
स्केच : एआई
हात हातमा मोबाइल, ग्रामीण क्षेत्रसम्म इन्टरनेटको पहुँच र कुरियर सेवाले हुलाकको काम खुम्चिएको छ ।
नवीनराज कुइँकेल

लमजुङ, जेठ १४ गते । एक हातमा घमौरा बाँधेको लौरी र अर्कोमा चिठीपत्रले भरिएको झोला बोकेको व्यक्तिलाई देख्दा सर्वसाधारणले हुलाकी भनेर चिनिहाल्थे । तीन वटा घमौराजडित भाला बजार्दै ‘छन् छन्’ गरेपछि जतिसुकै भिड भए पनि हुलाकीलाई हिँड्न बाटो खुला हुन्थ्यो । हुलाकी र हल्काराले गाउँ सहर, देशपरदेशबाट आएका चिठीपत्र नागरिकका घरदैलोमा पुर्याउँथे । चिठी पढ्न नजान्ने/नसक्नेलाई बन्द खामभित्रको कागज पढेर आफन्तको सन्चोबिसन्चो, सुखदुःख, प्रगति, पीडा, मिलन बिछोडका खबर सुनाइ पनि दिन्थे ।
तीन दशकअघि यस्तै थियो हुलाक र नागरिकबिचको सम्बन्ध । अब जमाना फेरियो । नागरिकका हातहातमा मोबाइल आए । मोबाइलबाट छिनभरमै देशविदेशमा कुराकानी हुने भयो । विश्वका कुनै पनि कुनाका आफन्तको हालचाल बुझ्न पहिला जस्तो हप्तौँ र महिनौँ कुर्नु पर्दैन, तत्काल सम्भव हुन्छ अचेल । हुलाकमा काम गरेका पुराना कर्मचारी अहिले सूचना र सञ्चारको क्षेत्रमा आएको नवीन परिवर्तन देखेर दङ्ग छन् । इन्टरनेटमार्फत आफन्तसँग आमनेसामने कुराकानी गरेको देख्दा चिठीपत्रको जमाना एकादेशको कथा जस्तै बनेको छ, मस्र्याङ्दी–६ । बाहुनडाँडा निवासी हल्कारा तारा श्रेष्ठले भन्नुभयो, “हातहातमा मोबाइल, ग्रामीण क्षेत्रसम्म इन्टरनेटको पहुँच र कुरियर सेवाले हुलाकको काम खुम्चिएको छ ।”
हुलाक अचेल सरकारी कार्यालयका बोधार्थ चिठी बोक्ने काममा सीमित बन्न पुगेको छ । ठाउँ ठाउँमा राखेका पोस्ट अफिस र बक्सलाई सर्वसाधारणले क्रमशः बिर्संदै गएका छन् । आफन्तको खबर थाहा पाउन टेलिफोन र मोबाइलको घन्टी सुन्ने र थिच्ने बानी परेका नागरिकले हुलाकी आउने बाटो हेर्न पनि छाडेका छन् ।
मन लागेका बेला मोबाइलबाटै कुरा गर्न सकिने भएपछि किन चिठी लेख्ने, हुलाकमा जाने, झन्झट गर्ने ? राइनास चक्रतीर्थका नारायण पौडेल भन्नुहुन्छ, “मोबाइल आएपछि चिठीपत्र र हुलाकी हामी सबैका लागि बिरानो बनिसक्यो ।”
हुन पनि हुलाकमा वर्षौंअघि देखिने व्यस्तता र अहिलेको फुर्सदले चिठीपत्रका दिन घट्दै गएको पाइन्छ । आधुनिक सञ्चार प्रणालीसँगै निजी क्षेत्रमा खुलेका कुरियर, मनी ट्रान्सफर कम्पनीले छिटो सेवा दिने र हुलाकबाट त्यस्तो सहज सेवा नपाइने हुँदा सेवाग्राही घटेको सर्वसाधारणको बुझाइ छ ।
हुलाकी सेवा (पोस्टल सेवा) अहिले डिजिटल युगमा केही ओझेलमा परे पनि यसको ऐतिहासिक महत्व निकै गहिरो छ । नेपालमा हुलाक सेवा खास गरी सञ्चारका प्रमुख माध्यमका रूपमा प्रयोग हुन्थ्यो, विशेष गरी ग्रामीण भेगमा ।
हुलाक सेवाको सुरुवात
