झापा । अमेरिकासहित पश्चिमा देशसँग तिक्त कूटनीतिक-आर्थिक सम्बन्ध, रुस-पाकिस्तानसँग मित्रता, ताइवानलाई गाभ्ने रणनीति, हङकङमाथि हस्तक्षेप तथा छिमेकी देशसँगको सीमा विवाद जस्ता विषयलाई लिएर चीनको आलोचना हुने गर्छ । आर्थिक, राजनीतिक तथा सैन्य रूपमा शक्तिशाली चीनको विश्वमा सबैभन्दा धेरै देशसँग सीमा जोडिएको छ ।
चीनको छिमेकी देशसँगको सीमा विवाद र शक्ति सन्तुलनको अभ्यासले क्षेत्रीय शान्ति र स्थायित्वमा चुनौती देखिएको छ ।
चीन जनसंख्याको हिसाबले विश्वकै पहिलो र क्षेत्रफलमा तेस्रो ठूलो देश हो । ९७ लाख वर्ग किलोमिटर क्षेत्रफल ओगटेको चीनको जनसंख्या एक अर्ब ४० करोड छ । चीनको सीमा एक दर्जनभन्दा बढी मुलुकसँग जोडिएको छ । अधिकांश देशसँग उसको सीमा विवाद छ ।
नेपाल, जापान, भुटान, भारत, ताइवान, म्यानमार, इन्डोनेसिया, लाओस्, फिलिपिन्स, भियतनाम, बु्रनाई, सिंगापुर, मंगोलियासँग चीनको सीमा विवाद छ । छोटो समयमै आर्थिक तथा सामाजिक विकास गर्दै विश्वकै शक्तिराष्ट्र बनेको चीन उदाहरणीय कम्युनिस्ट मुलुक हो । तर, अमेरिकासँगको तिक्ततापूणर् कूटनीतिक, आर्थिक सम्बन्ध, अस्ट्रेलियासँगको कूटनीतिक सम्बन्ध, रूस र पाकिस्तानसँगको मित्रता, ताइवान र तिब्बत चीनमा गाभ्ने रणनीति, हङकङमाथिको हस्तक्षेप, सीमा विवादजस्ता विषयले चीनको आलोचना हुँदै आएको छ ।
अमेरिका, बेलायतसहित प्रजातान्त्रिक शक्ति राष्ट्रहरूले चीनलाई आफ्नो प्रतिस्पर्धी ठान्छन् । उनीहरूले कम्युनिस्ट नेतृत्वको सरकारलाई निरंकुश शासनका रूपमा हेर्ने र चिनियाँ नागरिकको स्वतन्त्रता र मानवअधिकार लगायतका विषयमा प्रश्न उठाउने गर्छन् । पश्चिमा मुलुकले चीनलाई विस्तारवादी योजनाले अघि बढेको भन्दै आलोचना गर्ने गर्छन् । विशेषगरी सीमा विवाद लामो समयदेखि कायमै रहँदा चीनको छिमेकी देशसँग तनावको स्थिति छ भने बेलाबेला हिंसात्मक घटना हुने गरेका छन् ।
भारतको सीमामा जस्तो नेपाली पक्ष र चिनियाँ पक्षबीच झडपका घटना नभए पनि सीमा क्षेत्र विवादरहित छैनन् । नेपालका हुम्ला, जुम्ला, गोरखा, रसुवा, सिन्धुपाल्चोक, ताप्लेजुङ, सोलुखुम्बु सहितका जिल्लासँग चिनियाँ सीमा जोडिएको छ । विशेषगरी हुम्लासहित केही जिल्लाको सीमा क्षेत्र विवादित छ ।
नेपाल सरकारको एक प्रतिवेदनमा हुम्ला सिमानामा चीनले स्थायी नहर बनाउने प्रयास गरेको दाबी गरिएको छ । सीमा क्षेत्रको किट खोलाको पानी चिनियाँ पक्षले दीर्घकालीन रुपमै नियन्त्रणमा लिने प्रयास गरेको भन्दै यसलाई रोक्न कूटनीतिक प्रयास थाल्न पनि त्यस प्रतिवेदनले सुझाएको थियो ।
सीमा क्षेत्रमा बेलाबेला अतिक्रमण त कहिले सीमा स्तम्भहरू हराएका खबर बाहिरिन्छन्, जसले नेपाल-चीन सीमा क्षेत्रका विवादहरू सतहमा ल्याउने गर्छन् । तत्काल समाधान हुने तर दीर्घकालीन समाधानको पाटोमा बृहत् कूटनीतिक पहल भएको भने देखिँदैन । जसले गर्दा नेपाल-चीन सीमा क्षेत्रका विवाद भविष्यमा बल्झिने जोखिम कायमै छ ।
नेपाल-भारत-चीनको त्रिदेशीय बिन्दुमा रहेको लिपुलेकमा भारतले नेपाली भूमि मिचेर संरचना बनाएको विषयले भारत-नेपालबीच वैमनस्य बढ्दा पनि चीन मौन बस्यो । घटना मत्थर भएपछि भने चीनले सीमा विवाद आपसी वार्तामार्फत समाधान गर्नुपर्ने धारणा राख्यो । तर, चीनले नेपालसँग सीमा विवाद नरहेको दाबी गर्दै आएको छ । यसबाट पनि प्रष्ट हुन्छ कि चीनको रणनीति साना मुलुकलाई नजानिँदो तरिकाले पेल्ने र हेप्ने रहेको देखिन्छ ।