२०८३ असार ७ आईतवार

नेपालको चिया निकासीमा देखिएका समस्या र निकासका उपायहरू

– रामप्रसाद रेग्मी

नेपालबाट भारतमा निकासी भइरहेको चिया अहिले भारतले प्रत्येक ‘कन्साइनमेन्ट’ को परीक्षण गर्नुपर्ने नयाँ व्यवस्था गरेपछि केही समयदेखि प्रायः ठप्प छ। सिजनमा उत्पादित चिया समयमै निकासी गर्न नसकेका कारण हाल इलाम र झापाका चिया बगान तथा उद्योगहरू पनि बन्द हुन थालेका छन्।

नेपालबाट भारतमा निकासी हुने कुनै पनि मालवस्तुको निकासी परिमाण बढ्न थालेपछि त्यसमा भारतकै तर्फबाट कुनै न कुनै समस्या आएर समयक्रममा त्यो रोकिन वा बन्द हुन पुगेको हाम्रो विगतदेखिको इतिहास हो।

घिउ, तेल, फलाम वा स्टिलजन्य वस्तु, सुपारी, प्लाइउडदेखि अहिले चियाको निकासीमा समेत यही प्रवृत्ति देखापरेको छ। आखिर बारम्बार भारतकै तर्फबाट नेपालको निकासीमा यस्तो किन हुन्छ? सोही सन्दर्भमा हाल चियाको निकासीमा देखिएको समस्या र गर्नुपर्ने कार्यहरूको बारेमा यहाँ चर्चा गर्ने जमर्को गरिएको छ।

पृष्ठभूमि

नेपाल-भारत बीचमा १७५१ किलोमिटरभन्दा बढी खुला सिमाना छ। यो सिमानामा जहाँसुकै वा जुनसुकै ठाउँबाट पनि दुवै देशका नागरिक जुनसुकै बाटो एक-अर्को देशमा ओहोरदोहोर गर्न पाउँछन्। अझ परम्परादेखि जातिपाती, धार्मिक संस्कार, खेतीपाती र ‘रोटी-बेटी’ भनिने नाता सम्बन्धका कारण जुनसुकै ठाउँबाट पनि जोसुकै एक-अर्को देशमा जान रोकटोक छैन। तोकिएका सीमित स्थानमा रहेका हाम्रा भन्सार कार्यालय र सुरक्षा निकायहरूले भित्री मनदेखि चाहना राख्दा पनि खुला सिमानाबाट हुने आवतजावत र त्यहाँबाट हुने घरायसी मालवस्तुको आयात-निर्यात नियन्त्रणको सम्भावना नै छैन।

अझ नेपालको तीनतिर सहज सीमा जोडिएको भारतको जनसङ्ख्या हाम्रो आन्तरिक उत्पादनको ठुलो बजार पनि हो। यस अर्थमा यसमा केही समस्या आउनासाथ हाम्रो उत्पादन र निकासीमा असर पर्नु स्वाभाविक पनि हो।

त्यसैले विगतदेखि नै हाम्रा केही निकासीमूलक उत्पादनहरू सबभन्दा पहिले भारत र त्यहाँको मागलाई नै लक्ष्य गरेर उत्पादन गरिन्छ। एक किसिमले भन्दा हाम्रा धेरै व्यवसायीहरूलाई भारतबाहेक नेपालमा उत्पादित वस्तुको निकासीको बजार तेस्रो मुलुक पनि हुन सक्छ भन्ने नै थाहा छैन भन्दा फरक नपर्ला।

त्यसैले हाम्रा उत्पादनहरू हाम्रो मुलुकमा उत्पादन गर्दा त्यसको बजार विस्तारमा रहेका अन्य सम्भाव्यता र पछि हुने छिमेकी देशको सामान्य नीतिगत परिवर्तन समेत आकलन नै नगरी सुरु-सुरुमा तत्कालीन व्यवस्थाको फाइदा उठाउँदै बजार पाउनासाथ हामी त्यही वस्तुमा केन्द्रित भएर उत्पादन बढाउँछौँ। यसैकारण पनि कुनै वस्तुको निर्यातमा सामान्य समस्या आउनासाथ हाम्रो निकासीमा ठुलो असर पर्दछ।

