२०८१ असार ४ सोमबार

विराटनगरमा कार डिभाइडरमा ठाेक्किँदा दुर्घटना, चालककाे मृत्यु

विराटनगर महानगरपालिका–२ पिपल चोकमा शनिबार बिहान कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

बरगाछीबाट कञ्चनबारीतर्फ जाँदै गरेको को २ च ३०३१ नम्बरको कार आफैं अनियन्त्रित भइ सडकबीचको डिभाइडरमा ठोक्किएर बिहान २:४५ बजेतिर दुर्घटनामा परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए।

उनका अनुसार दुर्घटनामा परेर कार चालक विराटनगर–५ का ३८ वर्षीय राजेन्द्रप्रसाद यादवको मृत्यु भएको छ। गम्भीर घाइते भएका यादवलाई उपचारका लागि विराट नर्सिङ होममा भर्ना गरिएको थियो। उपचारका क्रममा बिहान ६:३० बजेतिर मृत्यु भएको डीएसपी बस्नेतले बताए। तीव्र गतिका कारण कार दुर्घटनामा परेको हुनसक्ने प्रहरीले जनाएको छ। कारभित्र चालक मात्रै रहेको खुलेको छ।

शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखिएको छ। घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ।

२०८१ जेष्ठ ६, आईतवार प्रकाशित 0 Minutes 113 Views

ताजा समाचार