
फाइल तस्बिर
लक्ष्मण दर्नाल

काठमाडौँ, असार ११ गते । काठमाडौँ उपत्यकाको २७ किलोमिटरको चक्रपथमा सार्वजनिक यातायातलक्षित शौचालय नहुँदा चालक, सहचालक र यात्रु समस्यामा पर्ने गरेका छन् । एक पटक चक्रपथ परिक्रमा गर्न साढे दुईदेखि तीन घण्टा लाग्छ । दिनभरि सवारी चलाउने चालक सहचालक सार्वजनिक शौचालय नहुँदा चिनेको पेट्रोल पम्प वा पुलमुनि जान बाध्य छन् ।
सवारी चलाउँदै गर्दा दिसापिसाब लाग्यो भने आपत् पर्ने गरेको व्यवसायी बताउँछन् । सडकछेउमा शौचालय छैनन् । भएका पनि गाडीको ‘साइड’ नमिल्दा प्रयोग गर्न सक्ने अवस्था छैन । जहाँ पायो त्यही गाडी रोक्न मिल्दैन । त्यसमाथि जाममा परियो भने दिसापिसाब रोकेर बस्नुको विकल्प छैन ।
महानगर यातायातका चालक विनोद धमलाले दिसापिसाब लाग्दा साह्रै समस्यामा पर्ने गरेको बताउनुभयो । धादिङ नीलकण्ठ–११ का धमलाले भन्नुभयो, “कहिलेकाहीँ चिनेको पेट्रोल पम्पमा गइन्छ । त्यहाँ पनि तेल नहाले गाली गर्छन् । सबै पम्पमा तेल हाल्ने कुरा पनि भएन । साइड मिल्यो भने चाबहिलमा छ नत्र बालकुमारी पुलमुनि जान्छौँ ।”
पहिलो कुरा सार्वजनिक शौचालय नै उपलब्ध छैन, भएका पनि प्रयोग गर्न कठिन छ । उहाँको भनाइ छ, “गौशाला तल पार्किङछेउमा शौचालय छ तर हामी त्यहाँ गएर आउन्जेल ट्राफिकले चिट काटिसक्छन् । जाने सम्भावनै हुँदैन । जामले गर्दा गाडी छोडेर जान सकिन्न । कुनै निश्चित ठाउँ पनि तोकिएको छैन । पैदलयात्रीलाई जस्तो हामीलाई सजिलो पनि हुँदैन ।”
महानगर जस्तै चक्रपथ परिक्रमा गर्ने गाडी हजारौँ छन् । सबै गाडीका चालक र सहचालक शौचालय नभएकाले समस्या भोगिरहेका छन् । चक्रपथमा मात्रै होइन, काठमाडौँका भित्री सडकमा पनि चालक, सहचालकलाई समस्या पर्ने गरेको छ । कोटेश्वर बालकुमारीबाट छुट्ने नेपाल यातायात नयाँ बानेश्वर, अनामनगर, पुतलीसडक, बालुवाटार, चक्रपथ हुँदै गोपीकृष्ण पुग्छ तर अन्तिम स्टेसनमै उनीहरूको दिसापिसाब हुने गरेको छ, त्यो पनि पुलमुनि ।
नेपाल यातायातका चालक गणेश थापामगर भन्नुहुन्छ, “बालकुमारीबाट छुटेपछि गोपीकृष्णमा गएर हो । बिचमा पिसाब लागे पनि रोकेर जाने हो । गाडी रोकेर शौचालय खोज्दै जान त सम्भवै छैन । गोपीकृष्ण गएपछि पुलमुनि, यसो यताउता जाने त हो ।” आफूहरूको कम्पनी र महानगरपालिकालाई शौचालयका लागि पटक पटक भने पनि सुनुवाइ नभएको चालकको गुनासो छ ।
