
धनगढी, वैशाख २४ गते । थारू कला, संस्कृतिको खुला सङ्ग्रहालयका रूपमा परिचित कैलालीको होमस्टे गाउँ भादा देशकै उत्कृष्ट घोषित भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको तारागाउँ विकास समितिले होमस्टे गाउँ भादालाई यस वर्ष मुलुककै उत्कृष्ट होमस्टे घोषित गरेको हो । साथै समितिले होमस्टे गाउँ भादालाई एक लाख रुपियाँ पुरस्कार पनि प्रदान गरेको छ ।

धनगढी उपमहानगरपालिका–१६ स्थित यो गाउँमा २०६७ सालबाट होमस्टे सुरु गरिएको थियो । थारू समुदायको मात्रै बसोबास रहेको भादा गाउँवासीले थारू समुदायका विभिन्न परम्परागत नृत्य, गीत, वेशभूषालाई होमस्टेका माध्यमबाट प्रवर्धन गर्ने कार्य गर्दै आएका छन् । मौलिक कला, संस्कृति जोगाउने कार्यमा डटेर लागेका कारण होमस्टे गाउँ भादालाई थारू संस्कृतिको खुला सङ्ग्रहालयका रूपमा लिने गरिएको छ ।
होमस्टे सञ्चालन गरेको डेढ दशकको अवधिमा होमस्टे गाउँ भादाले थारू समुदायको कला, संस्कृतिको संरक्षण, प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको समितिको ठहर छ ।
कला, संस्कृतिसहित, पर्यटन क्षेत्रमा पुर्याएको योगदानलगायत विभिन्न मापदण्डका आधारमा समितिले होमस्टे गाउँ भादालाई यस वर्ष देशकै उत्कृष्ट होमस्टे घोषित गरेको जनाइएको छ । “समितिले भनेका सबै मापदण्ड हामीले पूरा गरेका कारण यस वर्ष उत्कृष्ट घोषित भएका हौँ,” थारू होमस्टे गाउँ भादा पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीनारायण चौधरीले भन्नुभयो ।
भादामा २० घरमा होमस्टे सञ्चालनमा रहेको छ । प्रदेशको अस्थायी राजधानी धनगढीबाट १८ किलोमिटरको दुरीमा रहेको यो होमस्टेमा थारू परिकारको स्वाद लिनका लागि आगन्तुक पुग्ने गरेका छन् ।
यसै गरी बर्दियाको डल्ला होमस्टे दोस्रो उत्कृष्ट होमस्टे बनेको छ । सो होमस्टेलाई ७५ हजार रुपियाँले पुरस्कृत गरिएको छ । यस्तै काठमाडौँको हाँडीगाउँ होमस्टे तेस्रो भई नगद ५० हजार रुपियाँ पुरस्कारको हकदार बनेको छ ।गोरखापत्र अनलाइन