हाम्रो घिउ-तेल निकासीमा भारतले प्रदान गरेको ‘साफ्टा’ सुविधा हटाउने वा अरू मुलुकबाट आयातमा समेत महसुल घटाई साफ्टा सरहमात्र महसुल कायम गर्दा यसमा समस्या देखिन्छ। फलाम वा स्टिलजन्य वस्तुमा कच्चा पदार्थ समेत भारतीय गुणस्तर अनुरूप प्रयोग गर्नुपर्ने प्रावधान आउनासाथ हाम्रा जस्तापाता, फलाम र स्टिलका भाँडाको निकासी बन्दजस्तै हुन पुगेको छ।

सुपारी कुन मुलुकको उत्पादन हो भनेर ‘जेनेटिक’ परीक्षण गरेर मात्र निकासी गर्नुपर्ने हाम्रै संसदीय समितिको निर्देशन पालना गर्न सक्षम प्रयोगशाला नेपालमा नभएकाले हामी आफैँले निकासी बन्द गरेका छौँ। प्लाइउडमा भारतले लागू गरेको गुणस्तर मापदण्ड पूरा गर्न नसक्दा समय-समयमा समस्या देखिन थालिसकेको छ।

विगतमा एउटा परीक्षण रिपोर्टबाट महिनौँ दिनसम्म निकासी गर्न सकिने प्रावधानमा अहिले हरेक कन्साइनमेन्टको छुट्टै रिपोर्ट चाहिने व्यवस्था गरेपछि चियाको निकासीमा अहिले समस्या देखिएको छ। भारतले यही व्यवस्था निरन्तर कायम राखेमा नेपालको सिटीसी चिया भारत निकासी हुन प्रायः असम्भव छ।

चिया निकासीमा देखिएको समस्या के हो ?

नेपाल-भारत दुवै मुलुक विश्व व्यापार सङ्गठनका सदस्य राष्ट्रहरू हुन्। त्यसैले छुट्टै सम्झौता भएको देखि बाहेक क्वारेन्टाइन र गुणस्तर आदि परीक्षणका नाममा मात्र एक-अर्को देशको मालवस्तु आयातलाई नियन्त्रण गर्न सकिन्छ। आफ्नो देशको उत्पादन संरक्षण गर्न कानुन बमोजिम ‘गैर-भन्सार अवरोध’ का रूपमा चिनिने सक्षम प्रयोगशाला स्थापनामा अहिले विश्वका प्रायः धेरै मुलुकहरूको ध्यान केन्द्रित छ।

विषादी भएको, मानव स्वास्थ्यलाई असर गर्ने र आन्तरिक रूपमा तोकिएको गुणस्तरभन्दा फरक गुणस्तरको मालवस्तु आयात गर्न दिन कुनै पनि राष्ट्र बाध्य हुँदैन। त्यसैले यस्ता मालवस्तुको निगरानी र नियन्त्रणका लागि अन्तर्राष्ट्रिय रूपमा प्रमाणका रूपमा आवश्यक पर्दा पेस गर्न सक्ने सक्षम प्रयोगशाला तथा नियन्त्रण र निगरानी निकायहरू देशभित्र स्थापना गर्न सक्नुपर्छ। र, त्यस्ता संस्थाहरूले अन्तर्राष्ट्रिय मान्यता पनि प्राप्त गर्नुपर्दछ।

नेपालको चिया भारत निकासीमा अहिले देखिएको समस्यालाई पनि यसै रूपमा लिनुपर्ने हुन्छ। भारतको दार्जिलिङ, सिलिगुडी लगायत बङ्गाल र नेपालको झापा, इलाम लगायतमा समान हावापानी भएकाले दुवैतर्फ समान रूपले समान प्रकृतिको चिया खेती गरिन्छ। दार्जिलिङ चियाले अन्तर्राष्ट्रिय क्षेत्रमा धेरै बजार बनाएको छ।

यथार्थमा नेपालको सो क्षेत्रमा उत्पादित चिया पनि प्रायः ‘लोकल’ रूपमा भारत निकासी भएर बन्ने दार्जिलिङ चिया नै हो। अन्ततः त्यही ब्रान्डमा अझ भारतको गुणस्तरहीन चिया मिसावट भएर राम्रो प्याकेजिङ भएपछि फेरि तेस्रो मुलुकमा निकासी हुन्छ।

