२०८१ जेष्ठ १० बिहीबार

बच्चा हुर्काउँदै हुनुहुन्छ ? यी ५ कुरा ख्याल गर्नुहोस्

अभिभावक बन्नु र अभिभावकत्व बहन गर्नु फरक विषय हो । प्राविधिक रुपमा त सन्तान जन्माउँदैमा स्वतः अभिभावक बनिन्छ, तर अभिभावक बन्न त सन्तानको पालनपोषणमार्फत शारीरिक र भावनात्मक विकासमा सहयोगी बन्न सक्नुपर्छ । सुरक्षाको प्रत्याभूति दिलाउँदै सामाजिक र जीवनपयोगी सीपको विकास गर्दै एक स्वस्थ र जिम्मेवार व्यक्तिको रूपमा हुर्काउन अभिभावकत्व प्रदान गर्न सक्नुपर्छ ।

बालबालिकाले समयमै राम्रो अभिभाकत्व पाउने हो भने त्यसको प्रभाव उनीहरूको सर्वाङ्गीण विकासमा देख्न सकिने विभिन्न अध्ययनबाट प्रमाणित भइसकेको छ । २१ औं शताब्दीमा विज्ञान–प्रविधि र विश्वव्यापीकरणको अवधारणाले अभिभावकहरूले नयाँ नयाँ चुनौती र अवसरको सामना गर्नुपरेको छ । यसले समयानुसार अभिभावकको भूमिकामा परिवर्तन आएको हामी प्रष्ट देख्न र महसुस गर्न सक्छौं । त्यसैले अभिभावकले सन्तानको राम्रोसँग लालनपालनको लागि यी पाँच कुरामा ध्यान दिनुपर्छ ।

१. आधारभूत आवश्यकता परिपूर्ति

अभिभावकहरूको पहिलो जिम्मेवारी आफ्ना बालबालिकाको गाँस, बास र कपास जस्ता आधारभूत आवश्यकता मात्र होइन, स्वास्थ्य, शिक्षा र सुरक्षा पनि परिपूर्ति गर्नु हो । बालबालिका सम्पूर्ण रूपमा अभिभावकसँग निर्भर हुन्छन् । धेरै साना बालबालिकाले आफ्ना आवश्यकता र चाहना अभिभावकलाई खुलेर बताउन सक्दैनन् ।

त्यसैले अभिभावक आफैं सचेत भएर बालबालिकाको आधारभूत आवश्यकता पूरा गरिदिनुपर्छ । बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्य विकास, बौद्धिक क्षमता वृद्धि, सही–गलत चिन्ने, भविष्य पहिल्याउने बाटो रोज्न सक्ने आधार नै आधारभूत आवश्यकता हो ।

२. भावनात्मक विकासमा सहयोग

बालबालिका आफ्नो भावनालाई रोएर, हाँसेर, चिच्याएर, कराएर, रिस देखाएर आफ्नो मनमा भएको संवेग व्यक्त गर्छन् । आमाबाबु, परिवार र छरछिमेकीबाट सधैं माया र स्नेह पाइरहूँ भन्ने चाहन्छन् । माया, ममता, स्नेह, स्याबासी, प्रोत्साहन बालबालिकाको संवेगात्मक विकासका आवश्यक तत्व हुन् । यदि आशा गरेजस्तो माया स्नेह पाएनन् भने उनीहरूको संवेगात्मक सन्तुलन गुम्छ ।

यसको परिणाम उनीहरूमा डराउने, आत्मविश्वास कम हुने, आत्मनिर्भर नहुने समस्या देखिन्छ । माया, हौसला, प्रेरणा पाएका बालबालिका आत्मनिर्भर हुन्छन्, आफ्नो काम आफैं गर्छन् । परिवारको भावनात्मक साथ पाएमा उनीहरू आफ्नो भावनालाई व्यक्त गर्न पनि सिपालु हुन्छन् ।

