
मित्र भण्डारी
काठमाडौँ, असार १७ गते । सोमबार दिउँसो धेरै पत्रकारको फेसबुक म्यासेन्जरमा एकै प्रकारको सन्देश प्रवाह भइरह्यो । नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले पठाएको सन्देशमा अनेक समस्या देखाएर रकमका साथै वान टाइम पासवर्ड (ओटिपी) माग गरिएको थियो । सन्देश हेर्नासाथ फेसबुकका अधिकांश साथी केहीले रकम पठाउन थाले, कोहीले ओटिपी दिन थाले, केही स्वयम् लम्साललाई फोन गरी सहयोगको हात फैलाउन थाले ।

तर, यसरी आफ्नै फेसबुकबाट यत्रतत्र सहयोग मागिएका सन्देश प्रवाह भएकोबारे अध्यक्ष लम्साल भने अनभिज्ञ देखिनुभयो । तत्कालै फेसबुक खोल्न खोज्दा उहाँको फेसबुक खाता नियन्त्रणबाहिर पुगिसकेको थियो । यसबारे तत्कालै उहाँले नेपाल प्रहरीको साइबर ब्युरोमा खबर गर्नुभयो । ब्युरोले उहाँको फेसबुक खाता ह्याक भएको पुष्टि गर्यो र तत्काल सो खाता बन्द गरिदियो । प्रहरीकै सक्रियतामा उहाँको बैङ्क खातासहित सबै डिजिटल कारोबार रोक्का गरियो । यति गर्दा ह्याकरले लम्सालका फेसबुकमा रहेका साथीसँग झन्डै ५० हजार रुपियाँ रकम ठग्न पुग्यो ।
यसरी ह्याकरबाट लम्साललाई सहयोग गर्ने बहानामा ठगिने अधिकांश पत्रकार छन् । फेसबुक म्यासेन्जरमा आएको सन्देशलाई आधार मान्दा आमसर्वसाधारण मात्र नभई स्वयम् सचेत वर्ग पत्रकार पनि कसरी सजिलै ठगिन्छन् भन्ने यो प्रतिनिधिमूलक घटना बन्न पुग्यो । सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै विभिन्न माध्यमबाट ठगी हुने क्रम पछिल्लो समय बढ्दै गएको छ ।
साइबर ब्युरोका प्रवक्ता दीपक अवस्थीका अनुसार यस वर्ष मात्र झन्डै आठ हजार व्यक्तिको एक अर्ब रुपियाँभन्दा बढी रकम यसै गरी विभिन्न माध्यमबाट ठगिएको छ । उहाँले भन्नुभयो, “अनलाइन माध्यमबाट चिट्ठा, अनलाइन सपिङ ई बैङ्किङमार्फत सबैभन्दा बढी ठगी हुने गरेका छन् ।”
प्रवक्ता अवस्थीका अनुसार भाइरस, मालवेयर, सेयर कारोबारका नाममा खुलेका विभिन्न साइट र कनेक्ट आइपिएस, इसेवाको नक्कली एप वा लिङ्क तयार गरी ठगी गर्ने क्रम बढ्दै गएको छ । यस्ता उच्च प्रविधिको प्रयोगबाट हुने ठगी विश्वका जुनसुकै कुनाबाट हुने भएकाले यसको नियन्त्रण र अनुसन्धान अत्यन्त कठिन हुने हुँदा आधिकारिताको सुनिश्चितता गरेर मात्र कारोबार गर्न प्रहरीले सुझाएको छ ।
समाजिक सञ्जाल ठगी, बैङ्किङ ठगी, अनलाइन सपिङ तथा पेमेन्ट, चिट्ठा, स्क्याम, फिसिङमा परी ठगिने क्रम बढेपछि प्रहरीले विभिन्न माध्यमबाट जनचेतान अभिवृद्धि गर्ने गरेको छ । फेसबुक, भाइबर तथा ह्वाट्सएप, म्यासेन्जरबाट विभिन्न बहाना देखाएर रकम ठगी गर्ने मात्र नभई सामाजिक सञ्जालमा अपरिचित व्यक्तिसँग साथी बन्ने र कुराकानी गर्दा नग्न र अश्लील तस्बिर तयार गरी रकम असुली गर्ने क्रम बढेको प्रहरीले जनाएको छ ।
केही समयअघि सामाजिक सञ्जालमा आएको सन्देशलाई विश्वास गर्दा प्राध्यापक, चिकित्सक, विद्यार्थी र स्वयम् पत्रकारसमेत ठगिएका घटना सार्वजनिक भएका थिए । साइबर ब्युरोले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिसँग साथी नबन्न र उनीहरूबाट आएका जुनसुकै सन्देशलाई भेरिफाइ नहुन्जेल कुनै पनि कारोबार र विवरण आदानप्रदान नगर्न आग्रह गर्दै आएको छ ।आजको गोरखापत्र दैनिकमा खबर छ ।