हाम्रो समस्या भनेको हाम्रा केही अर्थोडक्स चिया बनाउने उद्योगहरू बाहेक प्रायः सिटीसी चिया बनाउने व्यवसायीहरूले तेस्रो मुलुकमा चिया निकासी हुन्छ भन्ने सोच्न, बजार खोज्न र आन्तरिक रूपले नेपाललाई चिनाउने छुट्टै चियाको ब्रान्ड बनाउन समेत सकेका देखिँदैनन्। त्यसैले हाम्रो चियाको निकासीका लागि भारतकै बजारमा भर पर्नुपर्ने अहिलेको हाम्रो बाध्यता हो।

भारतीय चिया उद्यमीहरूले आफ्नो चियाको मूल्य बढी पाउन कोसिस गर्नु स्वाभाविक हो। त्यसैले त्यहाँका चिया उद्यमीहरूले प्रायः हरेक सिजनका बेला नेपाली चियाको भारतमा हुने निकासीमा बाधा वा अवरोध सिर्जना गर्न हरसम्भव कोसिस गर्छन्।

मुख्य सिजनमा नेपालको चियामा रसायन मिसाएको वा चिया खेतीमा अत्यधिक विषादी प्रयोग गरेको हल्ला गरेर भारतीय टी-बोर्ड समक्ष उजुरबाजुर तथा डेलिगेसन जानु हरेक सिजनमा उनीहरूको नियमित काम हो। जसबाट केही समय मात्रै नेपालको चियाको भारत निकासी रोकिँदा उनीहरूले आफ्नो उत्पादन महँगो मूल्यमा बेच्न सक्ने र केही समयपछि नेपालको चियाको मूल्य घटाई सस्तो मूल्यमा आफैँले आयात गर्ने वा लिन सक्दछन्।

त्यसैले हरेक चिया उत्पादनको नयाँ सिजन सुरु हुनासाथ प्रत्येक कन्साइनमेन्टको अलग परीक्षण गर्नुपर्ने नयाँ नियम प्रायः विगतदेखि नै हुँदै आएको हो। केही समयको समस्यापछि राजनीतिक वा कूटनीतिक पहलबाट छोटो समयमा यो समस्या समाधान हुने गरेको हाम्रो विगतको अनुभव छ।

तर, यसपालि भने अलि लामो समय रोकिएको छ। नियमतः नेपालका क्वारेन्टाइनहरूले हरेक कन्साइनमेन्टको पटकैपिच्छे परीक्षण गरेर प्रमाणपत्र जारी गरेजस्तै त्यहाँ पनि त्यसै गर्नुपर्ने कुरालाई भन्सार जाँचपासको अन्तर्राष्ट्रिय प्रचलन र कानुन अनुसार अन्यथा भन्न मिल्दैन।

तर, हाम्रै अनुकूल रहेर हामीले अहिले निकासी गरिरहेको चिया विगतमा सिजनमा एकचोटि भारतको टी-बोर्डले मान्यता दिएको प्रयोगशालाबाट निकासीका लागि परीक्षण गरेपछि त्यही प्रमाणपत्रका आधारमा ६ महिनासम्म निकासी गर्न पाइने हाम्रो प्रचलनमा अहिले परिवर्तन भएको छ।

अहिले भारतीय उद्यमीको दबाबमा त्यहाँको टी-बोर्डले नेपालका प्रयोगशाला वा क्वारेन्टाइनले गरेजस्तै प्रत्येक कन्साइनमेन्टको परीक्षण गराउन थालेको छ। फरक त्यति हो- नेपालका क्वारेन्टाइनहरूबाट त्यस्तै परे मालवस्तु पारिबाट चलान हुनुभन्दा पहिले नै, कार्यालयमा कोही प्राविधिक कर्मचारी नभएको समयमा समेत परीक्षण प्रतिवेदन बनिसकेको हुन्छ। तर, भारतमा कुनै पनि मालवस्तुको नियम बमोजिम नमूना निकालेर तोकिएको समयसम्म ल्याबमा राखेर सबै पक्ष हेरेपछि मात्र परीक्षण प्रतिवेदन तयार हुन्छ।

यसलाई देशहरूले आफ्नो आन्तरिक उत्पादनको संरक्षण गर्न अपनाउने ‘गैर-भन्सार अवरोध’ भए पनि कानुनी रूपमा हामीले भारतबाट आएका हरेक फलफूल तथा कृषि उपजहरूको लटैपिच्छे नमूना लिएर परीक्षण प्रतिवेदन जारी गरिरहेको सन्दर्भमा अन्यथा भन्न मिल्दै-मिल्दैन।

