काठमाडौं । नेपालका सहरी क्षेत्रमा खाना पकाउन प्रयोग गरिने मुख्य ऊर्जा हो एलपी लिक्विफाइड पेट्रोलियम ग्यास । नेपाल आयल निगमका अनुसार देशभर करिब ५० लाख परिवारले एलपी ग्यास प्रयोग गरिरहेका छन् । आगलागीका घटना हेर्ने हो भने त्यसको एक प्रमुख स्रोत एलपी ग्यास पनि भएको देखिन्छ ।
काठमाडौं उपत्यकाभित्र हुने ग्यासजन्य आगलागीको मुख्य कारण एलपी ग्यास चुहावट नै भएको बताउँछन् ललितपुर महानगरपालिकाका फायर फाइटर कमान्डर राजकुमार ठकुरी । उनका अनुसार गुणस्तरहीन रेगुलेटर, कमजोर पाइप, म्याद गुज्रिएका सिलिन्डरलगायतका कारण आगलागीका घटना बढी हुने गरेको पाइएको छ । यसबाहेक म्याद गुज्रिएका ग्यास सिलिन्डरलाई नयाँ रंगरोगन गरी बजारमा पठाउँदा पनि जोखिम बढेको ठकुरीको अनुभव छ ।
ग्यास चुहावट भएको कसरी थाहा पाउने ?
नयाँ ग्यास सिलिन्डर जडान गर्ने क्रममा ग्यास चुहावट हुने सम्भावना बढी हुन्छ । चुहावट नहोस् भन्नका लागि रेगुलेटरमा राम्रोसँग लक गर्ने । कहिलेकाहीँ एउटा सिलिन्डर परिवर्तन गर्दा रेगुलेटरको वासर नयाँ सिलिन्डरमा नमिल्न पनि सक्छ । यस्तो अवस्थामा वासर फेरेर राम्रोसँग लक गर्नुपर्छ । सिलिन्डर परिवर्तन गर्दा टाइट र गन्ध नआउने हिसाबले फिट गर्नुपर्ने हुन्छ ।
कस्तो रेगुलेटर र पाइप प्रयोग गर्ने ?
एलपी ग्यास सिलिन्डरमा नेपाल गुणस्तर चिह्नप्राप्त रेगुलेटर प्रयोग गर्नु सबैभन्दा सुरक्षित हुन्छ । यसबाहेक ग्यास नियन्त्रण गर्ने भल्भयुक्त रेगुलेटर पनि बजारमा उपलब्ध छन्, त्यस्ता रेगुलेटर प्रयोग गर्नु पनि सुरक्षित हुन्छ । ग्यास पाइप प्लाष्टिकको प्रयोग गर्नु बिलकुल असुरक्षित हुन्छ । तीनवटा तह भएको ग्यास पाइप प्रयोग गर्नुपर्छ, पाइपलाई आगोले भेट्ने सम्भावना रहँदैन ।
सिलिन्डर घरबाहिर राख्नु सुरक्षित कि भित्रै ?
ग्यासको सिलिन्डर घरबाहिर या भित्र राख्नुले खासै अर्थ राख्दैन । तर, सिलिन्डरलाई ढाकेर नराख्न र दुई मिटरभन्दा बढी पाइप प्रयोग नगर्न सुझाव दिन्छन् ग्यास बिक्रेता महासंघका वरिष्ठ उपाध्यक्ष विष्णुप्रसाद दुलाल । उनका अनुसार सकेसम्म ग्यास डिलरबाटै लिनु सुरक्षित हुन्छ । तर, कुच्चिएको, म्याद गुज्रिएको ग्यास भने खरिद र प्रयोग गर्नु हुँदैन । सिलिन्डरको छेउमा जलन हुने अन्य वस्तु राख्नु हुँदैन, सिलिन्डरको माथिसमेत अन्य वस्तु राख्नु सुरक्षित हुँदैन ।
म्याद गुज्रिए/नगुज्रिएको कसरी थाहा पाउने ?
ग्यास सिलिन्डरमा राखिने मितिमा बाह्रवटा अंग्रेजी महिनाहरुलाई चारवटा भागमा विभाजन गरिएको हुन्छ– ए, बी, सी र डी । जुन सिलिन्डरको माथिपट्टि रिंगको भित्री भागमा लेखिएको हुन्छ । त्यसमा प्रत्येक अल्फाबेटमा तीन महिना समावेश हुन्छन् र त्यसको पछाडि लेखिएको अंक अंग्रेजी वर्ष हो । जस्तै– ए भन्नाले जनवरीदेखि मार्चसम्म भनेर बुझिन्छ । उदाहरणका लागि सिलिन्डरमा “ए २०२४” लेखिएमा त्यो सिलिन्डर मार्च २०२४ सम्म प्रयोग गर्न मिल्छ । यसअनुसार अवधि गुज्रिएको सिलिन्डर प्रयोग गर्नु जोखिम हुन्छ ।
सिलिन्डर बिस्फोट नभए पनि कसरी हुन्छ आगलागी ?
खाना पकाउन प्रयोग गरिने एलपी ग्यासमा प्रोपेन, ब्युटेनजस्ता अति प्रज्वलनशील ग्यासहरुको मिश्रण हुन्छ । हामीले बाल्दा सीमित मात्रामा ग्यास पास हुने र चुलोको आकारमा बल्ने भएकाले नियन्त्रित भएर बल्छ । तर, यो ग्यास हावामा खुल्ला भएमा सानो झिल्कोले पनि ठूलो आगो निस्किन सक्छ र आगलागी हुनपुग्छ । हामीले बत्तीको स्विच अन÷अफ गर्दा होस् या विद्युतीय समानहरु जोड्दा वा चार्ज गर्दा थोरै मात्रामा आगोको झिल्को निस्कन्छ । यसरी ग्यास कोठामा फैलिइरहेको अवस्था भए सानो झिल्कोका कारण पनि आगलागी हुनसक्छ ।
ग्यास चुहावट भएमा के गर्ने ?
थोरै मात्रामा ग्यास चुहावट भएको गन्धले पनि थाहा पाउन सकिन्छ । यस्तो अवस्थामा के कारणले चुहावट भएको हो, त्यसको समाधान गरिहाल्नुपर्छ । यसबाहेक धेरै फैलिएको वा ग्यास कोठाभरी भएको अवस्थामा पहिले बत्तीको स्विच थिच्ने वा त्यहीँ गएर केही गर्नेभन्दा झ्याल ढोका खोलेर ग्यास बाहिर जान दिनुपर्दछ । सबै ग्यास बाहिर गइसकेपछि मात्रै कोठामा जानु र रेगुलेटर बन्द गर्नु सुरक्षित हुन्छ ।
ग्यासबाट आगलागी भइहाले के गर्ने ?
सानो आगो भएमा चिसो कपडा, तन्ना वा यस्तै केही भिजाएर आगोलाई छोपेर निभाउन सकिन्छ । यसबाहेक प्रत्येक घरमा एउटा फायर एक्स्टिंग्युसर राख्नु पर्दछ । आगलागीको सुरुको अवस्थामा भए एक्स्टिंग्युसर सहयोगमा आगो नियन्त्रण गर्न सकिन्छ ।
यसलाई चलाउन ‘पिताथिब’ सजिलो सुत्र छ । सुरुमा यसको माथिल्लो भागमा भएको पिनलाई तान्ने, आगो बलेको ठाउँमा ताक्ने, त्यसको लिभरलाई थिच्ने र आगो लागेको भागमा बढार्ने । यसमा भएको एबीसी पाउडरले आगो नियन्त्रणमा लिन सकिन्छ । बाह्रखरी