२०८३ असार १७ बुधबार

बसको ब्रेक फेल भएर ठक्कर दिंदा तीन जनाको मृत्यु, तीनजना घाइते

मकवानपुर- मकवानपुरको थाहा नगरपालिका–३, स्कुल चोकमा सोमबार साँझ भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

गम्भीर घाइते भएका झम्केश्वरी माविका शिक्षक रघुनन्दन यादवको काठमाडौं ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का गम्भिर घाइते कमलेश कुमार साहको समेत ट्रमा सेन्टर मा उपचार जारी छ ।

त्रिभुवन राजपथ अन्तर्गत गोपाली गाउँबाट थानाबजारतर्फ जाँदै गरेको बा ३ ख ५९९० नम्बरको बसको ब्रेक फेल भई दुर्घटना भएको थियो । सडकमा हिँडिरहेका पैदलयात्रुलाई ठक्कर दिँदै बस थाहा नगरपालिकाका उप–मेयर भरत गोपालीको घरभित्र पसेको थियो ।

दुर्घटनामा लेखापढी व्यवसायी थाहा–९ निवासी कृष्ण बलामी र बिष्णुपुर गाउँपालिका–५, सप्तरी स्थायी घर भई हाल झम्केश्वरी माविमा कार्यरत शिक्षक लोकेन्द्र कुमार ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो ।

बारा जितपुर सिमरा उपमहानगरपालिका-१७ का ३२ वर्षीय छेयाङ दोर्जे लामा र बारा कोल्बी नगरपालिका–१ का ३० वर्षीय रामगुलाम चौधरी सामान्य घाइते भएका छन् । उनीहरूको उपचार पालुङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा भइरहेको छ ।

बसका चालक थाहा नगरपालिका–५ का अन्दाजी २९ वर्षीय राजेश कार्कीलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ ।नेपाल टिभी अनलाइनबाट ।

२०८२ जेष्ठ १३, मंगलवार प्रकाशित 1 Minute 194 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।