२०८१ माघ २६ शनिबार

विमानस्थलमा कर्मचारी र प्रहरीबीच हानाहान, भित्री कारण ‘भिजिट भिसा’ !

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार अध्यागमनका कर्मचारी र प्रहरीबीच हानाहान भएको छ । अध्यागमनका कर्मचारी ड्युटी सकेर फर्किने क्रममा प्रहरीले चेकजाँच गरेपछि भनाभन भएको थियो ।

भनाभन हुन थालेपछि अध्यागमनका कर्मचारीले प्रहरीमाथि हात हालेका थिए । अधिकृत छायालाल मोक्तानले पहिले हात हालेपछि ड्युटीमा रहेका प्रहरी उनीमाथि जाइलागेका थिए ।

“हामी उपसचिव ! हामी अधिकृत ! किन हामीलाई चेकजाँच गर्ने ? जहिले पनि यही विषयमा अलिअलि भनाभन हुने गरेको छ,” विमानस्थल स्रोतले कुराकानीमा भन्यो, “शुक्रबारको भनाभन अलि बढी भएछ, पहिला कर्मचारीले हात उठाए त्यसपछि प्रहरी कर्मचारीमाथि जाइलागे ।”

एक कर्मचारीका अनुसार त्यहाँ ड्युटीमा खटिएकाभन्दा बाहिरका प्रहरी पनि आएर कर्मचारीमाथि हातपात गरेका थिए । पछि अध्यागमन प्रमुख गोगन हमाल हानाहानको सीसीटीभी फुटेज हेर्न जाने क्रममा उनीमाथि पनि प्रहरीले लात्ती हानेको दाबी कर्मचारीको छ ।

“गोगन हमालसहित अन्य दुई जनालाई पनि प्रहरीले हातपात गरेको छ,” एक कर्मचारीले भने, “अधिकृत छायालाल मोक्तानलाई प्रहरीको टोलीले कुटपिट गरेको विषयमा सीसीटीभी फुटेज हेर्न जाँदा हमाललाई लात्ती हानिएको थियो ।”

विमानस्थलका एक कर्मचारीका अनुसार प्रहरीले ‘बडी सर्च’ गर्ने बेलामा भएको भनाभन हानाहानमा परिणत भएको हो । यसको भित्री कुरा भने भिजिट भिसामा जाने कामदारसँग जोडिएको छ ।

“अध्यागमनका कर्मचारीको सेटिङमा भिजिट भिसामा जाने कामदारलाई हामीले कडाइ गर्न थालेपछि पहिलेदेखि नै अलिअलि भनाभन भइरहेको थियो,” विमानस्थलमा कार्यरत एक प्रहरीले भने, “शुक्रबार भएको विवादको कारक पनि त्यही हो । होइन भने ड्युटीमा रहेका प्रहरीले चेकजाँच गर्नु सामान्य कुरा हो । जहिले पनि हामी अधिकृत किन चेक गर्ने ? भनेर हामीलाई प्रश्न गरिरहेका हुन्छन् ।”

पहिला अध्यागमनकै कर्मचारीले प्रहरीमाथि हातपात गरेको विमानस्थलका उच्च अधिकारी बताउँछन् ।

“अध्यागमनमा ‘बडी सर्च’ गर्न बेलामा भनाभन भएछ,” उनले भने, “त्यतिबेला नै पहिला अध्यगमनकै अफिसरले पुलिसमाथि हात हालेछन् । त्यसपछि अर्काे पुलिस आएर अध्यागमनको कर्मचारीमाथि कुटपिट गरे । त्यसपछि अध्यागमनका कर्मचारीले पुलिसको अफिसतिर गएर सीसीटीभी भएको स्थानमा प्रहरीमाथि हात हाले, त्यहाँ पुगेका गोगन हमालमाथि प्रहरीले लात्ती हानेको पाइएको छ ।”

विमानस्थलका डीआईजी अर्जुन चन्द आफू बिदामा रहेको बताउँदै उनले पनि विवादको कारण भिजिट भिसा नै भएको बताए । “म बिदामा थिएँ, त्यहाँ भनाभन भएछ, प्रहरीको काम चेक गर्ने हो । भिजिट भिसाको कारणले कर्मचारी रिसाएका छन्,” उनले भने । बाह्रखरी

२०८० माघ १२, शुक्रबार प्रकाशित 0 Minutes 199 Views

ताजा समाचार