२०८२ बैशाख १४ आईतवार

बिजुलीले बढायो मकै खेती

बबई (बर्दिया), वैशाख १४ गते । बर्दियामा बढ्दो विद्युतीकरणसँगै बर्दियाका कृषक नगदे बाली मकै खेतीतर्फ आकर्षित हुन थालेका छन् ।

कुनै समय अन्नको भण्डार भनेर चिनिएको बर्दिया जिल्लामा धान खेती हुने गरेको थियो । पर्याप्त सिँचाइ नभएका कारण हिउँदे खेती नगर्ने कृषक केही वर्षयता बढ्दो विद्युतीकरणसँगै हिउँदे र बसन्ते मकै खेतीतर्फ पनि आकर्षित हुन थालेका हुन् ।

पहिला पहिला दुई सिजन मात्र खेती हुने गरेको बर्दियामा अहिले हिउँदको समयमा मात्र दुई सिजन मकै खेती हुने गरेको छ । खेत खेतमा सिँचाइ सुविधा भएपछि कृषकले मङ्सिर र माघमा दुई पटक मकै खेती गर्ने गरेका छन् । वर्षाको समयमा लगाइने मकैभन्दा हिउँदको समयमा लगाइने मकैको उत्पादन बढी हुने भएपछि कृषकले हिउँदे मकै लगाउन थालेका हुन् ।

गाउँ गाउँमा बिजुली बत्तीको विकाससँगै यतिबेला बर्दियाको खेतबारीमा हरियो मकै देख्न सकिन्छ । बर्दियामा मङ्सिरमा ११० हेक्टर र माघमा चार हजार १७० हेक्टर जमिनमा मकै खेती हुने गरेको छ ।

पहिले धान खेतीमा निर्भर हुने गरेका कृषक खेतबारीमा बिजुली पुगेसँगै मकै उत्पादनमा लागेको गुलरिया नगरपालिका–४ का स्थानीय गोपाल ओलीले बताउनुभयो । गुलरिया नगरपालिका–६ का स्थानीय अनिल पौडलले पर्याप्त पानी भएमा खेतबारीमा मकै उत्पादन राम्रो हुने र एउटै बोटमा पनि तीन/चार वटासम्म घोगा लाग्ने र उत्पादन भएको मकै सजिलै बिक्री पनि हुने भएकाले आफूहरूले हिउँदे मकै खेती गर्न थालेको बताउनुभयो ।

बर्दियामा कात्तिकमा लगाइने मकैलाई हिउँद र माघमा लगाइने मकैलाई बसन्ते मकै भनेर परिभाषित गरिन्छ । कृषकले उत्पादन गरेको मकै बिक्री र सिँचाइमा समेत सहयोग गर्दै आएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका प्रमुख सागर ढकालले बताउनुभयो । बिजुलीकरण र सिँचाइ सुविधाका लागि बर्दियाका स्थानीय तहले समेत काम गर्दै आएका छन् । हिउँदे बालीतर्फ पनि आकर्षित गर्न बढ्दो बिजुलीकरणसँगै कृषकलाई सिँचाइ सुविधाका लागि निःशुल्क मोटर वितरण गरिएको गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले बताउनुभयो ।गोरखापत्र अनलाइन

 

२०८२ बैशाख १४, आईतवार प्रकाशित 1 Minute 9 Views

ताजा समाचार