२०८२ जेष्ठ ८ बुधबार

सङ्कटमा नारायणीका जलचर

नारायणी नदी किनारमा सङ्कलित प्लास्टिकजन्य फोहोर ।

वसन्त पराजुली

नारायणगढ, जेठ ७ गते । बढ्दो प्रदूषण र बिनाप्रशोधित ढल नारायणी नदीमा सिधै मिसाउने कार्य तत्काल नरोक्ने हो भने नदीमा रहेका जलचरमा सङ्कट आउने चेतावनी विज्ञले दिएका छन् । नदी तटमा बढ्दो प्लास्टिकजन्य फोहोर र बिनाप्रशोधित ढल नारायणीमा मिसिँदा यसले पानीमा अक्सिजनको मात्रा कम हुँदै गएको र अम्लीयपना बढ्दै गएकाले यहाँ रहेका माछा, गोही जस्ता जलचरको स्वास्थ्यमा समेत गम्भीर प्रभाव पर्न थालेको छ ।

लामो समयदेखि नारायणी नदीमा रहेका जलचरको अवस्था अध्ययन गरिरहनुभएका त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान शाखा केन्द्रीय क्याम्पसका उपप्राध्यापक दीपनारायण शाह नारायणी नदीमा बढेको प्रदूषणले जलचरको वासस्थान र जीवनचव्रmमै असर गरेको दाबी गर्नुहुन्छ ।

“माछाको वासस्थानमा परेको प्रभावले यसको जीवनचव्रmमै असर परेको हामीले पाएका छौँ,” उहाँले भन्नुभयो । “हाम्रो अध्ययनले नारायणी नदीको कतिपय स्थानको पानीको अम्लीयपन ५.८ देखि ६.२ मात्रै देखिन्छ । जबकि एकदेखि १४ सम्मको रेन्जमा अम्लीय परीक्षण गरिँदा सातभन्दा कम अङ्क भए त्यो पानीमा अम्लीय भएको मानिन्छ,” उहाँले भन्नुभयो । पानीमा अम्लीयपनमा छदेखि आठको अवस्था जलचरको वासस्थानका लागि उपयुक्त अवस्था मानिन्छ ।

शाहको टोलीले गरेको अध्ययनमा नारायणीको पानीमा हुनुपर्ने अक्सिजनको मात्रा पनि कम हुँदै गएको देखाएको छ । “पानीमा अक्सिजनको मात्रा प्रतिलिटर ४.५ मिलिग्राम हुनु पर्छ तर अहिले नारायणीको कतिपय ठाउँको पानीमा तीन मिलिग्राम पनि अक्सिजन देखिँदैन,” उहाँले भन्नुभयो । यही अनुपातमा अक्सिजनको मात्रा घट्दै र अम्लीयपन बढ्दै जाँदा नारायणीको पानीमा जलचरको स्वस्थतामै प्रभाव पर्ने अवस्था आउने चिन्ता उहाँमा छ । यसको प्रमुख कारण नै नारायणी नदी प्रदूषित हुनु हो ।

“नदीमा बढ्दो रासायनिक मल तथा विषादीको प्रयोगले नाइट्रेड फस्फोरसको मात्रा बढ्दै जाँदा यो समस्या आएको हो,” उहाँले भन्नुभयो । यो किसानले खेतीपातीमा राख्ने रासायनिक मल तथा विषादीको असर होस् वा माछा मार्न प्रयोग गरिने विषादी, उद्योग तथा कलकारखाना तथा सहरका ढल सिधै पानीमा मिसाइँदा पनि जटिलता थपिएको छ । बेटर चितवनले हालै सार्वजनिक गरेको एक अध्ययनमा नारायणगढ वजारमा मात्रै सात ठाउँबाट सिधै प्रशोधन नगरिएको ढल नदीमा मिसाइएको उल्लेख छ ।

“छ वटा ढल त नारायणगढको प्रदर्शनी स्थलमा मात्रै छ । एउटा ढल तीन नम्बर वडा कार्यालयनजिकै छ,” अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै बेटर चितवनका अध्यक्ष सागर कार्कीले भन्नुभयो । यस्ता ढल औद्योगिक क्षेत्रमा पनि देखिन्छ । यहाँ त अझै केमिकलयुक्त ढलको असर बढी छ । यो समस्या चौधरी उद्योग क्षेत्रमा बढी रहेको उपप्राध्यापक शाहको अध्ययनमा उल्लेख छ ।

