
काठमाडौँ, वैशाख २१ गते । नेपालको सबैभन्दा पुरानो मित्रराष्ट्र संयुक्त अधिराज्यका राजा चार्ल्स तृतीयको जन्म दिवस नेपालमा मनाइएको छ । काठमाडौँस्थित बेलायतको दूतावासले उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा एक समारोहकाबिच राजा चार्ल्सको जन्म दिवस मनाएको हो ।
कार्यक्रममा बेलायतका राजदूत रब फेनले नेपालको प्रगतिले विश्वव्यापी ध्यान आकर्षित गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “लन्डनमा वित्तदाताहरूले नेपाललाई लगानीका लागि एक आकर्षक गन्तव्यका रूपमा कुरा गर्न थालेका छन् । उहाँहरूको नेपालप्रति भावनात्मक लगाव छ । जुन हालै सम्पन्न अधिराजकुमार–अधिराजकुमारीको सशानदार भ्रमणले पनि ताजा गराएको छ ।” विगतमा पदयात्रामा नेपालमा आएका बेलायती पदयात्रीले नेपालसँगको व्यापार सम्बन्धलाई स्थापित गर्न सघाएको स्मरण राजदूत फेनले गर्नुभयो ।

राजदूत रब फेन र राजदूतपत्नी जुलिया फेनले राजा चार्ल्स तृतीयको जन्म दिवसका अवसरमा उपराष्ट्रपति यादवसहित अमेरिका, युरोपियन युनियनलगायतका राजदूत, संयुक्त राष्ट्रसङ्घीय निकायका प्रतिनिधि, नेपालका वरिष्ठ सरकारी अधिकारी, शिक्षाविद्, चिभिनिङ अन्तर्गत बेलायतमा अध्ययन गरेका पूर्वविद्यार्थी, विकास साझेदार, कूटनीतिक समुदायका व्यक्तित्व, सञ्चारकर्मीलगायतको सहभागिता थियो । बेलायतका अधिराजकुमार/अधिराजकुमारीको हालसालैको भ्रमणपछि आयोजना गरिएको यस जन्म दिवसले नेपाल र बेलायतबिचको अद्वितीय सम्बन्धलाई फेरि एक पटक उजागर गरेको दूतावासले जनाएको छ ।
दुई देशका जनता–जनताको मित्रता, गोर्खालीहरूको बेलायतका लागि भूमिका, व्यापार तथा लगानी सम्बन्ध, शैक्षिक सहकार्य र नेपालसँगको विकास साझेदारीका बारेमा सो अवसरमा चर्चा गरिएको थियो । बेलायतका राजाको जन्म दिनलाई बेलायतको राष्ट्रिय दिवसका रूपमा मनाउने गरिएको छ । नेपालसँग बेलायतको सन् १८१६ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।गोरखापत्र अनलाइन