२०८२ बैशाख २९ सोमबार

आज २५६९ औँ बुद्धजयन्ती मनाइँदै

काठमाडौं- शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५६९औँ जन्मजयन्ती आज घर, गुम्बा, चैत्य, विहारमा श्रद्धा भक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउने योगदानको स्मरण गरी मनाईंदैछ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व सिद्धार्थ गौतम अर्थात् शाक्यमुनि बुद्धले शान्तिको सन्देश फैल्याउन पुर्‍याउनुभएको योगदानको स्मरणमा उहाँप्रति आराधना, ध्यान गरी मनाइने गरिन्छ ।

भगवान विष्णुको नवौँ अवतारका रुपमा कपिलवस्तु राज्यका राजा शुद्धोधन र मायादेवीका सुपुत्रका रुपमा उहाँले हालको रुपन्देहीको लुम्बिनीमा जन्म लिनुभएको थियो ।

राजकुमारका रुपमा प्राप्त हुने सुखसयल छोडी दुःख निवारणको कारण खोज्न २९ वर्षको उमेरमा सिद्धार्थ गौतम तपस्याका लागि निस्कनुभयो । तपस्याबाट प्राप्त बुद्धत्वका माध्यमबाट उहाँले विश्व शान्ति स्थापनाका लागि सहयोग पुर्‍याउनुभयो ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

उहाँको जीवनका तीन महत्वपूर्ण घटना वैशाख शुक्ल पूर्णिमाका दिन भएकाले आजको दिनलाई बौद्धमार्गीले त्रिसंयोग दिवसका रुपमा पनि मनाउने गर्छन् ।

“अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो”, यस्ता अनेकौँ कालजयी सन्देशका वाहकका रुपमा भगवान् गौतम बुद्धको परिचय विश्वव्यापी बनेको छ ।

बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवम् बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गरिन्छ । लुम्बिनी, स्वयम्भू, बौद्धलगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने कार्यक्रम छ ।नेपाल टिभी अनलाइनबाट ।

२०८२ बैशाख २९, सोमबार प्रकाशित 1 Minute 10 Views

ताजा समाचार