
१० माघ, धनगढी । घरको छतबाट हाम फालेका धनगढीका व्यवसायी सन्तोष अग्रवालको परिवारमा अंशवण्डासम्बन्धी विवाद रहेको पाइएको छ ।
धनगढी उपमहानगरपालिका-४ को बसपार्कमा आफ्नै घरको तल्लो तलामा सन्दीप स्टोर सञ्चालन गरेर श्रृङ्गार सामानको होलसेल व्यवसायी अग्रवालको बुधबार नवजीवन अस्पतालमा मृत्यु भएको थियो ।

छोरासँग अंशबण्डाको विषयमा विवाद भएपछि घरको पाचौं तलाबाट हामफालेका अग्रवालको उपचारका क्रममा मृत्यु भएको थियो । प्रहरीका अनुसार काठमाडौं बस्दै आएका जेठा छोरा बुधबार बिहान घर आएका थिए । कान्छा छोरा भने सन्तोषसँगै धनगढीमा बस्थे ।
प्रहरी स्रोतका अनुसार अग्रवाल बिहान आफ्नै पसल सन्दीप स्टोरमा काम गरिरहेका थिए । त्यहीँ पुगेर जेठा छोराले अंशबण्डाको विषयमा कुरा उठाएपछि विवाद भएको थियो । त्यसपछि सन्तोषले छोरालाई ‘तिम्रो आमालाई बोलाएर ल्याउँछु पख’ भन्दै पसलबाट माथि गएका थिए ।