१ माघ, धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र उपमेयर अइन्द्रबिक्रम बेघाबीच बढेको तिक्तता सामाजिक सञ्जाल हुँदै कार्यपालिका बैठकसम्म पुगेको छ ।
शनिबार बसेको कार्यपालिका बैठकभर साम्पाङ र बेघाबीच भनाभन चल्यो । गत १७ पुसमा मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा राखेको एक भिडियोलाई लिएर उपमेयर बेघाले कार्यपालिका जवाफ मागेका थिए ।
मेयरलाई असहयोग गरेको सन्देशसहितको त्यस भिडियोबारे जवाफ नदिएसम्म बैठक अगाडि बढ्न नदिने उपमेयर बेघाले अडान लिएका थिए । चुनाव सम्पन्न भएको १८ महिनासम्म साथ दिएको तर्क गरेका उपमेयर बेघालाई साम्पाङले चित्तबुझ्दो जवाफ दिएनन् ।
बरु असहयोग भएको तर्कमा अडिग रहँदै मेयर साम्पाङले दिउँसो २ बजे बस्नेगरी बैठक स्थगित गरे । दिउँसो बसेको बैठकमा पनि उपमेयर बेघाले जवाफ मागेका थिए ।
तर कार्यपालिका सदस्यहरुले बैठक चलाउनुपर्ने अडान लिएपछि मेयर साम्पाङ अघि बढे । उपमेयर बेघा बेलाबेला प्रश्न राख्दै बैठकमा बसिरहे । अहिले त्यही बैठकमा साम्पाङ र बेघाबीच चलेको भनाभन सामाजिक सञ्जालमा चलिरहेको छ ।
उपमहानगरका प्रवक्ता मनोजकुमार भट्टराई मेयर र उपमेयरबीच अहिले चलिरहेको भनाभन गएको १२ पुसबाट सुरु भएको बताउँछन् । ‘मेयरको कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाइयो, अहिलेको समस्या त्यहीँबाट सुरु भएको हो’ उनी भन्छन्, ‘अर्को कारण कार्यपालिका बैठकमा एजेण्डा तय गर्दा उपमेयरलाई पनि सोधिएनछ ।’
तर मतभेदको मूल कारण मेयर साम्पाङले आफ्नो कार्यकक्षबाट राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हटाएर यलम्बरको तस्वीर राख्नु नै हो । धरानलाई संघीय सरकारले साथ नदिएको भन्दै मेयर साम्पाङले गत १२ पुसमा आफ्नो कार्यकक्षबाट राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाएका थिए ।
मेयर साम्पाङको यस्तो निर्णयमा उपमेयर बेघाको चर्को असन्तुष्टि थियो । कतिसम्म भने भोलिपल्टै (१३ पुसमा) नगरपालिकाको लेटरप्याडमा उपमेयर बेघाले मेयर साम्पाङको निर्णयबाट दुखी बनेको भन्दै वक्तव्य जारी गरेका थिए ।
‘धरान उपमहानगरपालिकाका प्रमुखज्यूले आफ्नो कार्यकक्षबाट राष्ट्र प्रमुख सम्माननीय राष्ट्रपति र प्रधानमन्त्रीज्यूको फोटोहरु हटाएको विषयले दुखी बनाएको छ, जसबाट सम्माननीय माथि पर्न गएको असरप्रति दुख व्यक्त गर्दै क्षमा समेत माग्छु’, उपमेयर बेघाको वक्तव्य थियो ।
उपमेयर बेघाको यही वक्तव्य र त्यसमा आएको प्रतिक्रिया समेत पढेर बनाइएको भिडियो मेयर साम्पाङले १७ पुसमा फेसबुकमा शेयर गरेका थिए । त्यो भिडियोमा बेघालाई दलको सेवा गर्ने र मेयरलाई असहयोग गर्ने भनिएको छ ।
उपमेयर बेघाको मुख्य आपत्ति अहिले त्यही भिडियो मेयर साम्पाङले शेयर गरेकोप्रति छ । ‘मेयरको कार्यशैलीप्रति वडाध्यक्षहरुले बारम्बार प्रश्न उठाउँदै आयौं । तर उपमेयर सधैं हाँसेर बस्नुभयो । अहिले उहाँहरुकै मन मिलेन’, एक वडाध्यक्ष भन्छन् ।
मेयर साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर हटाउनु अघिसम्म पनि साम्पाङ र बेघा सँगसँगै थिए । मेयर साम्पाङको जनश्रम अभियानदेखि काठमाडौं यात्रामा समेत उपमेयर बेघाले साथ दिएका थिए ।
जसको विपक्षमा उपमेयर बेघा छन् । शनिबार (२९ पुस) कार्यपालिका बैठक कक्षको भित्तामा उपमेयर बेघाले राष्ट्रपति र प्रधानमन्त्रीको तस्वीर राखेका छन् । उनले राष्ट्रप्रमुख र प्रधानमन्त्रीको तस्वीर हटाएर राज्यलाई चुनौती दिन नहुने तर्क गर्दै आएका छन् ।
तर यो विषयमा मेयर साम्पाङले कुरै गर्न नचाहने मात्रै नभएर सामाजिक सञ्जालबाट यलम्बरको तस्वीर नहट्ने अडान लिने गरेपछि उपमेयर बेघाले बैठक अवरोधको प्रयास गरे । ‘मेयरले उपमेयरको फोन उठाउनु हुन्न, अनि बैठकमै कुरा राख्नु परेको हो’, बेघा निकट एक नेताले भने ।
यद्यपि वडाध्यक्ष र कार्यपालिका सदस्यहरुको साथ पाएकाले उपमेयरकै विरोधबीच मेयर साम्पाङले बैठक चलाए । २० वडा रहेको धरान उपमहानगरमा एमालेका १०, कांग्रेसका ७, माओवादीका एक, राप्रपाका एक र स्वतन्त्र एक वडाध्यक्ष छन् । अनलाइन खबरबाट