
दाने बोहरा
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका–३ स्थित उनापानीको औल बस्तीमा आगलागी हुँदा आठघर नष्ट भएका छन् । गएराति स्थानीयवासी विर्ख रावतको घरको गोठबाट सुरु भएको आगलागी आज विहानसम्म नियन्त्रणमा आउन नसकेको जनाइएको छ ।

राती ११ बजेतिर आगलागी हुँदा आठवटा घर जलेर पूर्ण रुपमा नष्ट भएका हुन्। राति ११ बजे विर्ख रावतको घरको गोठबाट आगलागी सुरू भइ धन बहादुर रातव र जनक रावतको घर जलेर नष्ट भएपछि अरु छिमेकीका बाँकी पाँच घरमा आगो लागेकाे पिडित धन बहादुर रावतले बताउनुभयो ।
आगो के कति कारणले लागेको कुनै जानकारी नभएको र सुरुमा आगलागी हुने गोठ विर्ख रावतका परिवार सबै लेखको वस्तिमा बस्ने र कसरी आगलागी भएको हो भन्ने थाहा नभएको रावतले बताउनुभयो ।
सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वको टोली राति दुई बजे घट्नास्थलमा पुगेर आगो नियन्त्रणमा ल्याउने कार्य गरिरहेको बताउनुभयाे ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलका अनुसार उनापानीको औल वस्तिमा आगलागी हुँदा विजन फडेरा, धन बहादुर रावत, जनक रावत, विर्ख रावत, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा, बाटुल्ली फडेराको घर जलेर नष्ट भएका छन् । अन्य छिमेकीका घरमा आगलागी हुन् नदिएको बताइएको छ ।
आगलागी हुँदा घरमा भएका अन्नपात, भाडाकुडा, लिउ फेरुवा, नागरीकता, घरको लालपुर्जा, अन्य कागजात सहित घरमा भएको नगद रुपैयाँ जलेर नष्ट भएको छ । पिडित धन बहादुर रावतका अनुसार आफ्नो घरमा भएको रु दुई लाख विस हजार नगद समेत जलेको दुख पोख्नुभयो । अन्य पिडितका घरमा भएको नगद समेत जलेको छ ।
उहाँले भन्नुभयो, ‘खुट्टामा लगाउने चप्पल समेत जलेर नष्ट भएको छ । भएको जतिका सबै सम्पति जलेका छन् ।’ मानविय क्षति कुनै भएको छैन् । अहिले सबै आगो नियन्त्रणमा लागि परेकाले क्षतिको विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।हिमालय टाइम्सबाट ।