२०८२ जेष्ठ २६ आईतवार

उत्पादन बढ्दा पनि दुध अझै अपुग

काठमाडौँ, जेठ २५ गते । मुलुक अन्डा र मासुमा पूर्ण रूपमा आत्मनिर्भर भए पनि दुधमा अझै आत्मनिर्भर हुन नसकेको तथ्याङ्कले देखाएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार मुलुकमा माग अनुसार उत्पादन हुँदा अन्डा र मासुमा आत्मनिर्भर भएको हो ।

संयुक्त राष्ट्र सङ्घको कृषि तथा खाद्य सङ्गठनका अनुसार एक वयस्क व्यक्तिका लागि वार्षिक न्यूनतम ९१ लिटर दुध, १४ किलोग्राम मासु र ४८ वटा अन्डा आवश्यक पर्छ ।

हालसम्मको उपलब्धता हेर्दा प्रतिव्यक्ति प्रतिवर्ष अन्डा ५५, मासु १५ किलोग्राम अर्थात् आवश्यकताभन्दा बढी रहेको र दुधको उपलब्धता भने ८९.६ लिटर रहेको छ । अन्डा र मासु आवश्यकभन्दा बढी उत्पादन भए पनि दुधमा भने आत्मनिर्भर नजिक पुगे पनि अझै आवश्यकताभन्दा कम रहेको तथ्याङ्कले देखाएको छ ।

आव २०८०/८१ मा लेयर्सको कुखुराको सङ्ख्या वृद्धि हुँदा अन्डा उत्पादन २.४ प्रतिशतले वृद्धि भएको थियो । यसबाट प्रतिवर्ष प्रतिव्यक्ति अन्डाको उपलब्धता ५५ वटा पुगेको छ । आव २०७९/८० मा एक करोड ६० लाख वटा अन्डा उत्पादन भएकोमा गत आव उत्पादन बढेर एक करोड ६५ लाख वटा उत्पादन पुगेको तथ्याङ्कले देखाएको छ ।

यस्तै आव २०८०/८१ मा राँगा, भैँसी, भेडा, सुंगुर/बङ्गुर तथा खसीबोकाको मासु उत्पादनमा वृद्धि भएकाले मासु उत्पादन ४.१ प्रतिशतले वृद्धि भई चार लाख ४८ हजार मेट्रिक टन उत्पादन पुगको छ । उत्पादन बढेका कारण पनि प्रतिव्यक्ति प्रतिवर्ष मासुको उपलब्धता १५ केजी पुगेको तथ्याङ्कले देखाएको छ।

यस्तै विगत तीन दशकदेखि सञ्चालित कृत्रिम गर्भाधान सेवा, नस्ल सुधार कार्यक्रम, सन्तुलित आहारको उपलब्धता, पशुरोग नियन्त्रण र पशुपालनका असर अभ्यासको प्रवर्धनले उन्नत नस्लका गाईभैँसीको सङ्ख्या तथा उत्पादकत्वमा वृद्धि भएको छ । आव २०८०/८१ मा कुल दुध उत्पादन करिब २.७ प्रतिशतले वृद्धि भई दुधको उपलब्धता ८९.६ लिटर प्रतिवर्ष प्रतिव्यक्ति पुगेको छ ।

चालु आव २०८१/८२ को फागुनसम्म दुध उत्पादन १७ लाख ८९ हजार मेट्रिक टन पुगको छ । आव २०८०/८१ मा दुध उत्पादन २६ लाख ८४ हजार मेट्रिक टन रहेको थियो । यसमध्ये गाईको दुधको हिस्सा ४७.८ प्रतिशत र भैँसीबाट उत्पादन भएको दुधको हिस्सा ५२.२ प्रतिशत रहेको छ । डेरी उद्योग सङ्घका अनुसार दैनिक ३१ करोड रुपियाँ बराबरको ७२ लाख लिटर दुध उत्पादन हुने गरेको छ ।गोरखापत्र अनलाइन

 

२०८२ जेष्ठ २६, आईतवार प्रकाशित 1 Minute 6 Views

ताजा समाचार