यही लटैपिच्छे परीक्षण गराउँदा हाम्रो चिया अहिले भारतको भन्सारमा गएर घोषणा भएपछि मात्र नियम बमोजिम नमुना सङ्कलन गरेर परीक्षणका लागि प्रयोगशालामा पठाउने र प्रयोगशालाबाट प्रतिवेदन प्राप्त भएपछि मात्र जाँचपास गर्न थालिएको हो। यसबाट विगतको तुलनामा समय र लागत बढ्ने र भारतीय भन्सारमा धेरै दिन मालवस्तु रोकेर राख्नुपर्दा गुणस्तर समेत खस्किने देखिएको छ। अहिले नेपालको चिया निकासीमा देखिएको समस्या नै यही हो।

समस्या समाधानका लागि गर्नुपर्ने कार्यहरू

समस्यासँगै समाधानका उपायहरू पनि हुन्छन्। त्यस्ता उपायहरू नअपनाई समस्यासँग भाग्ने हो भने कुनै पनि समस्या कहिल्यै समाधान हुँदैन। अहिलेको चिया निकासीमा देखिएको समस्यालाई पनि त्यही रूपमा लिएर अन्य सम्भावना र अवसरहरू पहिल्याउनुपर्दछ। त्यसैले हाम्रा उद्योगहरू बन्द गर्नुभन्दा तत्काल समस्या समाधानको पहल गरी दीर्घकालीन उपायहरू खोजी तथा अवलम्बन गर्नु उपयुक्त देखिन्छ।

१. हाल चिया निकासीमा तत्काल हाम्रा उत्पादनहरू निकासी हुन नसक्दा त्यसै खेर जाने र उद्योग बन्द भई रोजगारीमा समेत असर पर्ने हुँदा उच्च स्तरको राजनीतिक तथा कूटनीतिक प्रयास गरेर तत्कालका लागि पुरानै व्यवस्था कायम गर्न प्रयास गर्नुपर्दछ। भारतको केही चिया बिक्री भइसकेपछि यस्ता पहलबाट हाम्रो निकासी पहिले जस्तै सुचारु हुने विगतका घटना हेर्दा अनुमान गर्न सकिन्छ। तसर्थ, हाम्रा उद्योगहरूले पूर्ववत् निकासी सुरु नहुन्जेल उत्पादन बन्द नगरी उचित भण्डारणको व्यवस्था गर्नु उपयुक्त देखिन्छ।

२. दीर्घकालका लागि नेपाली चियाको आफ्नै ब्रान्डिङ गरी भारतको बजारको मात्र भर नपरी सोझै तेस्रो मुलुक निकासी गर्न पहल गर्नुपर्ने आवश्यकता देखिन्छ। केही अर्थोडक्स उत्पादकहरूले यो सुरु गरिसक्नुभएको छ। अब सिटीसी उत्पादकहरूले पनि निकासी प्रवर्द्धन केन्द्रको समन्वयमा भारतबाहेक अन्य मुलुकमा निकासी सुरु गर्नुपर्दछ। अहिले पनि नेपालबाट कौडीको भाउमा भारत जाने अधिकांश चिया आकर्षक प्याकिङ गरेर ‘दार्जिलिङ चिया’ बनाई डलरमा अन्य मुलुकमा नै पठाइन्छ। त्यो कार्य हामी आफैँले अब गर्न सक्नुपर्दछ।

३. हाम्रा क्वारेन्टाइन र प्रयोगशालाहरूलाई अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त प्रयोगशाला बनाउन सक्नुपर्दछ। जसबाट नेपालको प्रयोगशाला प्रतिवेदनलाई सितिमिति अन्य कुनै विदेशी राष्ट्रले समेत अस्वीकार गर्न नसकोस्। त्यसबाट निकासी गर्नुपर्ने चिया मात्र हैन, हाम्रा आन्तरिक उत्पादन र कृषि उपजहरूको निकासीमा कसैले सामान्य रूपले असर पुर्‍याउन सक्दैन।

यिनै विषयहरूमा ध्यान पुर्‍याएर सोही अनुसार आवश्यक तत्कालीन तथा दीर्घकालीन कदमहरू चाल्नु नै अहिलेको चिया निकासीमा देखिएको समस्या समाधानका लागि गर्नुपर्ने मुख्य कार्यहरू हुन्। यसतर्फ सम्बन्धित सबैको समयमै ध्यान पुगोस्।

– नेपालप्रेसबाट

२०८३ असार ७, आईतवार प्रकाशित 1 Minute 50 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार