२०८१ बैशाख ८ शनिबार

गर्भवतीले के खाने? के नखाने?

गर्भवती भएपछि महिलाले एउटै शरीरमा दुइटा जीवन सञ्चालन गर्न थाल्छिन्। उनलाई सामान्यतया चार–पाँच महिनासम्म मेरो पेटमा बच्चा हुर्किँदै छ भन्ने धेरै आभास हुँदैन। भ्रूण हुँदै मानव शरीरको रूप लिन लाग्ने समय यसको मुख्य कारण हो।

भ्रूणको शारीरिक विकासमा लाग्ने समय निकै महत्त्वपूर्ण हुन्छ। गर्भमै शारीरिक बनावटको धेरै विकास हुने भए पनि पूर्ण रूपमा मस्तिष्क विकास हुन जन्मपछि पनि कम्तीमा १८ वर्ष लाग्छ।

पछिल्लो एक अध्ययनअनुसार मस्तिष्कको पूर्ण विकास हुन ४० वर्षसम्म लागेको पनि फेला परेको छ। महिलाको तुलनामा पुरुषमा मस्तिष्क विकास ढिलोसम्म हुने पनि हुने देखिएको छ।

मस्तिष्कभित्रका विभिन्न भाग र नसाको विकास चाहिँ पाँच वर्ष उमेरमा लगभग ९० प्रतिशत भइसकेको हुन्छ।

गर्भस्थ शिशुको मस्तिष्क र अन्य शारीरिक अंगहरूको विकासको गति गर्भवतीको खानपिन अर्थात पोषणमा धेरै भर पर्छ। गर्भवतीले खानामा लापरबाही गर्दा वा पर्याप्त ध्यान नदिँदा अस्वस्थ शिशु जन्मने, गर्भमै मर्ने, जन्मको लगत्तै मर्ने वा जन्मपछि पनि शारीरिक र मानसिक विकासमा असर पर्ने सम्भावना हुन्छ।

यसर्थ, गर्भवतीले गर्भस्थ भ्रूण तथा शिशुको समेत विकास ख्याल गरेर आफ्नो पोषणमा ध्यान दिनुपर्छ। गर्भवतीले खानु पर्ने र खान नहुने वस्तुहरूबारे बेलैमा स्वास्थ्यकर्मीसँग परामर्श लिनु पर्छ।

म यहाँ केही लाभदायक र केही हानिकारक खानेकुराका बारे संक्षेपमा उल्लेख गर्नेछु।

नेपाली समाजमा महिलाको खानपिन र हेरविचारमा उनका श्रीमान र परिवारका अन्य सदस्यको भूमिका निकै बलियो छ। धेरै महिलाहरू चाहेरै पनि आफूलाई र आफ्नो गर्भस्थ शिशुका लागि अत्यावश्यक पौष्टिक आहार सेवन गर्न पाउँदैनन्।

कतिपय परिवारमा चाहिँ गर्भवती हुनासाथ खानपिन अत्यधिक बढाउने चलन हुन्छ। आवश्यकताभन्दा निकै बढी पौष्टिक पदार्थ खुवाउँछन्। अत्यावश्यक पौष्टिक आहार नपाउने वा चाहिनेभन्दा बढी पाउने दुवै गर्भवतीले अलिक फरक तरिकाले सोच्न आवश्यक छ।

आवश्यकभन्दा बढी क्यालोरी हुने गरी पौष्टिक पदार्थ सेवन गर्दा आमा र शिशु दुवैको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ। पौष्टिक आहार बढ्ने तर शारीरिक व्यायाम नहुने अवस्थाले गर्भवतीलाई मधुमेह, उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिन सक्छ। अन्ततः यस्तो समस्या दीर्घरोगका रूपमा विकास भएका उदाहरणहरू पनि छन्।

त्यसो भए गर्भवतीले के खाने? के नखाने? पौष्टिक पदार्थहरू भिटामिन, मिनरल इत्यादि कति आवश्यक पर्छ?

गर्भवती भए लगत्तैदेखि उनी स्वयं र परिवारजनले खानेकुराबारे राम्ररी सोच्नु जरूरी हुन्छ।

यो अत्याधुनिक युगमा गर्भवती र गर्भस्थ शिशुका लागि कुन खानेकुरा आवश्यक हुन्छ र कुन खानेकुराले कस्तो असर पुर्‍याउँछ भन्ने थाहा पाउन सजिलो भएको छ। धेरै अध्ययनहरूले यस सम्बन्धी ठोस सुझाव दिएका छन्।

गर्भवतीले दुई ज्यानलाई आवश्यक पोषण लिनु पर्छ। यसको अर्थ धेरै क्यालोरी भएको खानेकुरा मात्रै खानु पर्छ भन्ने पनि होइन। सबैभन्दा महत्त्वपूर्ण कुरा, भिटामिन र मिनरलको मात्रा बढाउनु पर्छ। यसका लागि दूधदही, फलफूल, सागसब्जी, गेडागुडीको मात्रा बढाउन आवश्यक हुन्छ।

गर्भको पहिलो तीन महिना भ्रूणका लागि धेरै पौष्टिक पदार्थ आवश्यक हुँदैन। आमाले आफ्ना लागि खाएको खानाबाटै पूरा हुन्छ। फलफूल र सागसब्जीको मात्रा भने थोरै बढाउनु पर्छ।

सुरू अवस्थामा धेरै जसो गर्भवतीलाई वाकवाकी लाग्ने र खान मन नलाग्ने हुन सक्छ। यस्तो अवस्थामा चिकित्सकको सल्लाहमा भिटामिनहरू र मिनरलहरू छुट्टै सेवन गर्न आवश्यक हुन सक्छ।

गर्भस्थ शिशु बढ्दै जाँदा भिटामिन र मिनरलको आवश्यकता पनि बढ्दै जान्छ। यस बेला गर्भवतीले सेवन गर्ने फलफूल र सागसब्जी मात्र पर्याप्त नहुन सक्छ। गर्भको तीनदेखि छ महिनासम्म केही बढी भिटामिन, मिनरल र पौष्टिक पदार्थ आवश्यक हुन्छ। यो समयमा गर्भवतीले खानाको मात्रा बढाउनु पर्छ।

अन्तिमका तीन महिना शिशु हलक्कै बढ्ने समय हो। गर्भवतीलाई झन् बढी पोषण आवश्यक पर्छ। यस बेला काँचै वा कम पकाएर खान मिल्ने सागसब्जीको मात्रा बढाउनु पर्छ।

दूधदही र फलफूलको मात्रा बढाउनु पर्छ। यस बेला हरेक किसिमका फल लाभदायी हुन्छन्। गेडागुडीमा दाल, चना, केराउ, भटमासको मात्रा बढाउनु पर्छ। माछामासु सेवन पनि बढाउनु पर्छ।

धेरै जसो गर्भवतीलाई खानाको केही न केही तलतल लाग्ने पनि हुन्छ। उनीहरूले कुनै खास खानेकुरा बढी मन पराउने हुन सक्छ। यस्तो प्रवृत्ति धेरै महिलाहरूमा देखिने गरेको छ। यस्तो तलतल व्यक्तिअनुसार फरक हुन सक्छ।

तलतल बढ्नुको खास कारण गर्भस्थ शिशुका लागि पौष्टिक पदार्थको आवश्यकता नै हो। यस्तो आवश्यकताअनुरूप नै गर्भवतीको मस्तिष्कले खानाको सूचना प्रवाह गरेको हुन्छ। कतिपय गर्भवतीले गुलियो मात्रै र कतिपयले अमिलो र पिरो मनपराउने हुन्छ। तलतलका कारणले यस्तो परिकार खाइरहँदा त्यही मात्रै खाउँखाउँ लाग्ने बानी बन्छ। गर्भवतीका लागि बढी गुलियो, पिरो, अमिलो र चिल्लो खानेकुरा उपयुक्त हुँदैन। यस्तो परिकार अत्यन्त कम सेवन गर्नुपर्छ। खास किसिमको स्वादमा बानी लाग्न नदिन समयमै सचेत रहनुपर्छ।

हामीले दैनिक सेवन गर्ने भात र रोटी पनि गुलियोका स्रोत हुन्। यसर्थ बिस्कुट, चक्लेट, मिठाई, बढी चिनी राखिएको पेय पदार्थ गर्भवतीले अत्यन्त कम सेवन गर्नुपर्छ। चिल्लो पदार्थमा बोसो भएको खानेकुरा, घिउ, तेल र खरो गरी खारिएको परिकारमा अत्यधिक मात्रामा क्यालोरी हुन्छ। यस्ता परिकारको बढी सेवनले गर्भवतीको तौल आवश्यकभन्दा धेरै बढ्ने हुन्छ। गर्भवतीको तौल सन्तुलित रूपमा ठिक्क बढ्नु गर्भस्थ शिशुको विकास र स्वास्थ्यका हिसाबले लाभदायक हुन्छ।

गर्भवतीको तौल आवश्यकभन्दा धेरै बढेमा उच्च रक्तचाप हुने, मधुमेह हुने र छोटो समयमै मुटुको स्वास्थ्यमा नकारात्मक असर पर्ने हुन सक्छ। यस्तो अवस्थामा सुत्केरीपछि पनि लामो समयसम्म तौल नियन्त्रण गर्न कठिन हुन्छ। अनि मधुमेह र उच्च रक्तचापको दीर्घकालीन समस्या सिर्जना हुन सक्छ।

प्रत्येक व्यक्तिलाई सन्तुलित भोजन आवश्यक हुन्छ। गर्भवतीको हकमा त सन्तुलित भोजनको झन् बढी महत्त्व हुन्छ। गर्भस्थ शिशुलाई पनि सन्तुलित भोजनको आवश्यक पर्छ। गर्भवतीले खाना बढाउँदा फलफूल, सागसब्जी, माछामासु, गेडागुडी र दहीदूधको मात्रा बढाउनु पर्छ। गुलियो र बोसोयुक्त परिकार थोरै मात्र सेवन गर्नुपर्छ। गर्भवतीले गर्भको प्रारम्भदेखि नै सन्तुलित र उचित पौष्टिक खानेकुरामा बानी बसाउनु पर्छ।

एकै छिन पौष्टिक आहारबाहेकको पनि कुरा गरौं।

धूमपान र मदिरापानले गर्भस्थ शिशुको स्वास्थ्यमा ठूलो नकारात्मक असर पुर्‍याउँछ। शिशुमा शारीरिक र मानसिक अशक्तता निम्त्याउन सक्छ। सूर्तीमा हुने निकोटिनले आमाबाट शिशुमा जाने अक्सिजन घटाउँछ, शिशुले पर्याप्त अक्सिजन पाउँदैन। गर्भस्थ शिशुले सास फेर्नु पर्दैन, आमाकै रगतबाट आवश्यक अक्सिजन प्राप्त गर्छ।

गर्भवतीले पनि कुनै स्वास्थ्य समस्याका कारणले औषधि सेवन गर्नुपर्ने हुन सक्छ। धेरै जसो औषधिहरू गर्भस्थ शिशुको स्वास्थ्यमा असर पुर्‍याउने खालका हुन्छन्। यसकारण गर्भवतीले विशेषज्ञ चिकित्सकको रायसल्लाह नलिई कुनै पनि औषधि सेवन गर्नु हुँदैन। औषधिको असावधान प्रयोगले गर्भस्थ शिशुको ज्यान लिन पनि सक्छ।

अब सुत्केरी भएपछिको पोषणको कुरा गरौं।

नेपाली समाजमा सुत्केरीका लागि माछामासु, घिउ र चिल्लोयुक्त अन्य परिकार ह्वात्तै बढाउने चलन छ। सुत्केरी भएपछि लामो समय घरभित्रै बस्ने र हिँडडुल नगर्ने चलन पनि व्याप्त छ। परिणामस्वरूप सुत्केरीपछि महिलाको तौल धेरै बढ्ने हुन्छ। अनि गर्भवती हुनुअघिको सन्तुलित तौलमा फर्किन धेरै समय लाग्ने हुन सक्छ। त्यसकारणले जीवनशैलीमा आधारित स्वास्थ्य समस्या बढ्दै जाने हुन सक्छ।

सुत्केरी भएको एक हप्तापछि साधारण हिँडडुल गर्न सुरू गर्नुपर्छ र विस्तारै बढाउनु पर्छ। साधारण शारीरिक व्यायाम पनि गर्दै जानु पर्छ। यस्तो अभ्यासले महिलाको शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने निष्कर्ष पछिल्ला अनुसन्धानहरूको छ।

(डाक्टर दीपराज थापाले स्विडेनमा बालबालिकाको प्राथमिक उपचार र स्वास्थ्य प्रवर्द्धन सम्बन्धी विशेष नर्सका रूपमा पिएचडी गरेका छन्। उनी त्यहीँको एक विश्वविद्यालयमा प्राध्यापक पनि हुन्)

ट्विटर @DrDipRajThapa

(दीपराज थापाका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)

२०७९ पुष ९, शनिबार प्रकाशित 1 Minute 407 Views

ताजा समाचार