नेपालमा औपचारिक हुलाक सेवाको सुरुवात तत्कालीन राजा सुरेन्द्रविक्रम शाहको पालामा विसं १९३५ मा भएको मानिन्छ । त्यो समय पैदल हुलाक (डाँक बोक्ने मान्छे) बाट पत्र पुर्याइन्थ्यो । पछि जङ्गबहादुर राणाको बेलामा हुलाक सेवा विस्तार गरियो । भारतसँगको सम्बन्ध सुधारपछि नेपाल–भारतबिच हुलाकी मार्ग निर्माण भएको थियो, जसलाई हुलाकी सडक भनेर चिनिन्छ । पूर्वपश्चिम जोड्ने यो सडकले डाँक, व्यापार र यातायात सहज बनाउने उद्देश्य राखेर निर्माण सुरु गरिएको थियो तर अहिलेसम्म यो सडक सम्पन्न भएको छैन ।
नेपालमा पहिलो हुलाक टिकट विसं १९७१ (सन् १९१३) मा जारी गरिएको हो । यसले सरकारी पत्राचारलाई औपचारिकता दिएको थियो । जिल्ला र ग्रामीण क्षेत्रमा ‘हुलाक घर’ खोलिए, जहाँबाट डाँक पठाउने र लिने काम गरिन्थ्यो । एक समयमा हुलाक घर गाउँको प्रमुख सञ्चार केन्द्र थियो ।
हुलाक कर्मचारी
पहिलेका हुलाक कर्मचारी डाँडाकाँडा, खोला, जङ्गल पार गर्दै पत्र पुर्याउँथे । उनीहरूका लागि ‘हुलाकी पास’ भन्ने अनुमतिपत्र हुन्थ्यो, जसले राज्यका तर्फबाट उनीहरूलाई सहायता दिलाउँथ्यो ।आजको डिजिटल युगमा मोबाइल र इन्टरनेटले सञ्चारको स्वरूप बदलिदिए पनि हुलाकी सेवाले देशलाई एकताबद्ध बनाउन ऐतिहासिक भूमिका खेलेको तथ्य बिर्सन नहुने सरोकारवाला बताउँछन् ।
एक स्थानीय तह : एक स्मार्ट हुलाक
सरकारले हुलाक सेवाका पूर्वाधारलाई व्यवस्थित गर्दै कार्यक्षेत्रको विविधीकरण, सेवा प्रवाहमा आधुनिकीकरण र व्यवसायीकरण गर्नुका साथै एक स्थानीय तह : एक स्मार्ट हुलाक’ को अवधारणाको कार्यान्वयन गर्ने भएको छ ।
हाल देशका ७७ जिल्लामा एक एक वटा जिल्ला हुलाक सेवा कार्यालय स्थापित छन्, भने भौगोलिक स्थिति अनुसार देशमा ८४२ वटा इलाका हुलाक कार्यालय र तीन हजार ७४ वटा अतिरिक्त हुलाक सेवा कार्यालय छन् । आफ्नो सेवालाई अझ प्रभावकारी बनाउन पिआरटिएस प्रणाली पनि प्रयोगमा ल्याइएको छ । यस प्रणालीले चिठीपत्र तथा कुरियर कुन ठाउँमा छन् भनेर ‘लोकेसन’ पत्ता लगाउने काम गर्छ ।
साथै गोश्वारा हुलाक सेवा कार्यालयले आफ्नो एउटा मोबाइल एप पनि बनाएको छ । यसबाट हुलाक तथा यसका सेवाको सम्पूर्ण जानकारी सेवाग्राहीले पाउन सक्छन् । त्यति मात्र नभएर, आएका चिठीपत्र एकै दिनमा पुग्ने गरी ‘वान् डे डेलिभरी सर्भिस’ समेत व्यवस्था मिलाएको छ । त्यस्तै ई पोस्टको पनि सुरुवात गर्दै गरेको छ । कसरी हुन्छ हुलाक सेवाको कामलाई प्रभावकारी र भरपर्दो बनाउन सरकारले हुलाक ऐन २०१९ लाई परिमार्जन गरेर हुलाकको सेवालाई व्यवसायमूलक बनाउनका लागि प्राधिकरण अन्तर्गत लैजाने तयारी गरिरहेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।गोरखापत्र अनलाइन