२०८२ असार ११ बुधबार

भित्र्याइए शुद्ध नस्लका पङ्गासियस भुरा

फाइल तस्बिर

केशवराज पौडेल

काठमाडौँ, असार ११ गते । सरकारले माछामा बढ्दो आयात प्रतिस्थापन गर्न माछामा उच्च नस्लको विकास योजना अघि सारेको छ । केन्द्रीय मत्स्य प्रवर्धन तथा संरक्षण केन्द्र बालाजुले छिटो बढ्ने र ग्राहकले औधी रुचाएको पङ्गासियस जातको माछाका शुद्ध नस्लका चार हजार भुरा नेपालमा आयात गरेको छ । भुरालाई माउ बनाएर देशभर वितरण गर्ने योजना केन्द्रले अघि सारेको छ ।

केन्द्रको सूचना अधिकारी सुमित्रा लौडारीले सातदेखि नौ महिनामा डेढ किलोसम्म उत्पादन हुने पङ्गासियस माछाको शरीर लामो हुने र कत्ला नहुने भएकाले यसको माग धेरै भएपछि केन्द्रले नेपालमै उत्पादन गर्ने उद्देश्यले भुरा आयात गरेको हो । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) नेपालको प्राविधिक सहयोगमा थाइल्यान्डबाट भुरा भित्र्याइएको उहाँले बताउनुभयो ।

मत्स्य क्षेत्रको उत्पादकत्व वृद्धि गरेर आयात प्रतिस्थापन, मत्स्य उपज उपभोग वृद्धि तथा परिकार विविधीकरणमा सहयोग पुग्ने विश्वास लिएको उहाँले बताउनुभयो ।

पङ्गासियस माछाको माग बढ्दो रहेको तथा बङ्गलादेश र भारतबाट बरफमा संरक्षित माछा अनि भियतनाम तथा थाइल्यान्डबाट पङ्गासियस वासा, फिलेट आयात हुने दर बढ्दो रहेकामा नेपालमै उत्पादन भएपछि त्यसले आयातलाई रोक्ने विश्वास लिइएको उहाँले उल्लेख गर्नुभयो । नेपालमा प्रतिहेक्टर औसत २५ टन पङ्गासियस माछा उत्पादन भइरहेका बेला दिगो उत्पादन प्रणाली र मूल्य शृङ्खला सुधार गर्ने योजनासाथ आगामी वर्षमा यो उत्पादन दोब्बर हुने अनुमान छ । ती माछा भुरा मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्र जनकपुरमा राख्ने र २०–५० ग्रामको तौलमा पुगेपछि पिआइटी ट्यागिङ गरी निजी पङ्गासियस ह्याचरी, सङ्घीय तथा प्रादेशिक मत्स्य फार्ममा भावी माउका रूपमा वितरण गरिने योजना छ । गुणस्तरीय भुरा उपलब्धता वृद्धि भई भारत र बङ्गलादेशबाट आयात गर्नुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको उहाँले भन्नुभयो ।

पङ्गासियस माछाको प्रजनन तथा भुरा उत्पादनसम्बन्धी व्यावहारिक ज्ञान, सिप अभिवृद्धि गर्न अधिकृतस्तरीय सातदिने तालिम मत्स्य अनुसन्धान, प्रसार र शिक्षणमा संलग्न २० जनालाई प्राविधिक तालिम दिइएको छ ।गोरखापत्र दैनिकमा खबर छ ।

 

२०८२ असार ११, बुधबार प्रकाशित 1 Minute 8 Views

ताजा समाचार