त्यसैले बालबालिकाको कुरा सुनिदिने, प्रश्नको जवाफ दिने, वातावरणमा घुलमिल गराउने, कथा सुनाउने, आफू पनि उनीहरू जस्तै नक्कल गरी खेल्ने र खेलाउने गर्र्नुपर्छ ।

३. सामाजिक तथा जीवनोपयोगी सीपको विकास

अभिभावकको व्यवहार तथा उनीहरू हुर्किएको वातावरणबाट नै बालबालिकाले सामाजिकीकरणका आधारभूत सीप सिक्छन् । बाल्यकालदेखि नै उनीहरूलाई समाजमा घुलमिल हुन सिकाउन जरुरी हुन्छ । सामाजिक विकासका निम्ति खेल, साथी, मनोरञ्जन, नातागोता चिन्ने जस्ता अवसरले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । बालबालिकाले जे देख्छन् त्यही सिक्छन् । परिवारको मूल्यमान्यता र आमाबाबुले गर्ने व्यवहारले उनीहरूको सामाजिक विकासमा प्रभाव पार्छ ।

अभिभावकले समयको व्यवस्थापन, सामाजिक सीप, परी आउने समस्याको समाधान गर्ने जस्ता जीवनोपयोगी सीप सिकाउनुपर्छ । बाल्यावस्थामा उनीहरूले आफ्नो परिवेशबाट बानी, व्यवहार, स्वास्थ्य तथा सरसफाइ र मूल्यमान्यता सिक्छन् । यी बानी तथा व्यवहारले उनीहरूको भावी जीवनको आधारभूत जग हो ।

४. अरुसँग तुलना नगरौं

आफ्नो बालबच्चालाई अरुसँग कहिल्यै तुलना गर्नु हुँदैन, विशेषगरी दोस्रो सन्तानसँग । प्रत्येक बच्चामा फरक किसिमको स्वभाव र बौद्धिक क्षमता हुन्छ । यो फरक व्यवहारलाई लिएर एउटा सन्तानको अर्को सन्तानसँग तुलना गर्न थालियो भने उनीहरूको आत्मबल कमजोर हुँदै जान्छ, जसको  असर उनीहरूको मानसिक स्वास्थ्यमा पुग्न सक्छ । यसबाट गर्नसक्ने काममा पनि उनीहरूको रुचि हराउँदै जान्छ ।

बालबालिकाको फरक स्वभाव छ भने त्यसलाई आफू पनि अपनाउन सिक्ने र उनीहरूलाई पनि सामान्य हो भनेर बुझाउन सक्नुपर्छ । बच्चाहरूको व्यवहारमा कमीकमजोरी छ भने अरु सन्तान र छरछिमेकको उदारहण दिनुसट्टा हौसला दिंदै उनीहरूको लक्ष्यमा पुग्न भावनात्मक सहयोग गर्नुपर्छ । यसबाट उनीहरूमा हीनताको सट्टा आत्मबोधको भावना विकास हुन्छ । त्यति मात्र होइन उनीहरूको रुचि, इच्छाहरूलाई सुन्ने र त्यसलाई अघि बढाउन प्रोत्साहन गर्नुपर्छ ।

५. सामाजिक सञ्जालको व्यवस्थापन

सामाजिक सञ्जालबाट सिर्जना हुने चुनौतीपूर्ण अवस्थाहरूलाई मध्यनजर गर्दै अभिभावकले आफ्नोे छोराछोरीको निगरानी गर्नुपर्छ । बालबालिकाले इन्टरनेटको प्रयोग कसरी गरिरहेका छन्, नजिकबाट नियाल्नुपर्छ र यसको सुरक्षित प्रयोग गर्न सिकाउनुपर्छ ।

अनलाइनखबर

२०८० बैशाख ९, शनिबार प्रकाशित 0 Minutes 581 Views

ताजा समाचार