२०८३ असार १७ बुधबार

मुलुकभर उनन्साठी प्रतिशत रोपाइँ

काठमाडौँ, असार ३० गते । असार सकिन लाग्दा मुलुकभर ५९ प्रतिशत अर्थात् आठ लाख हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

मुलकभर आठ लाख १६ हजार ४०५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको बाली विकास निर्देशनालयले जनाएको छ । गत वर्ष यस अवधिमा ६७.७ प्रतिशतमा धान रोपाइँ भएको थियो । यस वर्ष वर्षा समयमै सुरु भएर बिउ राखिए पनि रोप्ने बेलामा कम पानी परेकाले रोपाइँ भने कम भएको बाली विकास निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार असार सकिन तीन दिन बाँकी रहँदा आइतबारसम्म सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ९३.१ अर्थात् एक लाख ६३ हजार ९९३ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । कर्णाली प्रदेशमा ८३.२३ प्रतिशत अर्थात् ३४ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सिकिने क्रममा छ ।

लुम्बिनी प्रदेशमा ७३.६८ प्रतिशत अर्थात् २२ हजार ३२१ हेक्टर, गण्डकी प्रदेशमा ६६.९९ प्रतिशत अर्थात् ६३ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ भएको निर्देशनालयले जनाएको छ । यस्तै बागमती प्रदेशमा ७६.३१ प्रतिशत अर्थात् ९१ हजार ९८३ र कोशी प्रदेशमा ४१.३२ प्रतिशत अर्थात् एक लाख १४ हजार २११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ । सबैभन्दा कम मधेश प्रदेशमा ३३.७८ प्रतिशत अर्थात् एक लाख २५ हजार ८८८ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सकिएको छ । यस वर्ष १३ लाख ८३ हजार ७३२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ ।गोरखापत्र अनलाइन

 

२०८२ असार ३०, सोमबार प्रकाशित 1 Minute 172 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।