झापा । नेपालका छ प्रतिशतभन्दा धेरै घरहरू बसोबासविहीन अवस्थामा पाइनुलाई विज्ञहरूले पर्वतीय भेग रित्तिँदै गइरहेको र त्यहाँको आर्थिक भविष्य संकटमा रहेको चेतावनीका रूपमा औंल्याएका छन् ।
जनगणना २०७८ को एक पूरक प्रतिवेदनको विवरणमा नेपालको ७५.५ लाखभन्दा धेरै घरहरूमध्ये चार लाख ७२ हजारभन्दा धेरै खाली पाइएका थिए । रिक्त घरहरू मुख्यतः हिमाली र पहाडी क्षेत्रका ग्रामीण भेगमा रहेको राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता बताउँछन् । कार्यालयका उप-प्रमुख तथ्यांक अधिकारीसमेत रहेका हेमराज रेग्मीले भने, ‘यी बसोबास योग्य भइकन पनि मानिसहरू नबसिरहेका घरहरू हुन् । यो निकै उल्लेख्य संख्या हो ।’
योजनाविद् प्राध्यापक पीताम्बर शर्माले पहाडी भेगको सम्पदा र जमिनको प्रयोग कम हुन थालेको बताउँदै त्यहाँको आर्थिक भविष्य ठूलो संकटमा रहेको टिप्पणी गरे । ‘एकातर्फ जनसंख्या शिक्षित हुँदै जाँदा मानिसहरूका चाहना बढ्दै गयो भने अर्कोतर्फ देशमा रोजगारीको उपलब्धता कम हुँदै गयो । पहाडमा भएका रोजगारीका उपाय र स्रोत साधनको सदुपयोग तथा परिचालन नहुँदा मानिसहरू गाउँमा बस्ने अवस्था रहेन,’ राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष समेत रहेका प्राध्यापक शर्मा भन्छन् ।
२०५८ सालको जनगणनामा एउटा मात्र जिल्लामा जनसंख्या घटेकोमा २०६८ सालमा २७ जिल्लामा पुगेको र २०७८ सालमा त्यो ३४ जिल्लामा पुगेको छ । जनगणनाका बेला गणकहरू घर-घर पुग्दा त्यहाँ मानिस र बस्तुभाउ नभएका घरलाई रिक्त घर मानिएको राष्ट्रिय तथ्यांक कार्यालयका अधिकारीहरू बताउँछन् । मानिसहरूको बसोबास हुने ५४ लाख १६ हजार घरहरूमध्ये पाँच लाखजति खाली पाइएका हुन् ।
त्रिभुवन विश्वविद्यालयको जनसंख्या अध्ययन केन्द्रीय विभागका प्रमुख प्राध्यापक योगेन्द्रबहादुर गुरुङले पहाडी तथा हिमाली भेगमा मौसमी अवस्थाका कारण कतै कतै एकभन्दा धेरै घरसमेत हुने भए पनि लाखौंको संख्यामा घरहरू रित्तो हुनु सुखद् नभएको बताउँछन् । उनले कतै कतै गोठ, मचान, खोल्माजस्ता पूर्वाधारलाई समेत घरको रूपमा हेरिएको हुनसक्ने ठान्छन् ।
तर, प्राध्यापक गुरुङ घरैपिच्छे सक्रिय उमेर समूहका मानिसहरू विदेशमा हुँदा त्यहाँ घर कुरेर बस्ने मानिसहरू पनि नरहने अवस्था आएको बताउँछन् । ‘सहरतिर गएर अस्थायी बसोबास गर्नेहरू बढेका छन् । कहिलेकाहीँ आएर रेखदेख गर्ने र स्थायी रूपमै छाड्नेहरू समेत केही छन्,’ प्राध्यापक गुरुङ भन्छन् । तथ्यांक अधिकारीहरूले आन्तरिक र अन्तर्राष्ट्रिय बसाइँसराइ नै त्यसको कारण ठाने तापनि त्यसबारे छुट्टै समीक्षा गर्न बाँकी रहेको बताउँछन् ।
योजनाविद् पीताम्बर शर्माको बुझाइमा बसाइँसराइको पक्षबाट हेर्दा गाउँबाट सहर र पहाडबाट तराईतर्फ भएको मानिसहरू सरेका हुनसक्ने भए पनि त्योभन्दा महत्वपूणर् पक्ष विदेशमा रहेका देखिएका नेपालीको संख्या रहेको छ । ‘गाउँका मानिसहरू विदेश जाँदा त्यहाँ श्रम शक्तिको अभाव छ । परिवार संख्या समेत घट्दो छ । किनकी नेपालमा प्रजनन् दर समेत निकै घटेको छ,’ उनी भन्छन् ।
योजनाविद् पीताम्बर शर्माले रोजगारी र आयको व्यवस्था पहाडतर्फ गर्न नसकेमा पहाड रित्तिने क्रम बढ्ने चेतावनी दिन्छन् । ‘त्यो निश्चित भइसकेको छ । किनकी २० वर्षदेखि हामीले त्यस्तो प्रवृत्ति देखिरहेका छौँ,’ शर्मा भन्छन् ।
पहाडको आर्थिक विकास र खेतीपातीको अवस्था संकटमा छ । उदाहरणका लागि सन् २०२१ मा तनहुँ, स्याङ्जा र पर्वतमा भएको विशेष अध्ययनले झण्डै ४० प्रतिशत घरपरिवारको जग्गा बाँझो छ, ६० प्रतिशत घरपरिवार परिवारको एउटा न अर्को टुक्रा जग्गा बाँझो छ । उनले बढ्दो क्रममा रहेको यस अवस्थाले विकराल अवस्थाको चित्रण गरिरहेको बताए ।