नेपालमा १२५ प्रजातिका माछा पाइन्छन् । विशेषतः बग्ने पानीमा रहने धेरै प्रजातिका माछा नारायणीमा पाइन्छन् । घडियाल गोही, मगर गोही, डल्फिनलगायतका दुर्लभ जीव मात्रै नभएर पाँच प्रजातिका कछुवा, सहर, ट्याङ्ग्रा, जलकपुर जस्ता विश्वमै दुर्लभ हुँदै गएका माछाको पनि प्रमुख वासस्थान हो, नारायणी नदी । यो नदीमा अहिले ढलसँगँ प्लास्टिकको समस्या पनि बढी देखिन्छ । देवघाटदेखि गोलाघाटसम्म झन्डै ४० किलोमिटरभित्र नदी किनारमा बेटर चितवनले गरेको फोहोरको लेखाजोखामा पनि प्लास्टिक नै बढी देखाएको छ ।

“नारायणी नदीमा फोहोरको संरचना हेर्ने हो भने प्लास्टिकको मात्रा ४२.५५ प्रतिशत भेटिन्छ । यसको प्रत्यक्ष असर पानीको सतहसम्म पुगेको छ,” अध्यक्ष कार्कीले भन्नुभयो । डाक्टर शाह पनि नारायणीको पानीमा प्लास्टिक सिधै र प्लास्टिकका कणको प्रभाव रहेको स्विकार्नुहुन्छ ।

“हामीले गरेकै अध्ययनमा बागमती नदीका ८० प्रतिशत माछाका पेटमा प्लास्टिक भएको निष्कर्ष निकालेका हौँ । नारायणी नदीमा यही मात्रामा छ त भन्दिन तर पानीको तल्लो तहसम्म प्लास्टिक पुग्दा यसको असर देखिन्छ,” उहाँले भन्नुभयो । पानीको कण कणमा प्लास्टिक रहँदा त्यो पानी माछाले खाने, त्यही प्लास्टिक खाएका साना माछालाई ठुलो माछाले खाने अनि त्यो माछा मान्छेले खाँदा मान्छेको पेटसम्म प्लास्टिक आइपुगेको दाबी उहाँको छ ।

“पानीको लेउ लाग्ने भाग सबै प्लास्टिकले भरिएको छ । लेउ भनेर माछाले प्लास्टिक खाइरहेको छ,” उहाँले भन्नुभयो । जलचरविज्ञ वेद खड्का नारायणी नदीमा बढ्दो प्रदूषण र प्लास्टिकजन्य फोहोरका कारण वासस्थानमा आएको समस्याकै कारण कतिपय गोहीले पानीमै अन्डा पार्ने गरेको बताउनुहुन्छ । “नदीबाहिरको बगरमा पार्नुपर्ने गोहीले अन्डा पानीमा पार्दा यो खेर जाने गरेको छ । यसका कारण नै नदीमा बढ्दै गएको प्रदूषण नै हो,” उहाँले भन्नुभयो ।

“गोहीले बालुवामा अन्डा पा¥यो भने त्यो निश्चित दिनमा आफैँ कोरोलिएर बच्चा बन्छ तर अहिले त पानीमै फुल पार्न थालेपछि त्यो खेर जाने नै भयो,” उहाँले भन्नुभयो । यसका साथै देवघाटदेखि त्रिवेणीसम्मको एक अध्ययनमा कतिपय ठाउँमा माछा नै भेटिएको छैन भने भेटिएका ठाउँमा पनि फोहोरमा बस्न सक्ने माछा मात्रै छन् । विज्ञ शाह भन्नुहुन्छ, “मानवीय गतिविधि र लापर्बाहीका कारण नारायणी नदी दूषित बन्दै गएको छ ।”गोरखापत्र अनलाइन

 

२०८२ जेष्ठ ८, बुधबार प्रकाशित 1 Minute 7 Views

ताजा समाचार