
काठमाडौँ, असार २ गते । राष्ट्रिय परीक्षा बोर्डले यस पटकको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार तेस्रो साताभित्र प्रकाशन गर्ने भएको छ ।
विद्यालय तहका शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षणमा ढिलाई भएकाले यस पटक नतिजा गत वर्षभन्दा केही दिन ढिलो हुन लागेको हो । बोर्डका परीक्षा नियन्त्रक (कक्षा १०) डा. गणेश भट्टराईका अनुसार अहिले अघिकांश जिल्लाबाट उत्तरपुस्तिका परीक्षण सम्पन्न भएर प्राप्ताङ्क केन्द्रमा आइसकेको छ । परीक्षार्थीको प्राप्ताङ्कलाई कम्प्युटरमा प्रविष्ट (इन्ट्री) गर्ने काम भइरहेको छ । बोर्डले यसअघि परीक्षा सकिएको तीन महिनामा नतिजा निकाल्ने योजना बनाएको थियो । नेपाल शिक्षक महासङ्घको आह्वानमा काठमाडौँकेन्द्रित सडक प्रदर्शनका कारण उत्तरपुस्तिका परीक्षण झन्डै एक महिना ढिलो गरी सुरु भएको थियो ।गोरखापत्र अनलाइन