काठमाडौँ महानगरपालिकाले निजी तथा सामाजिक क्षेत्रसँग समन्वय गरेर सार्वजनिक शौचालय तोकेको छ । सपिङ मल, होटेल, रेस्टुरेन्ट, पार्टी प्यालेस, विद्यालय र बैङ्कहरूको शौचालयलाई सार्वजनिक शौचालय तोकेको छ तर उपत्यकाका सवारीचालकले प्रयोग गर्न सक्ने अवस्था छैन । चक्रपथलाई छोएर बनेका शौचालय कमै छन् । महानगरले नबिल बैङ्क धापासी शाखा र चाबहिल शाखाको शौचालयलाई सार्वजनिक शौचालय तोकेको छ । अस्पतालका शौचालय तोकेको छ । महानगरले तोकेका स्थानका शौचालय सवारीचालकका लागि उपयुक्त नहुँदा समस्या भएको व्यवसायीको भनाइ छ ।
पेट्रोल पम्पका शौचालयलाई पनि सार्वजनिक शौचालय तोकिएको छ । तेल भर्नबाहेक अन्य हिसाबले पम्पमा पनि जान सक्ने अवस्था नरहेको चालक लम्सालले बताउनुभयो । उहाँले भन्नुभयो, “गाडी रोक्यो कि जाम भइहाल्छ ट्राफिकले कारबाही गरिहाल्छ अनि कसरी जानु ।” सवारीचालकका लागि उपयोगी हुने गरी निश्चत स्थान तोकेर चक्रपथमा सार्वजनिक शौचालय हुनुपर्ने यातायात कम्पनीको माग छ । महानगर यातायात प्रालिका सचिव केशव नेपालले भन्नुभयो, “चक्रपथमा सार्वजनिक शौचालय नै छैनन् । भएका पनि चालकले प्रयोग गर्न मिल्ने गरी छैनन् । त्यसैले निश्चित स्थान तोकेर पार्किङको पनि सुविधा भयो भने बल्ल हाम्रा लागि उपयोगी हुन्छ ।”
रत्नपार्क, भृकुटीमण्डप जस्ता सार्वजनिक स्थानमा शौचालय भए पनि उपत्यकाका सवारीचालकले प्रयोग गर्न सक्दैनन् । उनीहरूको रुट अनुसारको सडकमा गाडी रोक्न मिल्ने गरी शौचालय भए सजिलो हुने थापाको भनाइ छ । “पैसा महँगो लिन्छन् । पिसाब फेरेको पाँचदेखि १० रुपियाँ लिन थालेपछि त हाम्रो तलब सकिन्छ, अनि परिवार कसरी पाल्ने ? समस्या पो हुन्छ त,” उहाँले भन्नुभयो ।
महानगरसँग भने चालक, सहचालकले भोगेका समस्यालाई सम्बोधन गर्ने निश्चित योजना छैनन् । हाल विभिन्न स्थानमा जम्मा ४८ स्थानमा सार्वजनिक शौचालय छन् । केही निजी क्षेत्रबाट पनि चलेका महानगरले जनाएको छ । महानगरको सार्वजनिक–निजी साझेदारी एकाइका प्रमुख नरेन्द्रविलास वज्राचार्यले बसपार्कबाहेक सार्वजनिक सवारीलक्षित गरी शौचालय निर्माण नभएको बताउनुभयो । शौचालय त छन्, ट्राफिक व्यवस्थापनका कारणले पनि उनीहरूलाई असहज भएको हुन सक्ने उहाँको भनाइ छ । महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले भन्नुभयो, “महानगरको नीति एक बसपार्कको नीति हो । बसपार्कबाटै उहाँहरू छुट्नु पर्छ तर त्यसो गर्नुहुन्न । चक्रपथलक्षित नयाँ बसपार्कमा शौचालय छ । जहाँ रोक्यो त्यहाँ शौचालय त हुँदैन । चक्रपथको सवालमा चक्रपथ सडकले जग्गा नछुट्याइदिएसम्म हामीले बनाउन पनि मिल्दैन ।”गोरखापत्र दैनिकमा खबर छ ।