२०८३ असार १३ शनिबार

 विश्वकप फुटबल : ‘अन्तिम–३२’ले पूर्णता पाउँदै 

अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप २०२६ को आधाभन्दा बढी खेल सकिएका छन्।

विश्वकपका १ सय ४ मध्ये अहिलेसम्म ६० खेल सकिएका हुन्। समूह चरणको अन्तिम खेल जारी रहँदा नकआउटमा पुग्नका लागि टोलीहरुबीच रोमाञ्चक स्पर्धा भइरहेको छ। आइतबार बिहानसम्म समूह चरणका खेल सकिनेछन्। 

सोमबारबाट नकआउट चरणका खेल सुरु हुनेछन्। शुक्रबार बिहान समूह ‘एफ’सम्मको खेल सकिएको छ। अब ६ समूहले खेल्न बाँकी छ। यी समूहबाट नकआउटमा भिड्ने आठ टोलीको टुंगो लागिसकेको छ। 

नकआउटमा विश्वकप आयोजक क्यानडाले दक्षिण अफ्रिकासँग भिड्नेछ। क्यानडा समूह ‘बी’ र दक्षिण अफ्रिका समूह ‘ए’को उपविजेता बन्दै अन्तिम ३२ मा पुगेका हुन्। अर्को खेलमा नेदरल्यान्ड्स र मोरोक्को खेल्नेछन्। डच टोली समूह ‘एफ’को विजेता र मोरोक्को समूह ‘सी’को उपविजेता बन्दै नकआउट पुगे। यी दुई खेलको विजेताले अन्तिम १६ मा भेट गर्नेछन्। 

अर्को विश्वकप आयोजक टोली अमेरिकाले बोस्निया एन्ड हर्जगोभिनासँग नकआउटमा खेल्नेछ। अमेरिका समूह ‘डी’को विजेता र बोस्निया एन्ड हर्जगोभिना समूह ‘बी’बाट तेस्रो स्थानमा रहेर नकआउट पुगेको हो।

समूह ‘सी’को विजेता बन्दै नकआउट पुगेको पाँच पटकको च्याम्पियन ब्राजिलले भने जापानसँग खेल्नेछ। जापान समूह ‘एफ’को उपविजेताको रुपमा नकआउट पुगेको हो। नकआउटका खेलहरु सोमबारदेखि सुरु हुनेछ। 

अब नकआउटमा भिड्ने १८ टोलीको टुंगो लाग्न बाँकी छ। यसअघि नै जर्मनी, आइभरी कोस्ट, मेक्सिको, अर्जेन्टिना, अष्ट्रेलिया र स्विट्जरल्यान्ड नकआउटमा पुगिसकेका छन्। 

१२ समूहका शीर्ष २ सँगै तेस्रो स्थानमा रहने उत्कृष्ट ८ टोली नकआउटमा पुग्नेछन्। उत्कृष्ट तेस्रो स्थानमा रहेर अहिलेसम्म स्विडेन, इक्वेडर र बोस्निया एन्ड हर्जगोभिना नकआउट पुगे। 

समान ४ अंक भएको बोस्निया एन्ड हर्जगोभिना समूह ‘बी’, इक्वेडर समूह ‘ई’ र स्विडेन समूह ‘एफ’को तेसो स्थानमा रहे पनि उत्कृष्ट बन्दै नकआउट पुगेका हुन्। अब उत्कृष्ट तेस्रो बन्न सके ५ टोलीले नकआउट खेल्नेछन्। 

जर्मनीविरुद्ध इक्वेडरको सनसनीपूर्ण जित, समूह विजेता बन्ने दाउमा स्पेन र उरूग्वे
समूह ‘ई’को खेलमा क्युरसाउ आइभरी कोस्टसँग २–० ले पराजित हुँदा जर्मनीले इक्वेडरसँग २–१ ले खेल गुमायो। 

नेदरल्यान्ड्सले ट्युनिसियालाई ३–१ ले हराउँदै समूहकै अर्को खेलमा जापान र स्विडेनले १–१ को बराबरी गर्दै अंक बाँडे। 

समूह ‘डी’मा विश्वकप आयोजक अमेरिका टर्कीसँग ३–२ ले पराजित हुँदा पाराग्वे र अस्टे«लियाले भने गोलरहित बराबरी खेल्दै अंक बाँडे। 

समूह चरणका शुक्रबार राति र शनिबार बिहान समूह ‘जी’, ‘एच’ र ‘आई’को खेल हुनेछ। समूह ‘जी’को खेलमा न्युजिल्यान्ड र बेल्जियम तथा इजिप्ट र इरान शनिबार बिहान पौने ९ बजे खेल्नेछन्। 

समूह ‘एच’को खेलमा केप भर्डे र साउदी अरेबिया तथा उरुग्वे र स्पेन भिड्नेछन्। यो खेल शनिबार बिहान पौने ६ बजे सुरु हुनेछ। 

शुक्रबार राति पौने १ बजे समूह ‘आई’को नर्वे र फ्रान्स तथा सेनेगल र इराक भिड्नेछन्। 

गएराति र बिहान हुने खेलमा समूह ‘आई’को नर्वे र फ्रान्स तथा समूह ‘एच’को उरुग्वे र स्पेनको खेल रोमाञ्चक हुने अनुमान छ। 

समूह चरणमा अपराजित रहेको स्पेन उरुग्वेलाई हराउँदै समूह विजेता बन्ने दाउमा छ। दुई खेलमा बराबरी गरेको उरुग्वे स्पेनलाई रोक्दै शीर्ष स्थानमा उक्लिने योजनामा छ। 

अर्को समूहमा अपराजित रहेका फ्रान्स र नर्वे दुवै टोलीको नजर शीर्ष स्थानमा रहने हुनेछ। यी दुई टोलीले २ खेलबाट समान ६ अंक जोडेका छन्। 

केलियन एमबाप्पेको कप्तानीमा रहेको साबिक उपविजेता फ्रान्स एर्लिङ हालान्डको नर्वेलाई हराउने लक्ष्यमा हुनेछ। 

यता २८ वर्षपछि विश्वकपमा फर्किएको नर्वेका लागि पहिलो विश्वकप खेलिरहेको एर्लिङ हालान्डको टोलीले पनि सहजै फ्रान्सलाई नतिजा सुम्पनेछैन। 

जारी विश्वकपमा एमबाप्पे र हालान्डले २ खेलमा समान ४ गोल गरेका छन्। गोल्डेन बुटको दौडमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सीलाई पछ्याइरहेका युवा स्टारका लागि आज मध्यरातिको खेल प्रतिष्ठाको लडाइँ समेत हो। 

त्यसैले यी दुई खेलाडी आफ्नो टोलीलाई महत्वपूर्ण अंक दिलाउने प्रयासमा हुनेछन्।

२०८३ असार १२, शुक्रबार प्रकाशित 1 Minute 39 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार