२०८१ फाल्गुन ३ शनिबार

नेपाल-भारत डिजिटल भुक्तानीले झनै सजिलो

झापा । नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रहिआएको छ । अझ दुई देशबीचको आवात-जावत सहज तरिकाले भइरहन्छ । त्यसमा पनि अब त डिजिटल भुक्तानी सेवाले झन् सजिलो बनाइदिएको छ ।

अर्थात, नेपाल र भारतबीच क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्न दुई पक्षीय सम्झौता आउँदो फागुन (फेब्रअरी) बाट लागू हुँदैछ । अब यो सम्झौता लागू भएपछि नेपाली नागरिकले भारतीय बजारमा र भारतीय नागरिकले नेपालमा वालेट र मोबाइल बैंकिङको माध्यमबाट क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्नसक्ने भएका छन् । अहिलेसम्म मास्टर र भिसामार्फत जारी भएका कार्डबाट क्रस बोर्डर अर्थात् अन्तरदेशीय भुक्तानी गर्ने गरिन्थ्यो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा नेपाल क्लियरिङ हाउस र एनपीसीआई क्रसबोर्डर भुक्तानी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । यस सम्झौतापछि नेपाली नागरिकले भारतीय बजारमा र भारतीय नागरिकले नेपालमा वालेट र मोबाइल बैंकिङको माध्यमबाट क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्ने छन् ।

नेपाल राष्ट्र बैंकको समेत लगानीमा स्थापना भएर विद्युतीय भुक्तानी प्रणाली विकास गरेको नेपाल क्लियरिङ हाउस र रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) को समेत लगानीमा भारतमा विद्युतीय भुक्तानी प्रणालीको सिस्टम विकास गरेको नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डियाको प्रणाली इन्ट्रिग्रेसन मार्फत नेपाल-भारत क्रस बोर्डर विद्युतीय भुक्तानीको सुरु गर्ने सम्झौता भएको थियो ।

भारतमा भुक्तानी प्रणाली सञ्चालन गरिरहेको दुई कम्पनीहरुको ‘सिस्टम कनेक्ट’ गर्ने सम्झौतामा नेपाल क्लियरिङ हाउस र भारतको नेसनल पेमेन्ट कर्पोरेसन अफ इण्डियाबीच सम्झौता भएको हो । यस सम्झौता लागू भएसँगै नेपाल र भारतका विद्यार्थी, पर्यटक र तिर्थयात्रा गर्नेहरुलाई सहज हुने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बताउँदै आएका छन् ।

नेपालमा क्लियरिङ हाउसले सञ्चालन गरेको रिटेल पेमेन्ट स्वीचमा आबद्ध बैंक तथा वित्तीय संस्थाहरुको डिजिटल भुक्तानी सुविधा लिन सकिन्छ । नेपाल क्लियरिङ हाउस र नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डीया (एनपीसीआई) को सिस्टम यूपीआई इन्ट्रिग्रेसनपछि दुई देशबीच यस्तो कारोबार सुरु हुँदैछ । नेपालले डिजिटल कारोबारका लागि भारतले विकास गरेको एकीकृत भुक्तानी प्रणाली (यूपीआई) २०७८ मा नै स्वीकार गरेको थियो ।

नेपाल र भारतबीच पनि यस्तो डिजिटल भुक्तानी प्रणाली हँुदा कारोबारमा धेरै सहज हुन्छ । एउटा देशका नागरिकहरू अर्को देशमा जाँदा इजी पेमेन्ट हुन्छ । भारतीय नागरिक नेपाल घुम्न आउँदा उनीहरूले त्यहाँकै मोबाइल बैंकिङ तथा भुक्तानी उपकरण बोकेर आए भने नेपालमा क्यूआर, एटीएम कार्डबाटै रकम तिर्न सक्छन् ।

यसले दुवै देशका नागरिकलाई भुक्तानीमा सहज बनाइदिन्छ । भारतमा रु-पेई कार्ड चल्छ । नेपालमा पनि भारतीय नागरिक नै धेरै पर्यटक भित्रिन्छन् । यसलाई तथ्यांकले पनि पुष्टि गर्छ । गतवर्षको तथ्यांक अनुसार हवाई मार्गबाट मात्रै संसारभरबाट ६ लाख १४ हजार हाराहारीमा पर्यटक भित्रिएका थिए । यसमध्ये २ लाख हाराहारीका पर्यटक भारतीय थिए । यो हवाइबाट मात्रै आएको तथ्यांक हो ।

तर, खुला सिमाना भएकाले सडकमार्गबाट आउनेको संख्या झन् बढी हुन्छ । उनीहरूलाई सय भारुभन्दा ठूला नोट पनि नल्याउन भन्ने र डिजिटल भुक्तानी प्रणाली पनि प्रयोग नहुँदा धेरै असजिलो परिरहेको थियो ।

नेपालीहरू पनि भारत जाँदा भुक्तानी गर्न नगदै लैजानुपर्ने बाध्यतालाई अन्त्य गरिदिने भएको छ । यसर्थ अहिलेको आधुनिक भुक्तानी प्रणालीको माध्यमबाट दुवै देशका नागरिकले सेवा तथा वस्तु उपभोग गर्दा तिर्न यसले झन् सहज गराउँछ ।

२०८० माघ ४, बिहीबार प्रकाशित 1 Minute 579 Views

ताजा समाचार