काठमाडौं । त्रिभुवन विमानस्थलमा प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच भएको हातपातको घटनाको छानबिन गर्न थप एक दिन म्याद दिइएको छ।
गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा बनेको तीन सदस्यीय समितिका लागि थप एक दिन समय दिइएको प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए। शनिबारदेखि काम थालेको समितिको म्याद आज सकिएको हो।
तर प्रतिवेदन बुझाउन समय अभाव भएपछि मंगलबार बुझाउने गरी समय थप भएको हो। उक्त समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बाँस्तोला र अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य छन्।
गत शुक्रबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकिङ गर्ने क्रममा प्रहरी र अध्यागमन कर्मचारीबीच हातपात भएको थियो। अध्यागमन अधिकृत छायालाल मोक्तानमाथि प्रहरीले सुरूमा हातपात गरेको बताइएको थियो।
यद्यपि प्रहरीले पनि आफूहरूमाथि अध्यागमन अधिकृत मोक्तानले सुरूमा हातपात गरेपछि घटना भएको दाबी गर्दै आएको छ। यस घटनामा संलग्न प्रहरीलाई कारबाही गर्नुपर्ने भन्दै कर्मचारीहरू आन्दोलनरत छन्। आइतबार कर्मचारीहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ समेतलाई भेटेका थिए। सेतोपाटी