२०८३ कार्तिक १३ बिहीबार

झापा प्रशासनले भन्यो : मौसम प्रतिकूल छ, तीन दिन सतर्क रहनू !

झापा । बंगालको खाडीमा उत्पन्न ‘अर्नव’ चक्रवातको प्रभावका कारण देशका अन्य भागसँगै झापामा पनि बाढी र डुबानको जोखिम बढेको छ । सम्भावित विपद्बाट जोगिन जिल्ला प्रशासन कार्यालय झापाले सर्वसाधारणलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणको सूचनालाई आधार मान्दै प्रशासनले आज कात्तिक १२ देखि १४ गतेसम्म कोशी प्रदेशका धेरै स्थानमा चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

यतिबेला झापाका किसानहरू पाकेको धान भित्राउने चटारोमा छन् । तर, मौसमको प्रतिकूलतालाई मध्यनजर गर्दै प्रशासनले तत्काल धान नकाट्न र काटिसकेको धान सुरक्षित स्थानमा भण्डारण गर्न किसानहरूलाई विशेष अनुरोध गरेको छ ।

भारी वर्षाका कारण सडक तथा हवाई यातायातलगायत दैनिक जनजीवन प्रभावित हुन सक्ने प्रशासनले जनाएको छ । सम्भावित जोखिमलाई ध्यानमा राख्दै सर्वसाधारणलाई लामो दूरीको यात्रा नगर्न र वर्षाको समयमा सवारीसाधन नचलाउन आग्रह गरिएको छ ।

अकस्मात बाढी आउन सक्ने खहरे खोलाका आसपासमा यात्रा नगर्न, खोला किनारमा माछा मार्ने तथा दाउरा संकलन गर्ने जस्ता कार्यबाट टाढा रहन सूचनामा उल्लेख छ । भ्रामक सूचनाको पछि नलागी आधिकारिक निकायबाट जारी हुने मौसमसम्बन्धी पूर्वानुमानलाई मात्र विश्वास गर्न प्रशासनले जोड दिएको छ ।

चक्रवातबाट सम्भावित क्षति न्युनीकरणका लागि जिल्ला प्रशासन कार्यालयले सुरक्षा निकाय र नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधिहरूसँग बुधवार आकस्मिक बैठक सम्पन्न गरेको जनाएको छ ।

“चक्रवातका कारण भारी वर्षा हुने पूर्वानुमान आइसकेको हुँदा धनजनको क्षति हुन नदिन हामीले आवश्यक सम्पूर्ण सतर्कता अपनाएका छौँ,” बैठकपछि जानकारी दिँदै प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले भन्नुभयो– “स्थानीय तह, सुरक्षा निकाय, स्वयम्सेवक तथा अन्य सरोकारवाला निकायलाई पूर्वतयारी अवस्थामा रहन निर्देशन दिइसकेका छौँ ।”

२०८३ कार्तिक १३, बिहीबार प्रकाशित 0 Minutes 41 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार