
काठमाडौँ, असार १५ गते । अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपतिको कार्यकारी अधिकार सीमित नगर्न आदेश जारी गरेको छ । यो आदेश जारी भएसँगै त्यहाँका तल्ला अदालतले राष्ट्रपतिको कार्यकारी आदेशमाथि अङ्कुश लगाउन नपाउने भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउसको पत्रकार सम्मेलन कक्षमा पत्रकारलाई सम्बोधन गर्दै यसलाई ‘ठुलो, अद्भुत निर्णय’ भएको बताउनुभएको सिएनएनले जनाएको छ । उहाँले आफ्नो प्रशासन त्यस फैसलाका कारण निकै हर्षित बनेको बताउँदै भन्नुभयो, “संविधान, शक्ति पृथकीकरण र कानुनी राजका लागि एउटा यो ऐतिहासिक विजय हो ।”
सर्वोच्च अदालतले अब अमेरिकी भूमिमा जन्मेका सबैलाई नागरिकता नदिनका लागि बाटो खोलिदिएको छ । न्यायाधीश एमी कोनी ब्यारेटले ट्रम्पको जन्मसिद्ध नागरिकतामा अझै व्यापक रोक लगाउन राज्यहरूका लागि ढोका खोलिदिनुभएको छ ।

राष्ट्रपति ट्रम्पले अदालतको आदेशले जन्मका आधारमा पाइने नागरिकताको छलमाथि अप्रत्यक्ष रूपमा, कडा प्रहार भएको बताउँदै उहाँले त्यस निर्णयले आप्रवासन प्रक्रियाको घोटाला रोक्ने दाबी गर्नुभयो । महान्यायाधिवक्ता पाम बोन्डीले अमेरिकाले जन्मका आधारमा दिइने नागरिकताको व्यवस्था अन्त्य गर्ने वा कायमै राख्ने विषयमा सर्वोच्च अदालतले अक्टोबरमा निर्णय गर्ने जानकारी दिनुभयो । अमेरिकामा जन्मिएका कुनै पनि नागरिक स्वतः त्यहाँको नागरिक हुने व्यवस्थाविरुद्ध ट्रम्पले एक कार्यकारी आदेश जारी गर्दै रोक लगाउनुभएको थियो । सो निर्णयलाई तल्लो अदालतका न्यायाधीशले रोक लगाएका थिए । अब राष्ट्रपति ट्रम्पको आदेश ३० दिनपछि लागु हुने छ । ट्रम्पले भन्नुभयो, “अब आफ्ना नीति चाँडो कार्यान्वयन गर्ने छु । सर्वोच्च अदालतको यो फैसला देशका लागि अत्यन्त राम्रो छ ।”
अब आमा अवैध रूपमा अमेरिकामा बसोबास गरिरहेको अवस्थामा उनले अमेरिकामा जन्माएको बच्चाले अमेरिकी नागरिकता पाउने छैन । त्यसै गरी आमाको अमेरिकी बसाइ वैध भए पनि उनी अस्थायी अनुमतिमा बसिरहेको अवस्थामा जन्मिएको बच्चाले पनि नागरिकता पाउने छैन । बच्चाको जन्म समयमा बाबु अमेरिकी नागरिक वा वैध स्थायी निवासी होइनन् भने पनि बच्चाले अमेरिकी नागरिकता नपाउने समाचारमा जनाइएको छ ।
गोरखापत्र अनलाइन