२०८२ असार १६ सोमबार

घट्यो सिमेन्ट र डन्डीको भाउ

ललितपुर, असार १६ गते । पछिल्लो साता सिमेन्ट र डन्डीको भाउ घटेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार उद्योगीले सिमेन्टको भाउ प्रतिबोरा ५० रुपियाँदेखि एक सय रुपियाँसम्म र डन्डीको भाउ प्रतिकेजी पाँच रुपियाँसम्म घटाएका हुन् ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालले पछिल्लो समय सिमेन्ट र डन्डीको उत्पादन गर्ने उद्योगमा लोडसेडिङ घटेर उत्पादनमा सहज भएको र माग पनि विगतभन्दा केही घटेकाले भाउ घटेको जानकारी दिनुभयो ।

यसअघि उद्योगमा १२ घण्टासम्म लोडसेडिङ भएको र उत्पादन लागत बढ्न गई सिमेन्टको मूल्य बढाउनु परेको उद्योगीले बताउँदै आएका थिए । नेपाल निर्माण व्यवसायी महासङ्घले पनि सिमेन्टको मूल्य प्रतिबोरामा एक सय रुपियाँसम्म र डन्डीमा प्रतिकेजी पाँच रुपियाँसम्म घटेको जनाएको छ ।

यस्तै उद्योगीले यसअघि भाउ बढाएर ओपिसी सिमेन्ट प्रतिबोरा ६७५ देखि आठ सय रुपियाँसम्म र पिपिसी सिमेन्ट प्रतिबोरा ५५० देखि ६७५ रुपियाँसम्म पुर्‍याएका थिए । अहिले त्यो मूल्यमा प्रतिबोरा सिमेन्टमा एक सय रुपियाँसम्म घटेको महासङ्घले जनाएको छ । प्रतिकेजी ९० देखि ९५ रुपियाँ कारोबार भएको डन्डीमा पाँच रुपियाँ घटेर प्रतिकेजी ८५ देखि ९० रुपियाँमा किनबेच भएको छ ।गोरखापत्र अनलाइन

 

२०८२ असार १६, सोमबार प्रकाशित 1 Minute 9 Views

ताजा समाचार