काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपाल—भारत सीमा समस्या समाधानका लागि कूटनीतिक पहल सुरू भइसकेको बताएका छन्।
सोमवार भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल भारत भ्रमणमा गएका बेला भारतीय समकक्षी नरेन्द्र मोदीसँग सीमा समस्याका बारेमा भएको सहमतिअनुसार समाधानका पहल अघि बढाइएको बताए।
मन्त्री साउदले सीमानाको समस्या समाधान गर्दा राजनीतिक रूपमा सहमति हुनुपर्ने बताए। उनले प्रशासनिक रूपमा रहेको मेकानिजम पनि क्रियाशील भई अहिले तथ्यको आधारमा दुवै देशबीच समस्या समाधानका लागि कूटनीतिक पहल चलिरहेको बताए।
‘यो कुरा दुवै देशबीच सुरू भइसकेको छ। भर्खरै मात्र भारतका परराष्ट्रमन्त्रीको नेपाल भ्रमणको सिलसिलामा पनि हामीले वार्ता र छलफलको प्रक्रियाबाट यो समस्याको समाधान गर्छौं भन्ने प्रतिवद्धता व्यक्त गरिसकेका छौँ,’ उनले भने।
उनले हालै भारतका विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा पनि सीमा समस्या समाधानको प्रतिबद्धता भएको बताए। मन्त्री साउदले आर्थिक समस्या समाधानका लागि सरकारले हाइड्रो इनर्जीलाई विस्तार गरी भारत, बंगलादेशसँग विद्युत व्यापार बढाउनुपर्ने बताए।
उनले अन्तर्राष्ट्रिय समुदायले नै प्रतिवद्धता क्लिन इनर्जी रहेकाले नेपालले त्यसको सदुपयोग गर्न सक्नुपर्ने बताए। सेतोपाटी