झापा । नेपालमा निर्माणाधीन अधिकांश ठुला आयोजनाहरु विदेशी कम्पनीहरुकै नेतृत्वमा निर्माण हुँदैछन् । त्यसमा पनि नेपालमा चिनियाँ कम्पनीहरुको ठेक्का बढी नै ‘विवादित’ छ । विशेषगरी खानेपानी, हाइड्रो, बहुउपयोगी बिल्डिङ, जलविद्युत्, सञ्चार लगायतका आयोजनामा प्रायः चिनियाँ ठेकेदारहरुकै हैकम देखिन्छ । यसो त चीनले नेपालमा पठाउने अधिकांश सामान ‘कच्चा’ भए पनि निर्माणको कामचाहिँ राम्रो गर्छन् भन्ने थियो केही बर्ष अघिसम्म पनि ।
तर, पछिल्लो समय चिनियाँ कम्पनीहरु ‘काम फत्ते नगरी भाग्ने’ कम्पनीहरुमा अग्रस्थानमा पर्छन् । व्यापार सहजीकरणका लागि महत्वपूणर् मानिएका नेपालका थुप्रै आयोजनाहरु पूरा नहुँदै चिनियाँ ठेकेदारहरु भाग्न थालेपछि चिनियाँ ठेकेदारहरुप्रतिको विश्वास त घट्दै गएको छ नै, यसले देशको समग्र विकासमा पनि असर गरेको छ ।
‘चाइना कम्पनी’का दर्जनौं आयोजनाको अवस्था
नेपालका अधिकांश सडक सञ्जाल विस्तारको जिम्मा चिनियाँ ठेकेदार कम्पनीहरुले पाएका छन् । जसमध्ये काठमाडौं-तराई-मधेश द्रुतमार्गको सुरुङ मार्ग र त्यससँग जोडिने अग्ला पुलहरु, भोटेकोसी जलविद्युत् आयोजना, त्रिशुली थ्री बी जलविद्युत आयोजना, सान्जेन (४२.५ मेगावाट) र माथिल्लो सान्जेन (१४.८ मेगावाट) आयोजना, मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण, तामाकोशी जलविद्युत् परियोजना, चमेलिया जलविद्युत् आयोजना लगायतका दर्जनौं आयोजनाको कार्यसम्पादन चित्तबुझ्दो छैन ।
चिनियाँ कम्पनी सिनोहाइड्रोले मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण कार्यको जिम्मा लिएको थियो । सिनोहाइड्रो चीनको प्रतिष्ठित जलविद्युत् इन्जिनियरिङ तथा निर्माण कम्पनी हो । तर, मेलम्ची सुरुङको अन्तिम काम बाँकी नै छ । जानकारहरूका अनुसार सिनोहाइड्रोको सन्दर्भमा यहाँको अनुभव उत्साहजनक भने देखिँदैन । सिनोहाइड्रोको ट्र्याक रेकर्ड यहाँ त्यति सकारात्मक त देखिँदैन । किनभने उसले हात हालेका आयोजनाहरू समयमा र तोकिएकै लागतमा सकिएका छैनन् ।
यसभन्दा अगाडि पनि चीनियाँ कम्पनीहरुको लापरवाही र ठेकेदारको मनोमानीका कारण आयोजनाहरु अलपत्र परेका थुप्रै उदाहरण देखिएका थिए । यद्यपी नेपालका ठुला भनिएका आयोजनाहरुमा यिनै चिनियाँ कम्पनीहरुको ‘हावी’ बढी छ । चारैतिर एकैपटक काम लिने तर पर्याप्त कामदार नराख्दा आयोजनाको काममा ढिलासुस्ती हुँदै आएको तथ्यका बीच अहिले चिनियाँ ठेकेदारहरुले जानकारीबिनै ‘साइट’ छोड्ने गरेको गुनासो पनि बढ्न थालेको छ ।
त्यस्तै, चीनियाँ कम्पनी जेडटिई कर्पोरेसन र हङकङको सीसीएसआई कम्पनीले ठेक्का पाएको फोरजी विस्तारको परियोजना पनि अलपत्र परेको छ । यी दुई कम्पनीहरुले २०७५ सालमा देशभर नेपाल टेलिकमको फोरजी सेवा १२ महिनामै सक्ने गरी ठेक्का लिएको थियो । तर, सम्झौता भएको यतिका समय बित्दा पनि आयोजनाले पूणर्ता भने पाउन सकेको छैन । यद्यपी समयमा काम नसेकेको र लापरवाही गरेको भन्दै अधिकांश चिनियाँ ठेकेदार कम्पनीहरु कालोसूचीमा समेत परिसकेका छन् ।
निरन्तर मनोमानी
हुनत व्यापारिक क्षेत्रसँगै निर्माण कार्यमा चिनियाँहरुको मनोमानीको उदाहरण प्रसस्तै छन् । तर, ‘हामी नभए केही हुँदैन’ भन्ने शैलीमा चिनियाँ कम्पनी तथा ठेकेदारको मनोमानीले नेपालका आयोजनाहरुको भविष्यमाथि नै प्रश्न चिन्ह खडा गरेको छ । अहिले नेपालका ठुला भनिने अधिकांश आयोजनाहरुमा चिनियाँ ठेकेदारको उपस्थिति बाक्लो छ । यद्यपी ठेकेदारको यस्तो ‘रबैया’ले आयोजनाको सम्पन्नता माथि कडा प्रहार गरेको छ । यसो त कोरोना महामारीका बीचमा नेपालमा कार्यरत चीनका थुप्रै ठेकेदार कम्पनीहरु फिर्ता गए । महामारीको कारण देखाउँदै झण्डै २ वर्ष बढी आयोजनाको काम ‘होल्ड’ गरेका चिनियाँ ठेकेदारहरु अहिले पनि जानकारी बिनै ‘साइट’ छोड्दै हिँड्दै गरेका छन् ।
चिनियाँ ठेकेदारहरुको मनोमानीको यो पहिलो घटना भने होइन । यसभन्दा अगाडि पनि ठेक्का सम्झौता नसकिँदै काम छोडेर भागेका थुप्रै उदाहरणहरु छन् । बेला-बेलामा चिनियाँ ठेकेदारहरु सम्बन्धित निकायलाई जानकारी बिनै सम्पर्कबिहीन हुन्छन् । कहाँ गए ? कहिले आउँछन् ? कसैलाई केही थाहा नै हुँदैन । चिनियाँ ठेकेदार कम्पनीहरुको यही शैलीका कारण नेपालमा निर्माणाधीन धेरै संख्याका ठूला परियोजनाहरु समयमै नसकिने चिन्ता बढ्दै गएको छ । यसले चिनियाँ ठेकेदारप्रतिको विश्वास कम त हुँदै गएको छ नै समग्र निर्माण क्षेत्रमा छवि समेत धमिलो बन्दै गएको छ ।
चिनियाँ ठेकेदार कम्पनीहरुको मनोमानी एउटा आयोजनामा मात्र होइन प्रायः अधिकांशमा उस्तै छ । काममा ढिलासुस्ती गर्नमा ‘माहिर’ रहेका चिनियाँ ठेकेदारहरु पछिल्लो समय त सम्बन्धित ‘साइट’ बाटै सम्पर्कबिहीन हुन थालेका छन् । यसो त नेपालका विभिन्न ठुला आयोजनाहरु निर्माणको जिम्मा चिनियाँ ठेकेदारहरुले पाएका छन् । तर, समयमा काम नसक्दा एकातिर आयोजनाको लागत त बढेको छ नै सम्पन्नताका सवालमा पनि चिन्ता थपिएको छ ।