२०८१ आश्विन १९ शनिबार

प्रेरक प्रसंग : जत्रो झोला त्यति नै दान

एकपटक बुद्ध केही दिनका लागि एक स्थानमा बसेर प्रवचन दिइरहेका थिए । पहिलो दिनको प्रवचन समाप्त गर्दै उनले भने– सबै आआफ्नो स्थानबाट जाग, समय तिम्रो हातबाट फुत्कँदै छ । बुद्धको यस भनाइसँगै सभा विसर्जित भयो । बुद्धले आफ्ना प्रिय शिष्य आनन्दसित बाहिरतिर घुमेर आउने प्रस्ताव गरे । आनन्द बुद्धको पछि लागे ।

उनीहरू दुवै विहारको मुख्य ढोकामा पुग्दा प्रवचन सुनेर निस्किरहेका भक्तजनको भिड भएकाले उनीहरू दुवै एकातिर उभिएर भक्तजनको भिड घट्ने प्रतीक्षामा बसे । बुद्धलाई देखेर भिडबाट एक युवती नजिक आइन् । उनले भनिन्– हे तथागत, म एक नर्तकी हुँ । आज म नगरप्रमुखको घरमा नृत्यका लागि जानुपर्ने थियो । तर, मैले यसबारे भुलिसकेकी रहेछु । जब तपाईंले ‘समय तिम्रो हातबाट फुत्कँदै छ’ भन्नुभयो तब मैले यसबारे सम्झिएँ । त्यसैले, तपाईंलाई धन्यवाद छ ।

युवती त्यहाँबाट गएपछि एक अधबैँसे पुरुष बुद्धको नजिक आए । उनले भने– तथागत, म एउटा डाँकु हुँ । आज मैले एक स्थानमा डकैती गर्नु थियो । तर, प्रवचन सुन्दासुन्दै मैले त्यो सब भुलिसकेको रहेछु । तर, तपाईंको उपदेशको अन्तिम कथन सुनेपछि मैले सबै सम्झिएँ । तपाईंलाई धेरै–धेरै धन्यवाद !

ती पुरुष त्यहाँबाट गएपछि एक वृद्ध बिस्तारै बुद्धको नजिक पुगे । उनले भने– हे तथागत, म जिन्दगीभर दुनियाँको माया, ममताको पछाडि दौडिरहेँ । अब मृत्यु नजिक आइरहेको छ । यतिखेर मलाई लाग्दै छ कि मेरो सम्पूर्ण जिन्दगी बेकार भयो । तपाईंको प्रवचनबाट आज मेरा आँखा खुले । अब सबै छाडेर निर्वाणको प्रयास गर्छु । जब सबै मानिस गइसके तब बुद्धले भने– देख्यौ त आनन्द, मैले प्रवचन त एउटै दिएको हुँ । तर, मानिसले आआफ्नो हिसाबले फरक–फरक अर्थ निकाले । जोसित जत्रो झोला हुन्छ, उसले त्यति नै दान थाप्न सक्छ । नयाँ पत्रिका

२०८० पुष २०, शुक्रबार प्रकाशित 0 Minutes 463 Views

ताजा समाचार