काठमाडौं । एसईई परीक्षाको नतिजा कमजोर देखिनुमा शिक्षक–विद्यार्थी अनुपात नमिल्नुलाई पनि एक कारक मानिएको छ । शिक्षा मन्त्रालय स्वयंको निष्कर्ष पनि यस्तै छ ।
शिक्षामन्त्री सुमना श्रेष्ठ अझै पनि सामुदायिक विद्यालयहरुमा शिक्षक–विद्यार्थी अनुपात नमिलेको बताउँछिन् । २०८१ जेठ अन्तिमसम्म १९ सय शिक्षक दरबन्दी मिलान गर्न बाँकी रहेको उनले जानकारी दिइन् ।
वर्ष २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी ४ लाख ६४ हजार ७८५ विद्यार्थीमध्ये २ लाख ४२ हजार ९२ जना मात्रै ‘ग्रेडेड’ भए । २ लाख ४२ हजार ३१३ जना ‘नन–ग्रेडेड’ भएकाहरु साउन २३ गतेदेखि हुने पूरक परीक्षामा सहभागी हुँदैछन् ।
ग्रेडेड भएका २ लाख ४२ हजारमध्ये ५३ प्रतिशत सामुदायिक विद्यालयका र ४६ प्रतिशत संस्थागत अर्थात् निजी विद्यालयका विद्यार्थी छन् । तर एसईईमा सहभागी विद्यार्थी संख्याका आधारमा हेर्ने हो भने निजी विद्यालयका ७८ र सामुदायिकका ३६ प्रतिशत विद्यार्थी ग्रेडेड भएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।
कोसी प्रदेशबाट एसईईमा सहभागी ७५ हजार ९८८ जनामध्ये ३६ हजार ९३ जना ग्रेडेड भए । मधेशबाट सहभागी ७९ हजार ५९२ मध्ये ३७ हजार ३०६ जना, बागमतीबाट सहभागी ९९ हजार ८७२ मध्ये ६६ हजार २९ जना ग्रडेड भए । बाह्रखरी