२०८१ फाल्गुन ६ मंगलवार

लुम्बिनीमा चिनियाँ अतिक्रमण

झापा । विश्वलाई शान्ति र अहिंसाको सन्देश दिने भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा केही समयदेखि अराजक तत्वहरूको गतिविधि बढ्दै गएको छ । शान्तिका दूत भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा अशान्ति, हिंसा, दंगा फैलाउने लगायतका गतिविधि बढ्न थालेको हो ।

लुम्बिनी क्षेत्रलाई अशान्त बनाउन अराजक गतिविधि गर्ने तत्वहरू के-के र कहाँ-कहाँका छन् भन्ने कुराको खोजबिन गर्दै जाँदा हाम्रै छिमेकी मुलुक चीन र पाकिस्तानी कट्टरपन्थीहरूको संलग्नता भेटियो । जो त्यहाँका धर्तीपुत्र अथवा स्थानीयवासी छन्, तिनीहरूसँग बाहिरियाको जस्तो व्यवहार भइरहेको पाइएको छ । वास्तविक लुम्बिनीवासीहरू चिनियाँ-पाकिस्तानी र कट्टरपन्थी मुस्लिमहरूको त्रास, भय र दबाबमा बाँचिरहेका छन् ।

यसरी पीडित छन् स्थानीय
वि.सं. २०३२ सालमा लुम्बिनी विकास क्षेत्रको ११७३ बिघा जग्गा अधिग्रहण गरिएको थियो । जसमा तत्कालीन १४ वटा गाउँ रहेका थिए । कच्ची १ बिघा भएको धनीलाई १००० रुपैयाँ र पक्की एक बिघा भएको धनीलाई ६००० हजारको दरले मुआब्जा वितरण गरिएको थियो । जबकी स्थानीयहरूको भनाई छ कि जुन दातृ निकायले अधिग्रहणको मुआब्जा पठाएको थियो, उसले कच्चीका लागि १ हजार डलर र पक्कीलाई ६ हजार डलर वितरण गर्नका लागि दिएको थियो ।

तर, जग्गाधनीहरूले नेपाली १ हजार र ६ हजारको दरले मात्र पाए । त्यसैमा हरिराम जयसवालको ८ बिघा जग्गा अधिग्रहणमा परेको थियो । उहाँलाई एक हजार नेपालीको दरले मात्र दिइयो । यस्तै, काशीप्रसाद श्रीवास्तवको ५० बिघाभन्दा बढी जग्गा अधिग्रहण भएको छ । उहाँले नेपाली नभई डलरकै हिसावले अर्थात् दातृ निकायबाट पठाइएको दरले नै पाउनुपर्ने भन्दै आन्दोलन गर्दै आए, तर अहिलेसम्म उहाँले मुआब्जा पाउनुभएको छैन । ११७३ बिघा जग्गामध्ये ३० प्रतिशत जग्गाधनीसँग त्यतिमात्रै जग्गा थियो । उहाँहरू आफ्नै देशमा सुकुम्बासी हुन बाध्य भएका छन् । ७० प्रतिशत जग्गाधनी अन्य ठाउँहरूमा बसोवास गरिरहेका छन् ।

लुम्बिनी विकास कोष भनेको लुम्बिनी र त्यहाँका स्थानीयहरूको विकास र समृद्धिका लागि स्थापना भएको हो । लुम्बिनीमा त्यहीँका स्थानीयहरूको पहिलो प्राथमिकता हुनुपर्ने थियो । तर, लुम्बिनी विकास कोषमा त्यहाँका कुनै पनि स्थानीय माथिल्लो पदमा छैनन् । स्थानीयलाई तल्लोस्तरमा मात्रै काम दिएको छ । त्यहाँका स्थानीयहरू लुम्बिनीमा जाँदा गैरनागरिक जस्तो व्यवहार भइरहेको गुनासाहरू छन् ।

स्थानीयहरूसँग पनि बाहिरिया वा विदेशीसरह नै व्यवहार भइरहेको छ । जो वास्तविक बुद्धिस्ट अथवा भिक्षु छन्, उनीहरूले स्थानीयसँग राम्रो व्यवहार गर्छन् । तर, चिनियाँ भिक्षुको नाममा चिनियाँ अतिवादीहरू विभिन्न आपराधिक तथा जासुसी जस्ता गतिविधिहरू गरिरहेका छन् ।

लुम्बिनीमा चिनियाँ गतिविधि
चीन छिमेकी मित्रराष्ट्र भएपनि कहिल्यै पनि नेपालको भलो वा हित हुने काम गरेको देखिँदैन । लुम्बिनीमा नक्कली चिनियाँ बुद्धिष्ट र भिक्षुहरूले स्थानीयसँग हेपाहा प्रवृत्ति गरिरहेका छन् । स्थानीयहरू चिनियाँ नागारिकहरूको भाषा बुझ्दैन, उनीहरूले अपमानजनक व्यवहार गर्दै आएका छन् । लुम्बिनीमा चिनियाँको यस्तो दबदबा छ कि त्यसभित्र स्थानीय बासिन्दाहरू दरबान वा चौकीदारको पदमा मात्रै छन् भने बाँकी उच्च पदस्थहरू सबै बाहिरिया वा चिनियाँ प्रभावका मानिसहरू छन् ।

चिनियाँ नागरिकहरूले बुद्धको जन्मस्थान लुम्बिनीमा आफ्ना गतिविधिहरू तीव्र बनाएका छन् । यद्यपि चीनले बुद्ध धर्मलगायत कुनै पनि धर्मको पालना गर्दैन । जसकारण उनीहरूलाई लुम्बिनीमा ३ ठूला भूखण्डहरू दिइएको छ । जबकी जापान, म्यानमार, श्रीलंका जस्ता अन्य बौद्ध मान्ने देशहरूलाई सरकारले एक/एक भूखण्ड दिएको छ ।

चिनियाँहरूले लुम्बिनीमा उपस्थिति बढाउँदै शान्तिपूणर् तिब्बती बौद्धलाई नियन्त्रण गर्न खोजेको देखिएको जानकारहरू बताउँछन् । स्थानीयका अनुसार चिनियाँहरूले लुम्बिनीलाई बौद्धको बिरूद्ध जासुसी कामका लागि प्रयोग गरिरहेका छन् र लुम्बिनीमा उनीहरूको गतिविधिलाई समेत अनुगमन गरिरहेका छन् । यसबाहेक, चिनियाँहरूले लुम्बिनीको व्यापारमा पनि नियन्त्रण गर्न खोजेका छन् । जसका कारण स्थानीय नेपाली व्यापारीहरूले आर्थिक नोक्सानी भोगिरहेका छन् ।

विश्व सम्पदा सूचीमा सूचीकृत गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा चिनियाँ नेताहरू पुगेर क्षति पुग्ने गतिविधिहरूमा संलग्न भइरहेका हुन्छन् । चिनियाँ गतिविधिका कारण लुम्बिनीको वातावरण नै खलबलिने गरी कार्यक्रम गरेको पाइएको छ । जसले गर्दा विश्व सम्पदा सूचीमा रहेको लुम्बिनीलाई नै खतरा हुने काम भएको भन्दै आलोचना भइरहेको छ । उक्त क्षेत्रमा कुनै हो-हल्ला हुने कार्यक्रम तथा गतिविधिहरू गर्न प्रतिबन्ध लगाइएको भए पनि चिनियाँ योजना अनुसार त्यसलाई क्षति पुग्ने गरी गतिविधि गरिएको हो ।

यसप्रति नेपालको प्रशासनले पनि मौनता साँधेको भन्दै विरोध भइरहेको छ । विश्व सम्पदा सूचीबाट लुम्बिनीलाई हटाउने चेतावनीका बाबजूद पनि चिनियाँ टोली पुगेर त्यसलाई बल पुग्ने गरी गतिविधि गरेका हुन् । यसअघि लुम्बिनी विकास कोषभित्र गुरूयोजना विपरित निर्माण गरिएका संरचनाले लुम्बिनी विश्व सम्पदा सूचिबाट हटाउने चेतावनी दिएको थियो ।
संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन (यूनेस्को) ले लुम्बिनीलाई सन १९९७ मा विश्व सम्पदा सूचिमा सूचिकृत गरेको थियो । यूनेस्को विश्व सम्पदा केन्द्रको ४३ औं सत्रको निणर्य र नेपाल सरकारले यूनेस्कोलाई गरेको आमन्त्रण अनुसार यूनेस्को टोली लुम्बिनी आएर अध्ययनसमेत गरेको थियो । गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा रहेको चिनियाँ गुम्बाले सिंगो मायादेवी मन्दिर परिसरमा कब्जा जमाएको भन्दै चौतर्फी आलोचना सुरू भएको छ ।

चिनियाँको आडमा इस्लामिक गतिविधि बढ्दै
लुम्बिनी क्षेत्रभित्र चिनियाँहरूको कब्जा रहेको छ भने त्यस बाहिर आकस्मिकरूपमा मदरसा र मस्जिदहरूको संख्या ह्वात्तै वृद्धि भइरहेका छन् । लुम्बिनी आसपासको क्षेत्रमा ३७ वटा मदरसाहरू बनाइसकेका छन् । त्यस क्षेत्रमा मुस्लिमहरूको जनसंख्या अचानक बढेको स्थानीयहरू बताउँछन् । ती अतिवादी कट्टरपन्थी मुस्लिमहरूलाई पाकिस्तानको साथ र सहयोग रहेको स्रोतको दाबी छ ।

भारतविरोधी तत्वहरू जति पनि छन्, ती सबै एक अर्काका मित्रको रूपमा रहेका छन् । नेपालमा जति पनि भारतविरोधी गतिविधिहरू हुन्छन्, त्यसको ६० प्रतिशत योजनाकारहरू लुम्बिनीमै बसेका छन् । लुम्बिनीमा बुद्धिष्ट र हिन्दू धर्मावलम्बीहरू बीच समानता रहेको छ । तर, त्यहाँको शान्ति खलबलाउन ती चिनियाँ र इस्लामिक कट्टरपन्थीहरू विभिन्न किसिमका षड्यन्त्रहरू गरिरहेका छन् ।

जुन देश वा समूह भारतको शत्रु हुन्छन्, ती सबै चीनको मित्र हुन्छन् । तिनीहरूलाई चीनले नै प्रोत्साहन गर्दै आएको छ । अतिवादी मुस्लिमहरूले भारतलाई शत्रु मानिरहेका छन् । ती सबै चीनसँग मिलेर भारतविरोधी गतिविधिमा संलग्न छन् ।

चिनियाँहरूले स्थानीय मुस्लिमहरूसँग नजिक हुने गतिविधि गरिरहेका छन् । चिनियाँ नागरिकहरूले त्यस क्षेत्रमा आफ्नो सिक्का जमाउनको लागि मुस्लिमहरूलाई साइकल वितरण, मुस्लिम महिलाका लागि ब्यूटी पार्लर, मुस्लिमका लागि सिलाइ मेशिनलगायत सामानहरू वितरण गरिरहेका छन् । लुम्बिनीमा मुस्लिम र चिनियाँहरूको एक खतरनाक समूह निर्माण हुन लागेको स्रोतको भनाइ छ । जसले हिन्दु र विशेषगरी लामो समयदेखि बौद्धलाई प्रतिकूल प्रभाव पार्न सक्ने बौद्ध धर्मालम्बीहरू बताउँछन् ।

धर्म परिवर्तन पनि बढ्दै
नेपाललाई कुनै न कुनै बहानामा अस्थिरता ल्याउन र भारत-नेपाल सम्बन्धलाई बिगार्न चीन, पाकिस्तान र क्रिष्चियन मुलुकहरू विभिन्न षड्यन्त्रहरू गरिरहेका छन् । लुम्बिनी क्षेत्रमा धर्म परिवर्तन जस्ता आपराधिक गतिविधि पनि बढ्दै गएको छ । लुम्बिनीमा एउटा नवजीवन नामक विद्यालय पनि क्रिष्चियनहरूले स्थापना गरेका छन् । जो सर्वसाधारण धर्म परिवर्तन गरेर क्रिष्चियन हुन्छन्, तिनीहरू बालबच्चालाई पढाउन पैसा लाग्दैन ।

यस्ता थुप्रै प्रलोभन, प्रभाव र दबाबमा पारी सोझासाझा निमुखा स्थानीयहरूलाई धर्म परिवर्तन गराउने जस्ता कुकृत्यहरू पनि भइरहेका छन् । तसर्थ, लुम्बिनी क्षेत्रलाई पूणर्रूपमा चिनियाँ र पाकिस्तानीहरूले आफ्नो कब्जा लगभग लिइसकेको भन्न सकिन्छ । विश्वलाई शान्तिको उपदेश दिने भगवान बुद्धको जन्मस्थललाई बदनाम गराउन सक्रिय रहेका तत्वहरूलाई नेपाल सरकारले अविलम्ब कडाइ गर्नुपर्छ ।

२०८० असार ७, बिहीबार प्रकाशित 1 Minute 275 Views

ताजा समाचार