३० भदौ, चितवन । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलताल भन्ने ठाउँबाट त्रिशूली नदी किनारमा खसेको भेटिएको ट्रकको दुर्घटना शंकास्पद देखिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् डीएसपी भेषराज रिजालका अनुसार आज बिहान ना ६ ख ६२८३ नम्बरको ट्रक त्रिशूली नदी किनारमा खसेको भेटिएको थियो ।
तर त्यसका चालक र सहचालक भने सम्पर्कविहीन छन् । दुर्घटना शंकास्पद मानेर प्रहरीले चालक र सहचालकको खोजी गरिरहेको छ ।
राति त्यही ठाउँमा रोकेको देखिएको थियो ट्रक
डिएसपी रिजालका अनुसार उक्त ट्रक भैरहवाबाट सनफ्लावर (सूर्यमुखी) तेल लोड गरेर ललितपुर जाँदै थियो ।
राति करिब ८ बजेतिर उक्त ट्रक त्यहीँ सिमलतालनेर रोकिएको देखिएको थियो । ‘राति जुन ठाउँमा रोकिएको देखिएको थियो, त्यहाँबाट थोरै अगाडि बढेर ट्रक तल खसेको पाइएको छ,’ डिएसपी रिजालले भने ।
उनका अनुसार उक्त ट्रक भैरहवाबाट २ हजार २२५ कार्टुन सूर्यमुखी तेल लोड गरेर ललितपुरका लागि प्रस्थान गरेको थियो । तर त्रिशूली किनारमा भेटिएको ट्रकमा आधा जति तेल छैन । त्यहाँ तेल पोखिएको वा खसेको निशान पनि नभएकाले प्रहरीले दुर्घटनालाई शंकास्पद मानेको हो ।
‘यो दुर्घटना शंकास्पद छ,’ डिएसपी रिजालले भने, ‘ट्रकका चालक र सहचालकको मोबाइल स्विच्डअफ छ । उनीहरु त्रिशूलीमा नदीमा डुबेको जस्तो पनि लाग्दैन । हामी उनीहरुलाई खोजिरहेका छौं ।’