२०८१ बैशाख १४ शुक्रबार

भारतको मणिपुर राज्यमा जारी जातीय हिंसामा ५२ जनाभन्दा बढीको मृत्यु

२४ वैशाख, काठमाडौं । भारतको पूर्वोतर राज्य मणिपुरमा जारी जातीय हिंसामा परी मृत्यु ५२ जनाभन्दा बढीको मृत्यु भएको छ ।

बुधबारदेखि सुरु भएको हिंसा प्रशासनले जारी गरेको कर्फ्यु र ‘शुट एट साइट’ आदेशका बाबजुत पनि शनिबारसम्म कम्तिमा ५२ जनाको मृत्यु भएको छ । र, हजारौँको संख्यामा मानिसहरू विस्थापित भएको जनाइएको छ ।

भारतीय दैनिक पत्रिका इन्डियन एक्सप्रेसको आइतबार प्रकाशित समाचारका अनुसार मुख्यमन्त्री एन विरेन सिंहले शनिबार सर्वदलीय बैठक बोलाएका थिए । उक्त बैठकमा मुख्यमन्त्री सिंहले क्षतिको यकिन विवरण दिन सकेनन् । यद्यपि, एक्सप्रेसले सरकारी अधिकारीहरूको हवाला दिँदै प्रकाशन गरेको समाचारमा मृतकको संख्या बढेको हुनसक्ने जनाएको छ ।

हिंसा सुरु भएपछि शनिबार पहिलोपटक सञ्चारकर्मीसँग अन्तरक्रिया गरेका भारतीय कानुनमन्त्री किरेन रिजिजुले झडपमा धेरैको मैत्यु भएको र सम्पत्तिमा क्षति पुगेको स्वीकार गरेका छन् ।

सामाजिक सञ्जालमार्फत मैतेई र कुकी समुदायबीच जारी हिंसात्मक झडपका सामग्रीले परिस्थितिलाई थप जटिल बनाएपछि मणिपुरमा मोबाइल इन्टरनेट सेवा आजसम्मका लागि बन्द गरिएको छ । जसका कारण मणिपुरबाट निर्वाध सूचना प्रवाह हुन सकेको छैन र पछिल्लो विवरण सार्वजनिक हुन सकेको छैन ।

साथै परिस्थिति नियन्त्रण बाहिर गएपछि आसम राइफल्स र भारतीय सेना परिचालन गरिएको छ । कर्फ्यु जारी भएका क्षेत्रमा सेना र प्रहरीको संयुक्त गस्ती चलिरहेको छ ।

मणिपुर राज्यको राजधानी इम्फालबाट प्रकाशित हुने स्थानीय सञ्चार माध्यमहरूका अनुसार राजधानी र चुराचन्दपुर जिल्लाका अस्पतालमा ५० जनाभन्दा बढी मृतकका शवहरू राखिएका छन् ।

चुराचन्दपुर जिल्ला अस्पतालको शवगृहमा १६ शव, इम्फाल पूर्वी जिल्लाको जवाहरलाल नेहरु इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा १५ शव र इम्फाल पश्चिम जिल्लाको लाम्फेलस्थित क्षेत्रीय अस्पताल रिजनल इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा २३ जनाको शव राखिएको भारतीय समाचार एजेन्सी पीटीआईले उल्लेख गरेको छ ।

हालसम्म ५० जनाभन्दा बढीको मृत्यु भएको समाचार सार्वजनिक भए पनि यो संख्या अझैँ ठूलो हुनसक्ने बताइएको छ ।

बुधबार मणिपुर उच्च अदालतले मैतेई समुदायले अनुसूचित जनजाती वर्गमा आफूलाई पनि राख्न माग गर्दै दिएको रिटमा सुनुवाई गर्दै राज्य र केन्द्र सरकारलाई पुनरावलोकनको आदेश दिएको थियो । त्यसको विरोधमा पहिल्यैदेखि यो सुविधा पाउँदै आएको कुकी समुदायको विद्यार्थी संगठनले विरोध र्‍याली निकालेपछि सुरु भएको झडप हिंसामा परिणत भएको थियो ।

जनसंख्याको ५२ प्रतिशतभन्दा धेरै हिस्सा ओगटेको मैतेई समुदायले अनुसूचित जनजातीको हैसियत प्राप्त गरे आफ्नो पाइरहेको अधिकारमा कटौती हुने भन्दै कुकी समुदायले त्यसको विरोध गरेको हो ।

मणिपुरको मैदानी भागमा रहेको मैतेई र पहाडी इलाकामा रहेको कुकी जनजाती समुदायबीच धेरै अघिदेखि यस विषयमा दरार उत्पन्न भइरहेको छ । राज्य र केन्द्र सरकारले यसको उचित व्यवस्थापन गर्न सकेका छैनन् ।

२०८० बैशाख २४, आईतवार प्रकाशित 0 Minutes 370 Views

ताजा समाचार