाशित 1 Minute 16 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार