२०८१ आश्विन २६ शनिबार

साउनदेखि लाइसेन्स बोक्न नपर्ने, राष्ट्रिय परिचय पत्रले काम गर्ने

सरकारले साउन १ गतेदेखि लाइसेन्ससहित आधा दर्जन कागजपत्रको सट्टा राष्ट्रिय परिचय पत्रलाई नै प्रयोगमा ल्याउने भएको छ ।राष्ट्रिय परिचयपत्र बनाउने र लिन नआउनेको संख्या बढेपछि परिचयपत्र थुप्रिएको छ । सर्वसाधारणले बेवास्ता गरेपछि सरकारले साउन पहिलो सातादेखि प्रयोग व्यापक बढाउने नीति लिएको हो ।

तयार भइसकेको परिचयपत्र लिन नागरिक नआउँदा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कार्ड थुप्रिएको छ । १ करोड ४९ लाख जनाले राष्ट्रिय परिचयपत्र बनाउने प्रक्रिया पूरा गरेर नम्बर लिइसकेका छन् । सरकारले राहदानी बनाउनलाई परिचयपत्रको नम्बर अनिवार्य गरेपछि सर्वसाधारण बाध्यताबस बनाइरहेका छन् ।

यसबाहेक परिचयपत्रको अन्य कुनै प्रयोग छैन । सोही कारण परिचयपत्र बनाउने प्रक्रिया पूरागरेर नम्बर लिए पनि कयौँ नागरिक राष्ट्रिय परिचयपत्र लिन गएका छैनन् । १ करोड ५९ लाख जनाले परिचयपत्र बनाउने प्रक्रिया पूरागरेकोमा यसमध्ये ३८ लाख जनाको परिचयपत्र छपाइ भइसक्यो । यीमध्ये ८ लाख जनाले मात्रै परिचयपत्र लिएको विभागका परिचयपत्र महाशाखाका निर्देशक मुकेशकुमार केसरी बताउछन् ।
‘सर्वसाधारण परिचयपत्र नै लिन आइरहेका छैनन्,’ उनले भने, ‘यसको प्रयोग नआउँदा लिन नआएको हुन सक्ने हाम्रो आकलन छ ।’

परिचयपत्रको वितरणसमेत व्यापक बनाउने योजनामा विभाग छ । अहिलेसम्म परिचयपत्रको काम नै नभएपछि साउन १ गतेदेखि भने व्यापकरुपमा प्रयोगमा ल्याउने निर्णय सरकारले गरेको छ । यही जेठ २४ गते बसेको मन्त्रीपरिषद्को बैठकले साउन १ गतेदेखि यसको प्रयोग बढाउने निर्णय गरेको थियो ।

मन्त्रीपरिषद्को बैठकअनुसार साउन पहिलो सातादेखि सवारी चालक लाइसेन्स, प्यानकार्ड र मतदाता परिचयपत्रको साटो परिचयपत्र प्रयोग गर्दा हुने व्यवस्था गरिनेछ । यस्तै स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्ता र पेन्सन लिन परिचयपत्र अनिवार्य गरिनेछ । यी काममा भने नम्बर मात्रै भए पनि पुग्नेछ ।

‘मन्त्रीपरिषद्को बैठकले गरेको निर्णय अनुसार ५÷६ वटा सरकारी कागजको सट्टा राष्ट्रिय परिचयपत्र प्रयोग गर्ने तयारी भइरहेको छ,’ निर्देशक केसरीले भने । नागरिकताले गर्ने सबै काम सहजै परिचयपत्रबाट हुने नै छ ।

तर योबाहेक अन्य सरकारी काम कारबाहीमा पनि परिचयपत्र नै प्रयोगमा ल्याउने सरकारी तयारी छ । विमानस्थल, बैंक र अन्य क्षेत्रमा समेत नागरिकताको साटो राष्ट्रिय परिचयपत्रले नै काम चल्नेगरी व्यवस्था गर्ने तयारी विभागले गरिरहेको छ ।

तर अब बन्ने लाइन्सेन्स, मतादाता परिचयपत्र र प्यान कार्डमा परिचयपत्र नम्बर ‘लिङ्क’ गर्न पहिला नै वितरण भइसकेका कागजपत्रमा भने सहज छैन । सोहीकारण, ‘नागरिक एप’ वा अन्य कुनै माध्यमबाट क्यूआर गर्न मिल्ने व्यवस्था गरिनेछ ।

२०८१ असार १, शनिबार प्रकाशित 0 Minutes 161 Views

ताजा समाचार